भेरी नगरकाे विधायन सभा : दुई ऐन, तीन नीति र चार कार्यविधि पारित


जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको विधायन सभाले दुई वटा ऐन, तिन वटा नीति र चार वटा कार्यविधि पास गरेको छ भने नौ वटा कानुन संशोधन गरेको छ । शनिवार सम्पन्न छैटौं नगर सभाले ऐन, निती र कार्यविधि पारित गरेको हो ।

दुई दिन सम्म चलेको नगरपालिकाको विधायन सभाले प्रस्तावित ऐन, नीति तथा कार्यविधिका मस्यौदाहरुमा दफावार छलफल गरि पास गरेको हो । भेरी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक–२०७६ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–२०७६ सभाबाट पारित भएका छन । नगर सभाबाट पारित भएका विधेयकहरु राजपत्रमा प्रकाशित भएपछि कानुनको रुपमा लागु हुनेछन् ।

त्यस्तै सुशासन नीति–२०७६, पशु तथा मत्स्यपालन नीति–२०७६ र भेरी नगरपालिकाको स्वास्थ्य नीति–२०७६ पनि नगरसभाले पारित गरेको छ । फोहर सरसफाई कार्यविधि–२०७६, एफ.एम. रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि–२०७६, विपन्न नागरिक सहयोग विशेष कोष स्थापना तथा संचालन व्यवस्थापन कार्यविधि –२०७६, एम्वुलेन्स संचालन कार्यविधि–२०७६ समेत सर्वसहमतिले पारित गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

न्यायिक समिति सम्बन्धि कार्यविधि ऐन–२०७५, स्थानीय स्वास्थ्य सरसफाई ऐन–२०७४, जल उपभोक्ता समितिको नविकरणका लागि जलस्रोत नियमावली–२०७५, उपभोक्ता समितिमा रहने व्यक्तिहरु भु.पु. कर्मचारी तथा पदाधिकारीका विषयमा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन निर्दे्शिका–२०७५, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यिवधि–२०७५, युवा उद्यम संचालन कार्यविधि–२०७५, भेरी नगरपालिकाको कृषि कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि–२०७५ र पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि निर्देशिका–२०७५ संसोधन गरेको छ ।

विधान सभाले तत्काल नगर प्रहरीको स्थापना गर्ने, सदरमुकामका घरहरुको अभिलेखिकरणका लागि यस अघि ३५ दिनको समय सिमा तोकिएकोमा त्यसको म्याद थप गर्ने लगाएतका सार्बजनिक महत्वका बिषयहरुमा महत्वपूर्ण निर्णय गरेको छ । त्यस्तै भेरी नगरपलिकाको निर्माणधिन भवन अगाडी रहेको जाजरकोटका ठकुरीहरुको कुलदेवताको मन्दिर सार्नका लागि उपयुक्त स्थानको खोजी गरि आवश्यक राय पेश गर्न एक समिति गठन गरेको छ । वडाध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा गठन गरिएको समितिको सदस्यमा वडाध्यक्ष लिलाबहादुर शाह र अर्का वडाध्यक्ष गोपाल बटाला सदस्य रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।