पार्वतीको मोही


– क्षितिज समर्पण


“भोलिदेखि हाम्रो घरमा मोही माग्न नआउनू, बुझिस् ?”

पार्वतीले यसो भनेको दिनभरि मेरो शरीरमा घाम लागेन । आफूले गल्ती गरेकोमा खुब पछुतो लाग्यो ।

गल्ती !?

हुन त मेरो के गल्ती थियो र ? निहुँ उसैले खोजेकी हो । झगडा हुनुलाई ठूलै बीउ पनि कहाँ चाहिँदो रहेछ र ?

मैले पछाडिपट्टि दुइटा प्वाल परेको हाफपाइन्ट लगाएर स्कुल जानुमा मेरो के गल्ती थियो र ? फाटेको हाफपाइन्टबाट मेरो गरिबी देखिनुमा मेरो के दोष थियो र ? मेरो परिवार गरिब हुनुमा हाम्रो के दोष थियो र ?

बिल गेट्सले भनेका छन् नि, “तिमी गरिब भएर जन्मिनु तिम्रो गल्ती होइन तर तिमी गरिब भएर म¥यौ भनेचाहिँ तिम्रो गल्ती हुन्छ ।”

त्यस दिन प्रार्थना समयमा म पार्वतीको अघिपट्टि थिएँ । ऊ नै मेरो पछाडि आएकी रै’छ, कतिखेर । म त पहिल्यै लाइनमा लागिसकेको थिएँ ।

श्रीमान गम्भीर नेपाली…

राष्ट्रगान चलिरहेका बेला उसले मेरो हाफपाइन्टबाट देखिएको गरिबीमाथि डट्पेनले घोचेर हमला गरिदिई । पछाडि फर्केर हेरेको खुब मज्जाले मुसुमुसु हाँसिरहेकी थिई ।

“अहिले त हाँस् । पख् तँलाई मैले जानेको छु कठेनी,” उठेको रिसलाई थाम्दै मनमनै यत्ति भनेर अगाडि फर्किएँ । पार्वती बेला–बेला यस्ता बिठ्याइँ गरिरहन्थी । ऊ बाहुनकी छोरी, त्यसैले म उसलाई गाली गर्दा ‘कठेनी’ भन्थें ।

म प्रायः अघिल्लो बेन्चमा बस्थें । र, त्यस दिन पनि अघिल्लो बेन्चमै बसें । पार्वतीहरू प्रायः पछाडि नै बस्थे ।

दिउँसो १ बजेको घण्टी लाग्नेबित्तिकै खुर्र दौडेर ढोका बाहिरपट्टि बसें । पार्वती बाहिर निस्किनेबित्तिकै मैले एक मुक्का बजाइदिएँ उसको टाउकोमा । मुक्का उसको कपाल बाँध्ने सेतो क्लिपमाथि प¥यो । मेरो मुक्काले उसको क्लिप दुई टुक्रा भयो । कम्ती गाली गरेकी होइन उसले त्यो बेला । उसले रुँदै अरु के–के गाली गरी, त्यसको कुनै परवाह भएन । तर, जब उसले ‘भोलिदेखि हाम्रो घरमा मोही माग्न नआउनू’ भनी, तब मन खिन्न भयो । हातखुट्टा गलेको जस्तो भयो । बाको कुटाइ सम्झिएँ । मैले स्कुलमा कसैसित झगडा गरेको थाहा पाए भने बाले बेस्सरी पिट्नुहुन्थ्यो । झन् त्यस दिनको झगडाले त भोलिपल्टदेखि हाम्रो घरमा मोही बन्द हुँदै थियो ।

उसको घरमा दुई–तीनवटा भैंसी खाली हुन्थेनन्— लैनो, बर्केना । र, उसको घरमा हरेक दिन मोही बन्थ्यो । बन्थ्यो र त हामीले हरेक दिन मोही खान पाउँथ्यौं । हामीलाई मोहीको बानी परिसकेको थियो । घरमा भैंसी नपालेर पनि मोही खान पाइरहेका थियौं ।

