तेह्रौँ साग : नेपाललाई १९ स्वर्ण पदक


काठमाडौं । आयोजक राष्ट्र नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार १५ वटा स्वर्ण पदक जित्यो। १५ स्वर्ण, तीन रजत र ६ कास्य जितेको नेपालले मंगलबार पनि सफलतासहित सुरुवात गरेको छ।

मंगलबार भएका स्पर्धामा नेपालले उसुतर्फ दुई स्वर्ण जितेको छ। त्यसैगरि दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण पदक जिते। मंगलबार नै कराँतेतर्फ नेपालका नवीन रसाइलीले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जित्न सफल भएका छन्। नेपालले हालसम्म कराँतेतर्फ आठवटा, तेक्‍वान्दोमा सातवटा, उसुमा दुईवटा, दुवाथोल र ट्रायथोलनतर्फ एक-एकवटा स्वर्ण पदक जित्न सफल भएको हो।

कराँतेमा आठवटा स्वर्ण 

नेपाललाई सागमा पहिलो स्वर्ण पदक कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले सोमबार जिताए।  मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई कराँतेतर्फ १३औं सागको पहिलो स्वर्णपदक जिताए। यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते। नेपालका लागि मन्डेकाजीले व्यक्तिगत स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्। उनले करातेको एकल कातातर्फ पहिलो तथा पुरुष टिम कातामा महसुस तामाङ र प्रविण महर्जनसँगै अर्को स्वर्ण पदक जितेका हुन्।

कराँतेतर्फ नेपालले सातवटा स्वर्ण पदक जितेको छ। कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो।  फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्णपदक चुमेको हो। नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो।

नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो। नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।  नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्।

लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए।

विप्लवलाललाई स्वर्ण

कराँतमै विप्लवलाल श्रेष्ठले स्वर्ण पदक  कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।  सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।  स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए। विप्लवलालसँगको भिडन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन्।

विप्लवलालसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई पराजित गरेका थिए। योसँगै नेपालले कराँतेबाट पाँचवटा स्वर्ण पदक जितेको छ।  दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ नेपाललाई अनु अधिकारीले सातौँ स्वर्ण पदक जिताइन्। नेपालका लागि अनुले कराँतेतर्फ सातौँ स्वर्ण पदक जिताउन सफल भएकी हुन्।

त्यसैगरि कराँतेकै ४५ केजीतर्फ नेपालकी कुसुम खड्काले छैटौँ स्वर्ण पदक जितेकी छन्। ४५ केजी महिला कराँतेमा कुसुमले बंगलादेशकी खेलाडी मौनजिरा बोर्नालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। कुसुमले फाइनल यात्रका क्रममा श्रीलंकाकी सेनाराथ अराच्चिगेलाई सेमिफाइनलमा पाखा लगाएकी थिइन्। अर्को सेमिफाइनलमा पाकिस्तानकी एन्वेर एकुरालाई हराउँदै  बंगलादेशकी मौनजिरा बोर्ना फाइनलमा पुगेकी थिइन्।

कराँतेतर्फ आठौं स्वर्ण

कराँतेको कुमुतेमा नेपालले मंगलबार भएको स्पर्धामा आठौं स्वर्ण पदक जितेको छ। ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।

साग खेलकुदको तेस्रो दिन मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८-६ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन्।

दिवसलाई रजत 

यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले सोमबार रजत पदक जितेका थिए।

उनी बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए।

तेक्‍वान्दोमा ७ स्वर्ण

नेपालले तेक्वान्दोतर्फ पनि पदक संख्या बढाउँदै लगेको छ। नेपालले अहिलेसम्म तेक्वान्दोबाट ७ वटा स्वर्ण पदक जितेको छ।  नेपालका लागि तेक्‍वान्दोतर्फ सिना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्।

सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्‍न सफल भएकी हुन्। यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्। त्यसैगरी कमल श्रेष्ठले तेक्‍वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट स्वर्ण पदक जितेका छन्।

तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्।

आयशालाई दुई स्वर्ण 

नेपालकी भेट्रान तेक्‍वान्दो खेलाडी आयशा शाक्यले दुईवटा स्वर्ण पकद जितेकी छन्। उनले पुम्से २९ वर्षमाथिको समूहमा पहिलो स्वर्ण पदक जितेकी छन्।

त्यसपछि आयशाले तेक्‍वान्दोको पुम्से जोडीतर्फबाट सञ्जीवकुमार ओझासँग मिलेर अर्को स्वर्ण जितिन्।  नेपालका लागि पार्वती गुरुङले तेक्‍वान्दोमा स्वर्ण पदक जितेकी छन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन्।

यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन्। यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्।

टिम इभेन्टमा पनि स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि छैटौं स्वर्ण पदक महिलाले टिम इभेन्टबाट जितेका हुन्।

नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट अर्को स्वर्ण पदक थपेका हुन्। नेपालका लागि २३ वर्षमाथिको उमेर समूहमा पनि स्वर्ण पदक हात लाग्यो। यो समूहमा निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राईले सातौँ स्वर्ण पदक जितेका हुन्।

उसुमा दुई स्वर्ण

दोस्रो दिनकै खेलका क्रममा नेपालले उसुतर्फबाट दुई स्वर्ण थपेको छ। लगनखेलस्थित आर्मी कबर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जितेका हुन्।

पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे। विजयले ९.४८ अंक जोड्दै स्वर्ण जितेका हुन्। महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्। सुस्मिताले ९.४४ अंक जोडिन्।

ट्रायथोलनबाट सोनीलाई स्वर्ण

साग अन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोलीले स्वर्ण जितेकी हुन्।

यो स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीको पोल्टामा गयो।

दुवाथालनमा हिमाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दोस्रो दिनको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन्।

पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन्। पोखरामा भएको प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते। श्रीलंकाका आशीष परेराले कास्य जिते।