भेरी नगरपालिकाद्धारा राहत सामाग्री वितरण कार्य सुरु



जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले लक डाउनको ४५ औ दिन देखि विपन्न परिवारहरुलाइ विभिन्न खाद्य सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा १५ दिनको प्याकेज वनाएर नगरपालिकाले शुक्रवार देखि वडा नम्वर १ , ५ र ६ का विपन्न तथा असंगठित क्षेत्रका श्रमिकहरुलाइ दाल, चामल, नुन, तेल लगाएतका सामाग्रीहरु वितरण सुरु गरेको हो ।

लक डाउनका कारण मजदुरी तथा ज्यालादारी काम गरेर आयआर्जन गर्न नपाइ समस्यामा परेका परिवारहरुका लागि नगरपालिकाले १५ दिनको लागि उमेर अनुसार खाद्य सामाग्रीको मात्रा तोक्दै राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण सुरु गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले शुक्रवार देखि समय तालिका वनाएर तोकिएको खाद्य सामाग्री वितरण सुरु गरिएको वताए ।

उनले १५ दिनको राहत प्याकेज अन्तरगत परिवारमा भएका सदस्यहरु मध्य २ वर्ष सम्मको वालक या वालिकाका लागि प्रति व्यक्ति २ केजी चामल, १२ वर्ष सम्मको व्यक्तिका लागि प्रति व्यक्ति ५ केजी चामल र १२ वर्ष माथिको लाइ प्रति व्यक्ति ८ केजी चामल तथा २ लिटर तेल, १ केजी नुन ५ केजी दाल, २ वटा सावुन उपलव्ध गराउन सुरु गरिएको वताए ।

उनका अनुसार शुक्रवार देखि वैशाखको अन्तिम सम्म वितरण गर्ने कार्यक्रम राखिएको खाद्य सामाग्री वितरण वाट वडा नम्वर ३, ४ , ८ र ११मा वाहेक १ हजार १ सय ६ जना विपन्न सर्वसाधारणहरु लाभान्वीत हुनेछन् । वडा नम्वर ३, ४ ८ र ११मा संकलन भएको नामावलीवारे थप अध्ययन गर्नुपर्ने भएकोले नगर उप–प्रमुख भावना भन्डारीको संयोजकत्वमा गठिन समितिले प्रतिवेदन पेस गरेपछि त्यहाँ कति जनाले राहत सामाग्री पाउने भनेर एकिन भएपछि मात्रै सो वडाहरुमा राहत वितरण गरिने अधिकृत घर्तीले वताए ।

घर्तीले दिएको जानकारी अनुसार १ देखि २ वर्ष सम्मका ५० जना, १२ वर्ष सम्मका २ सय– ८९ जना र १२ वर्ष भन्दा माथिका ७ सय ६८ जनाले यो खाद्य सहयोग पाउने छन् । खाद्य सामाग्री वितरणवाट भेरी नगरपालिकाको वडा नम्वर १मा ३७ परिवार, २ मा ४३ परिवार, ५मा १७ परिवार, ६ मा १३ परिवार, ७ मा ३५ परिवार, ९ मा २९ परिवार १०मा २९ परिवार, १२ मा २७ परिवार, र १३ मा ३५ परिवार लाभान्वीत हुने नगरपालिकाले जनाएको छ ।