एकपटक बल खेल्ने बेला गाउँले काकासँग स्कुलमा सानो झगडा के भएको थियो, बाले थाहा पाइहाल्नुभएछ । बेलुका घरमा यति कुटाइ खाएँ कि त्यसको कुनै हिसाब छैन । कतिपटक हाफपाइन्टमै तुर्किएको थियो, होसै छैन । सोचें— मैले उसलाई आज हिर्काउनु हुन्थेन ।

उसलाई सम्झाउने कोसिस गरें, “नरो न पार्वती । तँलाई म यस्तै अर्काे क्लिप ल्याइदिउँला । भोलि बा बजार जान्या हुन् ।”

कहाँ मान्थी र विचरी ! झन् हिक्किहिक्की रुन थाली । त्यसपछि किन हो कुन्नि— मलाई उसको छेउमा बस्नै मन लागेन । आँखाका चेपहरू रसाएझैं अनुभूति भयो । मन भक्कानिएलाझैं भयो । दौडेर कक्षाकोठामा गएँ । बाले हाट जाँदा ल्याइदिएको प्लास्टिकको सुर्के झोलामा घोप्टो परेर रोइदिएँ एकछिन ।

० ० ०

हाम्रो घरमा मोही हुँदैनथ्यो । मोही हुनलाई भैंसी पनि त हुनुप¥यो । र, भैंसी किन्नलाई हाम्रो हैसियत पनि त हुनुप¥यो ! गरिब भएपछि कसको के लाग्दो रै’छ र ? मन भएरमात्र नहुने । गरिबीको घट्टले पिसिदिन्थ्यो हाम्रा हर चाहना र रहरहरू । तर, घट्टमा घुन नपिसिएझैं कहिल्यै पनि हाम्रो अभाव पिसेन यो गरिबीको घट्टले । तर, घुमिरह्यो हाम्रो टाउकोमाथि सधैं ।

पार्वतीको परिवार त ठूला मान्छेको परिवार । गाउँभरिका मान्छेले मान्ने परिवार । शायद पार्वतीको घरको ऋण नखाने गाउँमा कोही थिएन क्यारे ! अनि, उसका बा गाउँका प्रधानपञ्च कि वडाध्यक्ष थिए त्यो बेला । उसका घरमा दुइटा लैना र तीन्टा बर्केना भैंसी थिए । दही बेचेर बचेको तरको दैनिक मोही पार्थे । छिमेकी हुनुको फाइदा, त्यो मोहीको पहिलो भागिदार हामी नै हुन्थ्यौं ।

उनीहरू मोही खाँदैनथे । दूध, दही खान्थे । मोही त यसै पनि खेर जान्थ्यो । धन्न हामीले त्यसको सदुपयोग गरेका थियौं । तर, त्यही मोही खाँदाखाँदै हामी यस्ता भएछौं कि मोहीबिना हाम्रो छाक नै खल्लो बन्थ्यो । मलाई याद छ, कुनै दिन घरमा पाहुना परे भने त्यो मोही पुग्दैनथ्यो । अनि, बेलुका मोही राखेको भाँडो पखालेर पनि खाइन्थ्यो ।

कतिखेर पार्वती आएर छेउमै बसेकी रै’छ, पत्तै भएन ।

“ओइ रामे, तो किन रुन्छइ हँ ? तो मइन हान्छइ अझ आफै रुन्छई ? केटा मान्छे भइगिन पुनि रुन्छन् ? तेरो किलिप् भाँचियाको हो र ?”

पार्वतीले यसो भनेपछि रुझेको बिरालोजस्तै बनेर मैले भनें, “तो साँच्चै रिसायाकी होइ माइली ?”

ऊ घरकी माइली छोरी थिई, त्यसैले सबै उसलाई पार्वतीभन्दा पनि माइली नै भनेर बोलाउँथे ।

“छैन, किन रिसाउनू ! तोइसित रिसाइगिन क्या हुन्या हो र ?” उसले भनी, “मइन अर्काे किलिप ल्याइदिएनै भन्या साँच्चै रिसाउनिउ ।”

अब परेन फसाद ! अब मैले उसलाई कसरी क्लिप किनिदिने ? अघि फकाउन बालाई बजारबाट ल्याउन लगाउँछु भनिहालें । घरमा बैनी छैन । कसको लागि भनेर बालाई क्लिप किन्न लगाऊँ ? पार्वतीसित झगडा भएको थाहा पाए भने उल्टै मलाई नै हपार्छन् । पिट्छन् । फेरि हाफपाइन्ट धुनुपर्ने स्थिति आउँछ ।

