मोबाइल टावर निर्माण अलपत्र


सुर्खेत र जाजरकोट । भारतीय कम्पनी एस्टर इन्डियाको लापरबाहीले कर्णालीमा एक वर्षअघि नै निर्माण भइसक्नुपर्ने नेपाल टेलिकमका मोबाइल टावर अलपत्र अवस्थामा छन् । यसले प्रदेशका ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच जटिल बनेको छ ।

एस्टर इन्डिया प्रालिले २०७४ असोज २७ गते नेपाल टेलिकमसँग साविक मध्यपश्चिमका विभिन्न जिल्लामा ५४ वटा मोबाइल टावर निर्माण गर्ने सम्झौता गरेको थियो । तीमध्ये ४६ टावर कर्णाली प्रदेशमा पर्छन् । एस्टरले ६ महिना (२०७४ चैत अन्त्य) भित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि हालसम्म अलपत्र पारिएको टेलिकमका इन्जिनियर कृष्ण पोख्रेलले बताए । ‘एक–दुई महिना ढिलो हुनु त स्वाभाविकै हो,’ उनले भने, ‘तर एक वर्षसम्म पनि काम नगरेर बस्दा सेवा प्रवाहमा समस्या भएको छ ।’
टेलिकमले पहिलो चरणमा ५४ वटा र दोस्रो चरणमा थप ४९ वटा टावर निर्माण गर्ने योजना अघि बढाएको थियो । दोस्रो चरणको कामको जिम्मा चालाचार प्याराडाइज जेभीले पाएको छ । यीमध्ये चालाचार भारतीय र प्याराडाइज नेपाली कम्पनी हो । जेभीले २०७५ भदौ २५ गते ६ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । ‘यो कम्पनीले पनि म्याद गुजारिसकेको छ,’ इन्जिनियर पोख्रेलले भने, ‘एस्टरले जस्तो लापरबाही भने भएको छैन ।’

एस्टरले हालसम्म ६ वटा टावर मात्रै निर्माण गरेको छ । उसले समयमै काम नहुनुलाई भौगोलिक विकटतालाई बहाना बनाएको छ । कम्पनीका प्रतिनिधि महेश पुजारीले अहिले टावर निर्माणका लागि सामग्री ढुवानी गर्ने काम भइरहेको बताए । ‘कतिपय टावर त चीनको सीमासम्मै पुगेर निर्माण गर्नुपर्नेछ, भौगोलिक जटिलता उत्तिकै छ,’ उनले भने, ‘तैपनि हामीले प्रयास गरिरहेका छौं ।’
मोबाइल टावर निर्माण नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् । नेपाल टेलिकमको सुर्खेत कार्यालयका अनुसार कर्णाली प्रदेशमा २०७५ चैतसम्म टेलिकमका ५ लाख ९२ हजार प्रयोगकर्ता छन् । यो कुल जनसंख्याको करिब ३६ प्रतिशत हो ।

हुम्लाका मात्र डेढ दर्जन गाउँ टेलिफोन सेवाबाट वञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकामा टेलिफोन पुगेकै छैन । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा एउटा टेलिफोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । त्यस्तै छार्का गाउँका बासिन्दा फोन गर्न दुई दिन हिँडेर शेरी गाउँ पुग्छन् ।

सञ्चारको पहुँच सुलभ बनाउनकै लागि टेलिकमले कर्णालीका दुर्गम बस्तीलाई लक्षित गरी टावर राख्ने योजना बनाएको थियो । तर, टेलिफोनको पहुँच नहुँदा स्थानीयलाई फोन गर्नकै लागि नेटवर्क टिप्ने बजार क्षेत्र वा अग्लो डाँडामा जानुपर्ने बाध्यता छ । टेलिफोन सुविधा नहुँदा स्थानीय तहको केन्द्रबाट प्रवाह हुने सरकारी सेवा पनि प्रभावित हुने गरेको छ ।

जाजरकोट, कुशे गाउँपालिकाका भुमबहादुर रोकायाले नयाँ टावर निर्माण र पुरानो टावर मर्मत नहुँदा ६ महिनादेखि सञ्चार विच्छेद भएको बताए । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका स्थानीयलाई टेलिफोनमा कुराकानी गर्न २ घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘टावर नहुँदा अहिलेको सञ्चारको युगमा पनि हामी दुःख झेल्न बाध्य छौं,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले हद नाघेको छ, सरकारले पनि यस्ता कम्पनीलाई कारबाही गर्न सकेको छैन ।’

जाजरकोटको रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका छन् । कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रेको ६ महिना बिते पनि पुनर्निर्माण भएको छैन । त्यस्तै एक वर्षअघि बारेकोट गाउँपालिकाको रतनकोट लेकको टावरका सोलार ब्याट्रीलगायत उपकरण मर्मत नहुँदा स्थानीय फोन सम्पर्क विहिन छन् ।

कम्पनीले टावर निर्माणका लागि आवश्यक सामान ढुवानी भइरहेका बताए पनि कार्यस्थलमा ती सामग्री अलपत्र छन् । जाजरकोटको खलंगा, खारा, गडी, रतनकोट, लेकचौर, रातापटान लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माण सामग्री अलपत्र अवस्था छन् ।

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले मोबाइल टावर निर्माणका लागि सम्बन्धित पक्षलाई ताकेता गरे पनि सुनुवाइ नभएको बताए । ‘टावर नबन्दा जनताले फोन गर्न पाएका छैनन्, नेपाल टेलिकम पनि रमिते बनेर बसेको छ,’ उनले भने । कान्तिपुरमा समाचार छ ।