रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन


जाजरकाेट । जाजरकोटकै कला संस्कृतिमा रमाउनु पर्ने कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश माननीय कृष्ण शाहको बताउनु भएकाे छ। रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन कार्यक्रममा माननीय शाहले यस्तो बताएकी हुन् ।

कला, साँस्कृति, धर्म, भाषा र संस्कारले जाजरकोट जिल्ला भरिपुर्ण रहेको बताउदै प्रदेश माननीय शाहले जिल्लाकै संस्कार र संस्कृतिमा रमाउन जिल्लाबासीलाई अनुरोध गरिन् ।

प्रकृति र संस्कृतिले भरिपुर्ण जाजरकोट जिल्ला नलगाड, छेडागाड, भेरी नदी जस्ता महत्वपूर्ण जलाधार, विश्वकै दुर्लभ बन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिवुटी, बहुमुल्य रत्नपत्थर, फलाम, गार्नेट, तामा, सुन, नुन खानी जस्ता बहुमुल्य खनिजहरुले बैभव जाजरकोट जिल्ला स्वर्गको टुक्रा भएको माननीय शाहले बताईन् ।

रमाइलो मेलामा प्रदर्शन गरिने खेल तथा मनोरन्जनलाई मर्यादिन र सभ्य बनाउन जिल्लाबासीलाई आग्रह गर्दै माननीय शाहले जिल्लाको संस्कृति र प्रकृतिको बैभवतामा रमाउन सबैलाइ अपिल पनि गरिन ।

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा २०३६ साल देखि लाग्दै आएको रमाईलो मेला सतिसालका रुपमा स्थापित मेला भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताए । परिवर्तित समय र अबस्था अनुसार रमाईलो मेलालाई विकसित तथा परिमार्जित गर्नुपर्ने नगर प्रमुख घर्तीको भनाई रहेको थियो । झण्डै आधा महिना बिद्यालयको पठनपाठन बन्द गरेर मेला तथा महोत्सव लगाउदा जिल्ला अस्पतालमा उपचार गर्न आएका विरामीहरुलाई पनि ठुलो असर पर्ने गरेकोले यसबर्ष देखि रमाईलो मेलालाई फरक रुपमा प्रस्तुत गर्न खाजेको प्रमुख घर्तीले जानकारी दिए ।

जिल्लाको संस्कार र संकृतिमा रमाउने उदेश्यले लगाईएको रमाईलो मेलामा शान्ति सुरक्षाको अबस्थालाई उच्च प्राथमिकता दिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुरोध गरे । रमाईलो मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउने प्रजिअ पन्तको भनाई रहेको थियो ।

च्याम्बर अफ कमर्श, जाजरकोटको आयोजनामा लगाईएको रमाइलो मेला १६ गते सम्म लाग्ने बताईएको छ । कर्णाली प्रदेशमै हालसम्मकै ठुलो पुरस्कार राशी रहेको खुल्ला भलिबल प्रतियोगिताको आयोजाना गरिएको छ भने, जिल्लाका राष्ट्रिय ख्याती प्राप्त तथा आमन्त्रित कलाकरहरुको साँस्कृतिक प्रस्तुति समेत रहने आयाेजकले जानकारी दिएकाे छ ।