मदन भण्डारीको शालिक ढलले पुरिँदा पनि पार्टी कार्यालय बनाउन किन सकिएन शीर्ष नेता ज्यूहरु ?



काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु जहाँ नेकपा एमालेको चिर परिचित बल्खु दरवार ( पार्टीको केन्द्रीय कार्यालय भवन) थियो । पहिला सात रोपनी नौ आना जमिन थियो ।

तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टीलाई दिएको कलंकीको दुई रोपनी जमीन विक्रि गरी पार्टी कार्यालयसँगै सटेको एक रोपनी सात आना जमीन पार्टीका नाममा खरीद गरेकोसमेत गरी हाल बल्खुमा नौ रोपनी एक आना जमीन पार्टीका नाममा छ ।

सोही स्थानमा रहेको पार्टी केन्द्रीय कार्यालय भवन २०७२ साल वैशाख १२ को भूकम्पले नराम्ररी हल्लायो । जिर्ण भएर प्रयोग गर्न नहुने भयो । मक्कीएको भवन र भग्नावशेष हटाईयो ।

हाल जमीन मात्र वाँकी छ । रेखदेखको अभावले बल्खु खोलाबाट बाढी पसेर मदन भण्डारीको शालिकसम्म बगर र हिलाम्य बनाएको छ । (फोटोमा हेर्न सकिन्छ)

भूकम्पपछि अस्थायि प्रयोजनका भनेर पासाङल्हामू प्रतिष्ठानको धूम्बाराहीमा रहेको भवनमा मासिक दुई लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी कार्यालय सारियो ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनपछि वसेको केन्द्रीय कमिटी वैठकले भूकम्प आउनु पूर्वनै बल्खुमा रहेको केन्द्रीय कार्यालय साँघुरो भएको हुनाले ब्यवस्थित र नयाँ भवन बनाउन पार्टीका माहासचिवको नेतृत्वमा टीम, कोष र नयाँ भवनको नक्सा समेत तयार गरी सार्वजनिक गरिएको थियो ।

वर्षौं बिते, बागमती मात्र होईन बल्खु खोलामै धेरै पानी बगिसक्यो तर पार्टी कार्यालय भवन बनेन । पार्टी निरन्तर सरकारमा छ पार्टीको आफ्नो कार्यालय भवन बनाउने छलफल समेत पार्टीमा हुन छोड्यो । पार्टी कार्यालय भवन बनाउन मिल्ले लगभग रकम धूम्बाराहीको घरभाडा, मर्मत र डेकोरेसनमै सकियो होला ।

नेकपा एमाले नै यस्तो पार्टी थियो जस्ले नेपालका अन्य राजनीतिक दलहरु भन्दा पहिला केन्द्रीय कार्यालय भवन बनाई सकेको थियो र देशका करिव ७२ वटा जिल्लामा आफ्नो जिल्ला कमिटीका भवनहरु बनाई सकेको थियो ।

पार्टी एकतापछि वनेको भीमकाय नेकपा, दुई तिहाईको सरकार संचालन गरिरहेको पार्टीले आफ्नो केन्द्रीय कार्यालय भवन बनाउने कुरामा ध्यान नदिनु गम्भीर कुरा हो ।

पार्टीमा एजेण्डा बनोस् र का म न पा १४ बल्खुमा रहेको नौ रोपनी एक आना जमीनमा पार्टीलाई चाहिँदो र पुग्दो अत्याधुनिक भवन बनाउन सकिन्छ शीर्ष नेताहरुको ध्यान जाओस् ।
आचार्य नेकपाका केन्द्रीय सदस्य हुन्