अव एक हजारको सामान किन्दा १३ रुपैयाँ आफ्नाे खातामा
काठमाडौँ । अब देखि उपभोक्ताले सामान किन्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशतका रकम आफैले फिर्ता पाउने भएका छन् । यस्तो रकम उपभोक्ताले मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो वस्तुको मूल्य विद्युतीय उपकरण(ई–पेमेन्ट) मार्फत भुक्तानी गर्दा पाउने भएको हो । यसरी फिर्ता भएको १० प्रतिशत रकम अबदेखि भूक्तानीकर्ताकै बैङ्क खातामा जम्मा हुने छ ।
मङ्गलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी आन्तरिक राजस्व विभागले यस्तो प्रणालीको थालनि गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले १० प्रतिशत भ्याट रिटन प्रणालीको उद्घाटन गरेका हुन् ।
भ्याट रिटन प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नागरिकलाई राजस्वमा जिम्मेवार बनाउन र भूक्तानीको प्रणाली व्यवस्थित गर्न नगद प्रोत्साहनस्वरुप भ्याट रिटन नीति ल्याइएको बताएका छन् । यस प्रणाली मार्फत उपभोक्तालाई ई–पेमेन्टमा प्रत्साहन हुने र राज्यको राजस्व संकलन समेत उत्सावपूर्ण हुनेमा विश्वस्थ रहेको मन्त्री खतिवडाले बताए ।
यस्तो प्रणालीमार्फत् खरिदकता तथा बिक्रेताहरुबाट एक पटकमा एक हजारदेखि एक लाख रुपैया सम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने छन् । यसरी विद्युतिय भूक्तानी गर्दा अनिवार्य विल बीजक लिने दिने गर्नुपर्ने राजस्व विभागले जनाएको छ ।
साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिइ अभिलेखको रुपमा राखिने व्यवस्था गरेको छ ।
कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिइ बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको हो ।
यो प्रणाली हाललाई आन्तरिक राजस्व कार्यालय टङ्गाल र नयाँ सडकबाट प्रारम्भ गरिएको विभागले जनाएको छ । पछि अन्य राजस्व कार्यालयहरुमा पनि क्रमशः विस्तार गरिने विभागको भनाइ छ ।