सहिद पुत्रको कविता “बा”, जस्ले पेरिसडाडामा सबैका आँँखा रसाए


“बा”
गाँउको सिरानीमा रहेको
हुलाक घरको रातो भित्तामा
रातै अक्षरले जुनदिन लेखियो
“नयाँ जनवादी क्रान्ति जिन्दाबाद”
इतिहासले आजादीको माग गर्दा
देशै भरी क्रान्तिको मशाल दन्किदा
नै सुरु भयको थियो रे मेरो गाँउमा
जनयुद्धको बहस, जनमुक्तिको बहस

त्यहि वर्ष हो कमरेड
भित्तामा राता अक्षर लेख्ने मध्यका एक
मुरा “बा” को शरीर रित्तियको
मेरी आमाको सिन्दुर,
हजरआमाको काख रित्तियको
मेरो सपना र भविस्य रित्तीएको ।

म सानो छदा
घरपारीको कान्लाबाट साथीले “बा” भनी बोलाउदा
काला पहाड बाट मिठाई बोकेर
भर्खरै गाँउ झरेका उसका “बा” ले हजुर भनेका थिए ।
मिठाई बोकेर मेरा फर्कीने आशामा
मैले धेरै चोटी बोलाय “बा” भनेर
धेरै पटक हेरे, जंगलको बाटो
अहं मेरा बा कहिल्यै फर्कीएनन् ।

तर आज मेरा “बा”का
सहयोद्धाहरु फर्कियका छन् ।
कुनै वेला रातो झोलामा
कम्युनिष्ट घोषणापत्र बोकेर आउने
मेरा बा का सहयोद्धाहरु
आज रातो नम्बर प्लेटको बहानमा
धुलो उडाँउदै आएका छन ।
सडक छेवैमा उभिएको म
बा का सहयोद्धाले उडाएको धुलो लाई
टप्प टिप्छु
नियालेर हेर्छु नजिकबाट
धुलोमा मिसीएका राता कणहरु
मेरो बा का रगतका थोपाहरु त हैनन् ?

रातो अक्षर, रातो किताब
रातो झण्डा, बोकै कारण
रगत बगाएका मेरा “बा” का
राता सपना खोज्न रातै झोला बोकेर ,
निष्कीएको छु घरबाट म

तर बाटोमा
शरीरभरी गोली र घाउ
बेशाहारा बनेका आमा र वाउ
बिदेशमा जनयोद्धाको प्रातडना
शहिद र बेपत्ता योद्धाका
छोरा छोरीको बिचल्ली
अस्पतालमा घाईतेहरुको रोदन
देख्नु नपरे हुन्थो नी है
बलिदानका अनगीन्ती गाथाहरु
उत्पिडन र यातनाका नटुङ्घीने कथाहरु
संगै
बिर्सु भनेर पनि बिर्सीन नसकिने
केवल सम्झनामा मात्र नाचि रहने मेरा बा
कहिल्यै बोल्दैनन
तस्बिरमा मात्र मुस्कुराई रहन्छन ।
र पनि वलिदानको मुल्य
उनको नाम संग शहिद, राज्यले नलेखे सम्म
म बोलाई रहने छु , नबोल्ने मेरा “बा” लाई
“बा”……. ए “बा” !!

लेखक : अटल आचार्य अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष हुन ।