अब के भनूँ पार्वतीलाई ! क्लिप नल्याइदिएपछि रिसाउँछु भन्छे । ल्याइदिऊँ त कसरी ल्याइदिऊँ ? मनमा कुरा खेलिरहे । सोचें— क्लिप किनेर ल्याउनुभन्दा बरु पैसा नै दिन्छु । ऊ आफैंले किन्छे ।

“म तोइन भोलि रुप्या ल्याइदिउँला, आफै किन्लेई होइ माईली ?” अलि–अलि उसको अनुहारसमेत नहेरेर भनें । उसले ‘हुन्छ’ भनी । ५ रुपैयाँ पथ्र्याे क्यारे त्यो क्लिपलाई । ३ रुपैयाँमा एउटा डट्पेन आउँथ्यो त्यो बेला । ५ रुपैयाँ मेरा लागि सानो बजेट थिएन । घरबाट कसरी ५ रुपैयाँ ल्याउने भन्नेतर्फ सोच्न थालें । अनि पार्वतीलाई भनें, “भोलि ब्यान मोही लिन आऊँ कि नाइ माइली ?”

“आउन त आइज,” उसले पनी, “तर, किलिप् किन्ने रुप्या पुनि ल्याइगिन आउनू ।”

लागिरह्यो— म भोलि पैसा लिएर पार्वतीको क्लिप किन्न होइन, उनीहरूको मलखादमा खेर जाने मोही किन्न जानेछु !

० ० ०

हामी स्कुल जाने बाटोमा बरपीपलका एक जोडी थिए । छेउमा सानो चौतारीजस्तो थियो– ढुंगाको । त्यो चौतारीमा बस्ने विषयमा हाम्रो होडबाजी नै चल्थ्यो । पार्वतीको र मेरो । उसका साथीको । मेरा साथीको ।

६ कक्षा पढ्ने बेलाको कुरा हो क्यारे ! हामीले ५ कक्षासम्म पढेको प्राथामिक विद्यालय छोडेर अर्काे विद्यालय जान थालिसकेका थियौं । तर, हाम्रो केटाकेटीपन र बिठ्याइँ भने उस्तै थियो । पार्वतीको साथले म पनि बिठ्याइँ गर्ने भइसकेको थिएँ । स्कुल दशैं बिदा हुने तरखरमा थियो । एकदिन स्कुल जाँदै गर्दा बाटोमा काउसो फलेको फेला पारें । प्लास्टिकको सहायताले काउसोका दुई केस्रा टिपेर ल्याएँ । प्लास्टिकमै गुटुमुटु पारेर राखें ।

त्यसदिन पार्वतीहरूभन्दा अलि अघि गएँ । त्यही ढुंगाको चौतारीमा लगेर काउसो झारिदिएँ । अनि, चौतारी पुग्नुभन्दा केही मिटर वरै आएर बसें, जहाँनेरबाट हामी चौतारीमा पुग्न होडबाजी शुरु गथ्र्याैं ।
उनीहरू आए । फेरि शुरु भो हाम्रो होडबाजी ।

तर, त्यसदिन मैले हतार गरिनँ किनकि मैले बिठ्याइँ गरेको थिएँ । उनीहरूको पछिपछि दौडेजस्तो गरें । मनमनै हाँसो पनि लागिरहेको थियो । धन्नै खुस्किएको । बडो कोसिसले रोकें । शुरुमा पार्वती बसी थचक्क । मेरो हाँसो खुस्किहाल्यो । पार्वतीले दुवै हातले शरीरको पछाडि बस्ने ठाउँमा बेस्सरी कन्याउन थाली । म भने मरी–मरी हाँस्न थालें । पार्वतीले मतिर आँखा तरी । म भागें ।

“पख् संगुर, तँलाई जान्याइछु,” उसले रिसले घुरेर मतिर हेरी । पार्वती मलाई रिसाएर बोलाउँदा, गाली गर्दा संगुर भन्थी ।

“तेरो हात त भाँचिजाओस् । कीरा परून्,” उसले मलाई सराप्न थाली ।

स्कुलबाट फर्किने बेला त्यही ठाउँमा पुग्दा मेरो हाँसो खुस्किहाल्यो । पार्वतीले उसरी नै आँखा तरी । फर्किंदा पार्वती र ममात्रै थियौं । काउसो राखेको ठाउँभन्दा केही तल पुगेपछि सोधें, “ओइ माइली, ब्यान कौछाले चिल्या बेला तँलाई कस्तो भयाउथ्यो हँ ?”

