भवन मर्मत नहुँदा अनुदानको चामल राख्न समस्या



बारेकाेट । कार्यालय भवन मर्मत नहुँदा नेपाल खाद्य संस्थान डिपो कार्यालय, नायकबाडा घाटमा चामल राख्न समस्या भएको छ । भवन जीर्ण भएर बर्षाको समयमा छाना चुहिने भएपछि सरकारी अनुदानको चामल जोगाउन मुस्किल भएको हो । साविकको नायकबाडा गाविसको अनुदानमा २०६७ सालमा निर्माण भएको भवन जीर्ण भई पानी चुहिएर समस्या हुने गरेको खाद्य डिपोका ईन्चार्ज जयकिशुन प्रसाद चौधरीले बताए ।

छाना चुहिएर गोदाममा पानी पर्न थालेपछि चामल जोगाउनलाई त्रीपालको जोहो गर्नुपर्ने बाध्यता भएको डिपो ईन्चार्ज चौधरीको भनाइ छ । पानी चुहिने छाना भएको भवनमा राखिएको चामल छिट्टै सड्ने र खानायोग्य नहुने भन्दै डिपोको भवन मर्मत तथा पुर्न्निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको बारेकोटबासीको गुनासो छ ।

छाना मर्मतको लागि बारेकोट गाउँपालिकाले गतबर्ष २ लाख बजेट बिनियोजन गरेको रकम कार्यन्वयन नभएरै फ्रिज भएको थियो भने चालु आर्थिक बर्षमा उक्त खाद्य डिपोको छाना मर्मतका लागि नेपाल खाद्य संस्थानबाट १ लाख ५० हजारको अख्तियारी प्राप्त भएको नेपाल खाद्य संस्थान जाजरकोट शाखा कार्यालयले जनाएको छ । तर, छाना मर्मतको काम गर्नको लागि जिल्लाबाट प्राविधिक स्टीमेट बनाएर प्रधान कार्यालयबाट स्वीकृत भएपछि मात्र काम सुरुवात गर्नुपर्ने शाखा कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले बताए । आर्थिक बर्षको अन्तिम चौमासिक तथा बर्षादको समय नजिकै आईपुगेको भएता पनि छाना मर्मतको काम सुरुवात हुन सकिरहेको छैन् ।