पहिलो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुदुमा सुरु


जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले प्रथम नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । यस अघि जिल्ला स्तरमा हुने उक्त प्रतियोगिता अव स्थानीय तह स्तरमा गर्ने परिपत्र अनुरुप भेरी नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको छ । पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्नुपर्ने व्यवस्था अनुसार भेरी नगरपालिका जिल्लामै नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने पहिलो स्थानीय तह बनेको छ ।

वडा नम्बर १३ को कुदुमा स्थित भगवती मा.विको खेल मैदानमा विहिवारबाट शुरु भएको रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्रभित्रका विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगितामा २ संस्थागत र १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न १२ विधामा प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलले खेल क्षेत्रले खेलाडीको मात्र नभइ समग्र क्षेत्रको पचिान गराउने भएकोले यसको विकासका लागि सबै लाग्नु पर्ने बताए । रनिङ शिल्ड जस्ता कार्यक्रमहरुले विद्यार्थीहरुसंग भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्न सहयोग पुग्नै भन्दै यस्ता कार्यक्रहरुलाइ निरन्तरता दिनु पर्ने प्रमुख रावलको भनाइ थियो ।

त्यस्तै नगर प्रमुख चन्द्रप्रकाश घर्तीले समग्र खेल क्षेत्रको विकासका लागि कुनै कमी हुन नदिने बताए । उद्घाटन समारोह स्थगन गर्दै नगर प्रमुख घर्तीले नगरपालिकालाई खेलमैत्री नगर बनाउन लागि आवश्यक निति कार्यक्रम तयार गरि अगाडी बढ्ने बताए । खेलकुदले हरेक नागरिक स्वस्थ रहने र यसले राष्ट्रिय पहिचान पनि निर्माण गर्ने भएकोले खेल क्षेत्रको विकासमा आफु गम्भिर भएको नगर प्रमुख घर्तीको भनाइ छ ।

विहिबार देखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता ३२ गते शनिबार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

यसैविच उद्घाटन पछि भएको पहिलो खेलमा त्रिभुवन माविको अग्रता लिएको छ । पहिलो दिन भएको करातेका विभिन्न समुहका खेलहरुमा त्रिभुवन मावि खलंगाले ६ स्वर्ण जित्दै अग्रता कायम गरेको हो । छात्रा ४० केजीमुनि त्रिभुवन माविकी अमिसा सिह सोनीले स्वर्ण जितेकी छन् । फाइनलमा उनले नोवेलिस्टकी महिमा विकलाई पराजित गरिन ।

छात्र ४२ केजीमुनि त्रिभुवन माविका अर्जुन विकले स्वर्ण जितेका छन् । फाइनलमा उनले कस्तुरी बोर्डिङका विकाश विकलाई पराजित गरे। त्यसैगरी छात्रा ४५ केजीमुनि त्रिभुवन माविकी कामना शाहले स्वर्ण जितिन भने छात्रा कै ५० केजीमा त्रिभुवन माविकी कर्मिना शाहले स्वर्ण जितिन् । तेस्तै छात्र ५२ केजीमुनि त्रिभुवन माविका प्रकाश घर्ती मगरले स्वर्ण जिते ।