उसले आफ्नो फ्रक फरक्कै फर्काई र भनी, “ई… यस्तो भएको थियो, देखिस् ?

० ००

गाउँमा मिल थिएन । पल्लो गाउँमा रहेको मिलमा तोरी पेल्न जान प्रायः हामीलाई पठाउँदैनथे बा–आमाले । तर, हामी बिस्तारै ठूलो हुँदै थियौं । किशोरावस्थामा प्रवेश गर्दै थियौं, गरेका थियौं । अनि, हामी पनि बेलाबेला मिल, घट्ट र घाँस दाउरा गर्ने कामको लायक भइसकेका थियौं । र, बिदा तथा फुर्सदको समयमा सघाउनुपथ्र्याे हाम्रा बा–आमालाई ।

एकदिन । शायद शनिबार थियो क्यारे ! पार्वती र म मिल गयौं, आमाहरूले तयार पारेको दुई–दुई पाथीको तोरीको भारी बोकेर । हामीसँग छिमेकीको नाता छँदै थियो । पार्वती र म एउटै कक्षाका सहयात्री पनि थियौंं । निकै मिल्थ्यौं पनि । ऊ पढ्नमा मभन्दा तगडा थिई । ऊ कक्षाको पहिलो विद्यार्थी, म दोस्रो । कक्षाका अरू साथीहरू हाम्रो मित्रता देखेर डाह गर्थे । हुन पनि डाह गर्न लायक नै थियो हाम्रो ।

हामी जति झगडा गरे पनि स्कुल जाँदा–आउँदा कहिल्यै छुट्टाछुट्टै आएनौं । सँधै सँगै ।

“त्यो रामे क्या पढ्दो हो,” साथीहरू कुरा काट्थे, “पार्वतीको संगतले दोस्रो हुन्छ ।”

मिलले हाम्रो तोरीलाई निचोरेर तेल निकाल्दै थियो । यो तोरीबाट तेल निकाल्ने काम पनि कम झन्झटको हुन्न । जोखिम पनि उत्तिकै । अलिकति होस् पुगेन भने हात च्वाट्ट काटिदिन्थ्यो मिलको चक्काले । तोरी निचोरिएकै छ । तेल निस्किएकै छ । मिलका मालिक पानी कम आएको भन्दै पानीको मुहानतिर गए ।

मलाई फेरि बिठ्याइँ गर्न मन लाग्यो । पार्वती कामको धुनमै थिई । म उसको छेउमा गएँ । अनि, तेल लपेटिएको हातले पार्वतीको छातीमा उम्रिँदै गरेका दुइटा फूललाई च्याप्प समाइदिएँ ।

“ऐया ! ओइ संगुर, के गरेको ?” पार्वती बेस्सरी चिच्याई । बुरुक्क उफ्रिई ।

म भने फेरि हाँस्न थालें मरीमरी । पछि हेरेको त भर्खर फुल्दै गरेका पार्वतीका फूलबाहिर तेलैतेल भएको रै’छ । स्कुल ड्रेसवाला आकाशे रंगको सर्ट लगाएकी थिई । बाहिरैपट्टि दाग स्पष्ट देखिन थाल्यो ।

यता मिलले तोरी निचोरेर तेल निकालिरहेको थियो । मेरो निचोराइले पार्वतीको छातीको तोरीबाट तेल निस्कियो या निस्किएन थाहा छैन । तर, मेरो तेल लागेका हातले नमेटिने गरी दाग भने लगाइदियो उसको छातीमाथि ।

पार्वती जुरुक्क उठी । मलाई एक लात्ता हिर्काई । दुई मुक्काले पिठ्यूँमा हिर्काई । मेरो कपाल तानिदिई । मैले सब सहिदिएँ । मलाई सहनुमै रमाइलो लागिरहेको थियो किनकि गल्ती मैले नै गरेको थिएँ । विचरी पार्वती सुँकसुँक गरेर रुन थाली । मलाई कुनै दिन पार्वतीले सोधेको प्रश्न उसलाई सोध्न मन लाग्यो, “ओइ पार्वती, किन रुन्छेइ हँ ? तो मइन हान्छेइ, उल्टो आफैं रुन्छेइ ?”

