जाजरकोटमा सम्पन्न सांस्कृतिक महोत्सवको आय व्यय सार्वजनिक



जाजरकोट । जाजरकोटमा सम्पन्न सांस्कृतिक महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । गत पुष १२ गते देखि १६ गते सम्म जिल्ला सदरमुकाम खलंगामा सम्पन्न रमाईलो मेला तथा सांस्कृतिक महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको हो ।

महोत्सव आयोजक संस्था जाजरकोट चेम्बर अफ कमर्सले मंगलबार विहान पत्रकार सम्मेलन गरेर आय व्यय विवरण सार्वजनिक गरेको हो । महोत्सवमा कलाकार भत्ता, मञ्च तथा स्टल व्यवस्थापन खेलकुद कार्यक्रम तथा स्वयमसेवक परिचालन लगाएतका क्षेत्रमा १५ लाख ५४ हजार रुपैयाँ खर्च भएको आयोजक जाजरकोट चेम्बर अफ कमर्सका अध्यक्ष विश्व विक्रम शाहले जानकारी दिए । महोत्सव संचालनका लागि जम्मा १६ लाख २८ हजार ९ सय रुपैयाँ आय हुने अनुमान गरिएकोमा हाल सम्म भेरी नगरपालिकाले ४ लाख, स्टल व्यानरबाट १ लाख ३ हजार ९ सय, खेल समुह दर्ताबाट ९० हजार र झुलापिङ्गबाट ५० हजार गरि ६ लाख ४३ हजार ९ सय रुपैयाँ मात्र प्राप्त भएको अध्यक्ष शाहले बताए ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालय, प्रदेश पर्यटन मन्त्रालय, जिल्लाका अन्य स्थानीय तहहरु र विभिन्न संघसस्थाहरुले दिने भनेको ९ लाख ८५ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको अध्यक्ष शाहले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहले महोत्सव सफल पार्न आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिए । छोटो समयको तयारी, नयाँ स्थानको व्यवस्थापन र आर्थिक अभावका विच सबैको सहयोगले महोत्सव सम्पन्न भएको र वर्षौ सम्म खर्च विवरण सार्वजनिक नगर्ने विगतको परिपाटी अन्त्य गरिएको अध्यक्ष शाहको भनाई छ ।

“पौराणिक लोक संस्कति, पर्यटन, कृषि र खेल जगतको सम्मान, आत्मनिर्भर र समुन्नत जाजरकोटको निर्माण” भन्ने नाराका साथ सम्पन्न महोत्सवमा स्थानीय लोक झाँकी र कृषि प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहेका थिए । सदरमुकाम स्थित त्रिभुवन माविको प्रांगनमा लाग्ने रमाइलो मेला तथा महोत्सव यस वर्ष भने थाप्लेचौरको वसपार्कका लागि प्रस्तावित चौरमा लागेको थियो । विद्यार्थीहरुको पढाई प्रभावित हुने भएकोले नगर क्षेत्रभित्रका कुनैपनि विद्यालयहरुमा सभा, मेला महोत्सव तथा अन्य कार्यक्रम गर्न नदिने भेरी नगरपालिकाको निर्णय संगै रमाइलो मेला तथा सांस्कृतिक महोत्सवको स्थान परिवर्तन भएको हो ।