प्रधानमन्त्रीपक्षीय स्थायी कमिटी सदस्यको भेला : जस्तोसुकै परिस्थिति सामना गर्ने निर्णय


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १० असारबाट जारी स्थायी कमिटी बैठकमा हिजो अध्यक्ष ओलीसँग समकक्षी नेताहरूले पार्टी तथा सरकार दुवैको नेतृत्वबाट राजीनामाको माग गरेका थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमलगायतले खुलेरै प्रधाममन्त्री ओलीको राजीनामा मागेका थिए। स्थायित्व र सम्वृद्धिको नारा घन्काउँदै दुई वर्षअघि निर्वाचनमा दुईतिहाई नजिकको मत ल्याएर सरकारको नेतृत्व गरिरहेका ओलीले आफ्नै दलबाट घेराबन्दीमा पारिन लागेको महसुस गरेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यलाई छलफलका लागि आज विहान बालुवाटार बोलाएका हुन्।

“अहिले कोभिड–१९ का कारण उत्पन्न अत्यन्त जटिल परिस्थितिमा नेपाली जनताको स्वास्थ्यसम्बन्धी ठूलो चुनौती छ। यसका कारण जर्जर बनेको अर्थ व्यवस्थालाई सही ठाउँमा ल्याउनुछ। सामाजिक विषय छन्”, बिहान बालुवाटार पुगेका एक स्थायी कमिटी सदस्यले भने, “यस्तो बेला आफ्नै दलको सरकार ढाल्ने, पार्टीमा पनि निर्वाचित नेतृत्वलाई हटाउन खोज्ने हर्कत हुन्छन् भने त्यसलाई नेता–कार्यकर्ताले सहज रूपमा लिन सकिन्न। जनताले पनि यसलाई सहन्नन। यही विषयमा अब कसरी जाने, स्थायी कमिटीमा कसरी प्रस्तुत हुने भन्ने भनेर छलफल भयो।”

प्रधानमन्त्री ओलीले देशी–विदेशी शक्ति आफूलाई हटाउन लागिरहेको भन्ने अभिव्यक्ति दिएलगत्तै आफ्नै दलका नेताहरूबाट भएको यो प्रयासलाई अर्थपूर्ण रूपमा लिइएको स्थायी कमिटीका ती सदस्यले बताए। उनले आवश्यकताअनुसार जस्तोसुकै प्रतिक्रियाका लागि पनि आफूहरू तयार रहेको बताए।

“हामीले दुई पार्टीलाई एक बनाउने भनेका छौं। जनतालाई स्थायित्व र सम्वृद्धि दिन्छौं भनेर वाचा गरेका छौं। यस्तो अवस्थामा ब्युँताइएका सपनाहरूलाई अलपत्र छाडेर पार्टीभित्रै सत्ताको खेल हुन्छ भने जनता र कार्यकर्तासँग गरेका ती वाचा पूरा गर्नका लागि हामी जे गर्न पनि तयार हुनुपर्छ”, उनले भने, “यो कोही नेता विशेषको स्वार्थको कुरा होइन। देश, जनता र सिंगो पार्टीको विषय हो। त्यसका लागि हामीले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन भनेका छौंं। उहाँ निर्वाचित अध्यक्ष हो। चुनावमा पनि हामीले उहाँकै अनुहार देखाएर जनतासँग भोट मागेका थियौं। त्यसैले पनि उहाँले आवश्यक परे पार्टीभित्र पनि लड्नुपर्छ र कार्यकर्ता तथा जनतासँग गरेका वाचा पूरा गर्नुपर्छ भनेर भन्यौं।”

प्रधानमन्त्री ओलीले भारतले मिचेका भूभागसहित समेटेर नयाँ नक्शा जारी गरेपछिको अवस्थामा देशी–विदेशी मिलेर आफूलाई हटाउन खोजेको भन्दै दिएको अभिव्यक्तिले देश तथा पार्टीको प्रतिष्ठा गिरेको दाहाललगायत असन्तुष्ट नेताको जिकिर थियो। बैठकमै ओलीले त्यस विषयमा प्रष्ट पारेपनि दाहाललगायतका नेताहरूले उनकै प्रतिक्रियामा तर्क–वितर्क गर्दै स्थायी कमिटी बैठकलाई अजेन्डामा प्रवेश गर्न दिएका थिएनन्।

स्थायी कमिटीको अजेन्डामा सिमाना सम्बन्धी विवादको मुद्दा, सरकारको कामको समीक्षाअन्तर्गत कोभिड–१९ महामारी, पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने, एमसीसीलगायतका विषय थिए। हिजो अजेन्डाबाहिरका गलफत्तिमै सकिएको स्थायी कमिटीको बैठक आज ११ बजे बालुवाटारमा बस्ने कार्यक्रम छ।