मिलको काम सकियो । हामी फर्कियौं । पार्वती रुनुको रहस्य बल्ल थाहा पाएँ । उसको सलले तोरीको भारी बोकेर ल्याएकी थिई । त्योबाहेक ओढ्ने कुनै कपडा थिएन ऊसँग । अब कसरी छोप्छे उसले आफ्नो छातीको दाग ? अनि, कसैले के भएको हो भनेर सोधे भने के जवाफ देली विचरीले ?

“ओइ रामे, मान्छेले सोध्या भन्या म क्या भनूँ, भन्तो ?” निकैबेरको मौनतापछि ऊ बोली ।

अब मौन हुने पालो मेरो थियो किनकि मसँग यसको कुनै जवाफ थिएन । र, जवाफ दिन लायकै पनि कहाँ थिएँ र म ! म मौन रहें तर चुप रहन सकिनँ । मनभरि मौन कोलाहाल मच्चिइरह्यो । सोचें— पार्वती फेरि रिसाई ।

“यस्तो काम त ब्या गरेपछि मात्र गर्चन् रे,” निकैबेरको मौन हिँडाइपछि पार्वती बोली, “घरमा थाहा पाया भन्या क्या भन्न्या हुन् ? म क्या भनूँला भन्तो ?”

“तो मईसित ब्या गर्छेइ त माइली ?” उसको प्रश्नमा अनायासै मैले यस्तो प्रश्न पो थपें ।

“तो संगुरसित ब्या गरी क्या गन्र्या हो र ?” अलिअलि लजाएझैं, अलिअलि रिसाएझैं उसको जवाफ आयो ।

“अघि ग¥याजस्तो गन्र्या नि,” म जिस्किएँ फेरि ।

“तो संगुरसित ब्या गर्नुभन्दा त बरु कुकुरसित ब्या गर्छु बुझिस् ?”

“कुकुरसित ब्या गरेर छाउरा ब्याउने होइ र माइली ?” म जिस्की नै रहें, “एउटा राम्रो डांगो (भाले बच्चा) मइन राखिद्याई होइ ।”

“डाँगो किन, छाउरी राखिदिउँला नि तो संगुरलाई,” पार्वती पनि जिस्किन थाली, “ठूलो भयापछि ब्या गरी बसलाई ।”

० ० ०

एक बिहान । स्कुल जाने बेला पार्वती निकै मौन रही । अरु दिन जिस्किने, केही न केही बिठ्याइँ गर्ने पार्वती मौन थिई । निन्याउरी थिई । र, देखिन्थी लडाइँ हारेको सिपाहीजस्तो । मैले बोलाउने र जिस्किने हजार कोसिस गरे पनि ऊ मौनै रही । थाहा छैन किन उसले यो मौनताको हतियार प्रयोग गर्दै थिई । मौन रहनुको अर्थ नबोल्नुमात्र होइन । ऊ मौन थिई तर उसका आँखा र अनुहार बोलिरहेका थिए । लाग्थ्यो— उसलाई निकै चोट परेको छ । अथवा ऊ केही भन्न खोजिरहेकी छ ।

ऊ पहिलो पटक महिनावारी हुँदा पनि यस्तै मौन र निन्याउरी भएकी थिई । तर, त्यस दिन उसले मलाई स्कुल नपुग्दै बाटोमा एक्लै बोलाएर सुटुक्क भनेकी थिई यसबारे । अनि मैले जिस्काएको थिएँ, “अब तेरो पनि ब्या गर्ने बेला भइगछ माइली ।”

तर, त्यो दिन उसले स्कुल जाँदा त के, फर्केर बीच बाटोमा आइपुग्दासम्म पनि केही भनिन । म उसको प्रतीक्षामा थिएँ— कतिबेला मलाई एक्लै बोलाउँछे र आफ्नो मनको कुरा भन्छे भनेर । पार्वती आफूमा आइपरेका सानाभन्दा पनि साना कुराहरू मलाई नभनी बस्नै सक्दिनथी । यस्तो लाग्थ्यो— उसको दुःखको पहिलो सहयात्री शायद म नै हुँ ।

“साँझ हाम्रो घर आउनू है,” छुट्टिने बेला पार्वतीले भनी, “आज आइनस् भन्या म तोइसित कहिल्यै बोल्न्या छुइँन ।”

उसको घरमा केही काम पर्‍यो— जस्तोः मकै छोडाउनु पर्‍यो, खेतमा पराल सुकाउनु पर्‍यो या यस्तै यस्तै काम आइपर्‍यो भने ऊ मलाई बोलाउन घरमै आउँथी । म भन्थें, “कद्दु (फर्सी) उस्याउने भया मात्रै आउँछु, नभया आउँदिन ।”

तर, त्यो दिन उसको अनुहारको अघि मैले यस्ता कुरा गर्नै सकिनँ ।

“हामी बसाइ सरेर बर्दिया जान्या भयौं जेठा,” साँझ म उसको कोठामा जानेबित्तिकै मलाई गर्लम्म अँगालो मारेर रुँदै उसले भनी, “अब तोइसितको साथ छुट्टिने भयो ।”

पहाडमा दुःख भयो भन्दै पार्वतीका बाले बर्दिया सर्ने निर्णय गरेका रै’छन् । घरमूलीले निर्णय गरेपछि अरूले नाइनास्ती गर्ने कुरा भएन । झन् त्यो बेला स्वास्नी मान्छेले बोल्नै मिल्थेन यस्ता विषयमा ।

पार्वतीले मलाई पहिलोपटक ‘जेठो’ भनेर सम्बोधन गर्दै थिई । निकै आत्मीय लाग्यो । निकै प्रिय लाग्यो । म घरको जेठो छोरा भएकाले आमाले पनि बोलाउँदा ‘जेठा’ भन्नुहुन्थ्यो ।

“बाले अब सप्पै परिवार उतै जान्या हो भन्छन्,” उसले भनी ।

“उसो भया त मइन बिर्सिन्छेइ होला है माइली ?” कसो–कसो म पनि रोइनँ ।

“तोलाई बिर्सेर म क्यारी बाँचूँला भन्तो ?”

थाहा छैन, त्यो बेला उसले मलाई के ठानी । मबिना बाँच्दिनँ भनी । त्यो माया गर्ने उमेर थियो या थिएन, थाहा छैन । हामी माया–प्रेम बुझ्ने अवस्थामा थियौं या थिएनौं, त्यो पनि थाहा छैन । तर, आज आएर यस्तो लाग्छ— उसले मलाई माया गरेकी रहिछ । जति जिस्किए पनि, जति गाली गरे पनि । र, मैले जति बिठ्याइँ गरे पनि ऊ मलाई मनले माया गर्दिरहिछ । त्यही भएर रहेछ उसले मेरा हरेक गल्तीहरू सहेको ।

मलाई अँगालो मारेर ऊ सुँकसुँक गर्दै रोइरहेकी थिई । म के भनौं के नभनौंको दोधारमा थिएँ । उसको आँखाबाट झरेका आँसु कुमको छेउ हुँदै मेरो ढाडको बाटो ओरालो लागे ।

“राम्रोसित पढ्नू । मइन नबिर्सनू,” पार्वतीले भनी, “म बर्दिया पुग्याँ भन्या तोइन चिठी पठाउँला ।”

मैले पनि रुन्चे स्वरमा भने, “हुन्छ । तेरो चिठी पायापछि म पुनि पठाउँला ।”

यस्तो लाग्दैथ्यो— ऊ मलाई छोडेर उत्तिखेरै बर्दिया जाँदै छे । अनि, परदेश जाँदै गरेको पतिले जस्तो आफ्नो पत्नीलाई सम्झाएझैं सम्झाउँदै थिई मलाई । मानौं म उसको पत्नी हुँ, ऊ परदेश जाँदै छ र मैले सारा घर सम्हालेर बस्नु छ उसको प्रतीक्षामा ।

“उम्म्म्म्मा !”

