जाजरकाेटमा पहिराेमा पुरिएर १ काे मृत्यु, ११ जना बेपत्ता


जाजरकाेट । जिल्लाकाे बारेकोट गाउँपालिका –४ बोहरागाउँमा पहिराेमा पुरिएर १ जनाकाे ज्यान गएकाे छ । अन्य ११ जना बेपत्ता भएका छन ।

गाउँपालिका –४ बोहरागाउँको सार्की टोलमा गय रातीको अविरल बर्षासंगै आएको भिषण पहिरोले स्थानीय गोपाल सार्की, कलु सार्की को पुरै घर बगाएको छ भने, अन्य तीन वटा आधा घर बगाएको स्थानीयले जानकारी दिएका छन् । पहिरोमा परेर बेपत्ता भएका १२ जना मध्ये एक जनाको शव भेटिएकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द बहादुर सिंहले जानकारी दिए । आधा शरिर पुरिएको अबस्थामा भेटिएकाे शवकाे सनाखत हुन नसकेको अधिकृत सिंहको भनाई छ ।

पहिरोमा बेपत्ता हुनेहरुमा ५२ बर्षीय गोपाल सार्की, उनकी ५० बर्षिय श्रीमती पुष्षा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की, ११ बर्षिय छोरा अर्जुन सार्की रहेका छन् । त्यस्तैगरी कलु सार्की, उनकी १४ बर्षिय छोरी तिर्खा सार्की, ११ बर्षिय छोरी कमला सार्की, ६ बर्षिय छोरा सुभाष सार्की पहिरोमा परि वेपत्ता भएको जनाइएकाे छ ।

बारेकाेट गाउँपालिकाका अनुसार पाहुना गएका कुशे गाउँपालिका–९ चौराँटाबाट सार्कीटोलमा पाहुना गएका २० बर्षिय डिल्ली सार्की, १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की, १८ बर्षिय विरेन्द्र सार्की पनि उक्त पहिरोमा बेपत्ता भएका छन् ।

घटना स्थलमा हालसम्म प्रहरी पुग्न सकेको छैन । ईलाका प्रहरी कार्यालय रामिडाँडा, नायकवाडा, लिम्सा र सक्ला प्रहरी चौकीबाट घटना स्थलतर्फ नेपाल प्रहरीको टोली गईरहेको प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् ।उद्धारका लागि नेपाली सेनाको टोली सहित ईलाका प्रहरी कार्यालय दल्लीको नेपाल प्रहरी टोलीलाई घटनास्थल तर्फ पठाई सकिएकाे प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले जानकारी दिए।

उद्धारका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु पनि घटनास्थल तर्फ गएको र पहिरोको उच्च जोखिममा रहेका अन्य घर परिवारलाई जिरीमा रहेको भगवति आधारभुत विद्यालयको भवनमा लिएर राखिएको गाउँपालिकाले जनाएकाे छ ।