पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्ने विक्रेता नियुक्त गर्न आवेदन माग


काठमाडौं । नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने) विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका लागि चाहिने मुख्यतः डिजेल बिक्री गर्न विक्रेता नियुक्त गर्न खोजिएको प्रवक्ता उपाध्यायले बताए ।

ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ ।

जाजारकोट, दैलेख, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, बाजुरा, दार्चुला, बझाङ, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा, अछाम र सोलुखुम्बु जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ ।

ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम बिक्री गर्न पाइन्छ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ ।