कर्णाली सरकारले बुलबुलेबाट भ्रमण वर्षको शुभारम्भ गर्ने


सुर्खेत। कर्णाली प्रदेश सरकारले पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने तयारी गरेको छ। प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले आगामी १ जनवरीका दिन बुलबुले ताल परिसरबाट विशेष समारोहका साथ भ्रमण वर्ष २०२० लाई स्वागत गर्ने निर्णय गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेमा तालका साथै रमणीय उद्यानसमेत छ। ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले क्षेत्र सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पछ।

बुलबुले प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य पर्यटकीय गन्तव्य भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भ्रमण वर्ष शुभारम्भको कार्ययोजना बनाइएको हो।

प्रदेशको पर्यटन विकास गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष १ वैशाख २०७५ कर्णाली सरकारले मुगुको राराताल परिसरबाट ‘कर्णाली रारा पर्यटन वर्ष’ को शुरूआत गरेको थियो । अंग्रेजी नयाँ वर्ष २०२० लाई संघीय सरकारले ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने निर्णय गरेकाले प्रदेशस्तरमा यसको तयारी तीव्र पारिएको छ। प्रदेशका जिल्ला–जिल्लामा विशेष समारोहका साथ भ्रमण वर्षलाई स्वागत गर्ने तयारी भइरहेको छ।

प्रदेशका मुख्यमन्त्री संरक्षक रहने गरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा ३१ सदस्यीय पर्यटन प्रवर्द्धन समिति क्रियाशील छ। प्रदेश पर्यटन मन्त्रालयको सहजीकरणमा यही समितिले भ्रमण वर्ष शुभारम्भको तयारी गरिरहेको छ।

 उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बुलबुलेमा पुगेर १ जनवरीलाई भव्यरूपले मनाउने तयारी गरिरहेको जानकारी दिए। उनले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री तथा प्रदेश राजधानीमा अवस्थित उच्च अधिकारीलाई बुलबुलेमा आमन्त्रण गरिने बताए।

“कर्णालीका १० वटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ, १ जनवरीमा काठमाडौंमा प्रदर्शनका लागि यहाँबाट एउटा राम्रो सांस्कृतिक प्रस्तुति पनि पठाउनेछौं,” उनले भने। बुलबुलेमा सञ्चालित भ्रमण वर्षको शुभारम्भ समारोहमा ९ महीना लगाएर तयार पारिएको ‘प्रदेश पर्यटन गुरुयोजना’, कर्णाली सरकारले भ्रमण वर्ष २०२० प्रयोजनका लागि निर्माण गरिएको प्रदेशको लोगो र नारालाई सार्वजनिक गर्ने कार्यक्रम छ। रासस