“आमा अनि अदालत”


बिधाश्री सिंह

हिलाम्य असारले ओभानो हुन नदिएको
घरको दलाल त्यो दिन रक्ताम्य पनि भयो,
प्रसक पिडाभन्दा प्रश्नले धेरै छट्पटाएकी
आइमाईको योनिबाट तपतप चुहिएको ताकत
अनि छाती नजिक धड्किरहेको आश
चरम बिन्दुमा पुगेपछि ,
भुइँमा पछ्छारियो मौनता
जसको आवाजले खुशीहरु लाई हास्नै दिएन

असन्तोष र आलस्यताले भरिएको काख
काखभरी नभरिएकी म अनि म भरी
छोरा खोज्ने सबै आँखा कचिला भए,

विगतमा बर्खा लागेपछि बाह्रैमहिना बर्सिरहने वज्यैका आँखा
छोरा जस्तै नाती नपाएपछि बिरामी परे अनि आत्मियता थलापर्यो ,
गैरीखेत रोपेका सपना गोड्न गएका ‘बा’ लाई
आलि भत्काएर खहरेले लगेपछि भत्किएको वज्यैको
मनमा अब पहिरो नै गयो अनि
त्यसैमा पुरिए आमाका गास अनि मेरा भोकहरु

उनका स्तन रित्याउदा पनि मेरो भोक नअगाएपछी
रात ब्युझिदासम्म उनि निदाउन सकिनन
र पनि सपना देखिरहिन मेरा लागि,

उनको सेतो सारी टालैटालो हालेर अब रङिन लाग्थ्यो
पसिनाका मैला रेखाहरु अब श्रिङ्गार झै लाग्थे अनि
अभाव आदत झै लाथ्ये ,
अव आदि पेटसंगै पनि पुरा निन्द्रा निदाउन सक्थ्यौ हामी

तर,
ब्युझाउन आइपुग्थे केही चर्का बचनहरु,
अश्लील नजरहरु,
जसले आमाको सारीसंगै च्यातिदीन्थे हाम्रो हृदय
अनि बिस्तरा संगै मैलाइदीन्थे स्वाभिमान

त्यसपछि ,
छानोसंगै उजाडिदै गए सपनाहरू
बान्नाजस्तै भत्किदै गयौं हामी ,
झ्याल ढोका जस्तै फोडिदै गए रहरहरु
धुरी जस्तै भाचिदै गयौं हामी

हाम्रो मस्तिष्क माथि सामुहिक बलात्कार गरेर
समाजले लाजलाई डाँडो कटायो ,
यहीँ शोकले इमानले आत्महत्या गर्यो
प्रमाणसहित मेरी आमा सती गइन ,
सहानुभूतिका शब्द बटुली श्रद्धाञ्जली
सुनाउदै कानुन रोयो ,

त्यसपछि म लासलाई दागबत्ती दिएर
कविता सुनाउन अदालत आएकी हुँ ।