इन्जिनियर दिवस : जाजरकोटमा अनाथ बालबालिकालाई सुइटर वितरण


जाजरकोट । इन्जिनियर दिवसको अवसरमा जाजरकोटमा अनाथ बालबालिकालाई सुइटर वितरण गरिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसन स्थापनाको ५८ औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला सदरमुकाम स्थित नेपाल आमा अनाथाश्रममा बस्ने २७ जना बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो ।

भेरी नगरपालिकामा कार्यरत इन्जिनियर नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भावना भण्डारीको प्रमुख आतिथ्यता थियो भने जिल्ला स्थित विभिन्न कार्यालय तथा अन्य जिल्लामा कार्यरत इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

इन्जिनियर दिवसको अवसरमा जिल्लामा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । आफ्नो कार्यक्षेत्र जाजरकोट भएपछि जिल्लामा कार्यक्रम आयोजना गर्न पहल गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश सदस्य मेघराज खत्रीले बताए । पेशागत हकहितका तथा आपसी समन्वयका लागि एसोसिएसन गठन भएको र यसले जिल्ला शााखाहरु विस्तार गरि पेशागत हकहितका तथा आपसी समन्वय संगै अन्य यस्तै सामाजिक कार्यहरु समेत गर्ने गरेको खत्रीको भनाई छ ।

कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले पेशाप्रति जिम्मेवार बन्न आग्रह गरे । प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति प्रति कतिपयको बुझाई गलत रहेकोले यसलाई चिर्नु मुख्य चुनौती रहेको उनले बताए । विकासे कामका यस क्षेत्रको ठुलो भुमिका रहने भन्दै यसमा सजक रहनुपर्नेमा घर्तीको जोड थियो । आफ्नो पेशा प्रति इमान्दार रहन र सकारात्मक कार्यमा सधै साथ रहने नगर उपप्रमुख भावना भण्डारीले बताईन ।

पहिलो पटक नेपाल इन्जिनियर्स एसोसिएसनको जिल्लामा समिति गठन भई कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा कार्यालय स्थापना गरि निमार्ण व्यवसायी, स्थानीय तहहरु र अन्य सरोकारवाला सबैसंग समन्वय गरेर अगाडी बढ्ने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिए ।