लकडाउनमा फसेका जाजरकोटका डेढ सय मजदुरको उद्धार गरौं : नेता आचार्य


जाजरकाेट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यले बन्दाबन्दी (लकडाउन) कारण अलपत्र परेका डेढ सय मजदुरहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।

जाजरकोटकाे भुर, पुन्मा, जगतिपुर र डाँडागाउँबाटबाट विभिन्‍न जिल्लामा मजदुरी गर्न गएका १ सय २६ जना मजदुरसंग सम्पर्क भएकाे उनकाे भनाइ छ ।  काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ, पर्सा लगाएतका जिल्लामा काम गर्न पुगेका मजदुरहरू लकडाउन कारण अलपत्र परेको आचार्यले बताए । लकडाउनले गर्दा यातायातका साधन नभएपछि जगतिपुरका कृष्ण आचार्यसहितको समूह नुवाकोटबाट पैदलै हिँडेर चितवन नारायणघाटतिर अघि बढेको उनले जानकारी दिए ।

“नारायणघाटबाट गाडी पाइन्छ भन्ने आशमा हिँड्नुभएको छ । बाटाेमा पसल नखुलेकाले भोकभोकै हुनुहुन्छ,” उनले भने ।जाजरकोटको डाडागाउँको अर्को २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा फसेको उनले बताए । काठमाडौं, ललितपुरको सीमामा पर्ने बालकुमारी पुलमा नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह अड्किएको आचार्यको भनाइ छ ।

भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतीपुर, पुन्मा लगायतका ४५ जनाको समूह उद्धारको प्रतीक्षामा रहेको उनले जानकारी दिए  । काभ्रेको मण्डन देउपुरमा भुरका गौरीबहादुर केसी लगायत २१ जनाको समूह अड्किएका छन् । सिन्धुपाल्चोकमा पुन्माको १५–२० जनाको समूह रहेको उनले बताए ।

तनहुँको भानु नगरपालिकामा नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह त्यस्तै आपतमा छन् । पर्साको वीरगञ्जमा जगतीपुर , भुरतिरको समूहले पनि उद्धार नपाएको अचार्यले गुनासो गरे ।

“सबै जनाका साझा समस्या छन्, खानालाई रासन छैन, घर जान गाडीको पास मिल्दैन त कतिपय सँग भाडासमेत छैन । जाजरकाेटका नेता आचार्यले आफ्नाे सम्पर्क हुन नसकेका अरूधेरै मजदुरहरू विभिन्न ठाउँमा समस्या झेलिरहेकाे हुनसक्ने भन्दै राज्यले उनिहरूकाे तुरूत्त उद्दार गर्नुपर्ने माग गरे।