निकैबेरको अंकमाल र रुवाइपछि उसले मेरो गालामा गहिरो चुम्बन गरी । मन कस्तो–कस्तो भयो । आफू पनि त्यस्तै गरौं कि भन्ने लाग्यो तर मनमा आँट आएन । बरु भित्रै कताबाट लाज लागेझैं भयो । जीवनमा पहिलोपटक बा–आमापछि तेस्रो व्यक्तिको चुम्बन र अंकमाल पाएको थिएँ ।

“अब यही म्वाइँ सम्झेर बस्नू है जेठा,” आँखाको डिलबाट खस्दै गरेका आँसु पुछ्दै पार्वतीले भनी, “न अब हाम्रो भैंसीको मोही पाउँछस्, न त मेरो म्वाइँ ।”

मन कटक्क भयो । उसको घरमा एकछिन पनि बस्न मन लागेन । मलाई पनि रोऊँ–रोऊँझैं लाग्यो तर आँसु रोकें । आफूलाई दह्रो बनाउने कोसिस गरें । र, निस्किएँ उसको घरबाट ।

० ० ०

बिहान पार्वतीका बा हाम्रो घरमा देखिए । मेरा बासित आँगनमा बसेर के–के कुरा गरे, मैले भित्र केही बुझिनँ । गनगन गरेको मात्रै सुनें । एकछिनपछि उनका बाँकी सबै वस्तुभाउ हाम्रो गोठमा ल्याएर बाँधिदिए । धेरैजसो त बेचिसकेका थिए । पछि पार्वतीहरू पनि गुन्टा बोकेर हाम्रै आँगनमा देखिए । उनीहरू बर्दियाँ जाँदै थिए । पार्वतीका पनि आँखा रोई–रोई थाकेका झैं देखिन्थे । शायद, अघिल्लो रातभरि ऊ सुतिनछ क्यारे !

पार्वतीकी आमाले सालको हरियो टपरी मेरी आमाको हातमा दिनुभो । आमा भित्र पस्नुभो । केहीबेरमै परेलाका डिलमा आँसु टिलपिल–टिलपिल पार्दै थालीमा टीका ल्याउनुभो र पार्वतीका सबै परिवारलाई एक–एक गरी लगाइदिनुभो ।

“ल राम्रोसँग जानू । जहाँ भया पनि सुख्खले बस्नू । जिउमा घाउ खटिरा पनि नआऊन् । माटो छोया अन्न र ढुंगो छोया धन होओइ । हामीन नबिर्सिनू,” यति भन्दै गर्दा आमाको गला रोकियो । मानौं उहाँको गलामा हाम्रो घरको ढोकामा भित्रपट्टि लगाउने आग्लोजत्रो काठ अड्किएको छ ।

सबैजना सुँकसुँक रुन थाले । कोही पनि केही बोल्न सकेनन्् । कुनै चलचिलको वियोगान्त दृश्यभन्दा कम थिएन यो दृश्य ।

“बेला बेला यता आउँदै गर्नू,” निकैबेरको मौनतापछि यति भनेर आमा मजेत्रोले आँखा पुछ्दै भित्र पस्नुभो । शायद असल छिमेकी टाढिँदाको चरम पीडाको रापमा जल्दै हुनुहुन्थ्यो होला ।

पार्वतीकी आमा पनि सुँकसुँक गर्दै बाटो लाग्नुभो । पछिपछि पार्वतीहरू लागे । केही पर पुगेपछि पार्वती पछाडि फर्किई । मैले हात हल्लाएँ तर उसले हल्लाइन । मन त हुँदो हो नि तर के गर्नू— उसको पछि बा थिए ।

पार्वतीहरू पर डाँडाको बरको रुखसम्म जाउन्जेल हेरिरहें । केहीबेरमा वरको रुखले छेलिदियो उनीहरूलाई । मेरो आँखाबाट पनि छेलियो एउटा परिवार । धमिलो—धमिलो हुँदै पार्वती पनि क्षितिजमा कतै हराई ।

० ० ०

तर, उसको चिठी अलिहेसम्म पनि आएको छैन ।

“माइली, म तेरो चिठीको पर्खाइमा छु !”

kshitizsamarpan@gmail.com