पार्टी एकता विरुद्ध अभिव्यक्ति दिने छुट कसैलाई छैन : जनार्दन शर्मा


चौरजहारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी एकता विरुद्ध अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन । लामो छलफल र कठिन प्रयास पछि दुई ठुला पार्टीहरु बिचको एकता सम्भव भएको भन्दै फेरी पार्टी फुटाउने र जनतालाई भ्रममा पार्ने कसैलाई पनि पार्टीभित्र कुनै स्थान नरहेको बताए ।

कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा बोल्दै पार्टीका प्रदेश इन्चार्ज समेत रहेका शर्माले पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको बताए । पूर्वगृहमन्त्री समेत रहेका शर्माले सरकार दलाल र माफियाको घेराबन्दीमा परेको भन्दै छिटो घेरा तोड्न सरकारलाई आग्रह गरे ।

सिंहदरबारमा चिच्याउदा पनि कर्णालीको आवाज कम सुनिने गरेको भन्दै उनले कर्णालीको आवाज बुलन्द गर्नका लागि मिडियाले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । कम्जोर क्षेत्रमा बढि लगानी गरेमात्र समान विकास हुने भन्दै राज्यले कर्णालीमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई विभेद गरेको जिकिर गरे ।