अनेरास्ववियूले ब्लड क्यान्सर बालकहरुको सहयोगका लागि रकम संकलन गर्दै



जाजरकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जाजरकोटले ब्लड क्यान्सर बालकहरुको सहयोगका लागि रकम संकलन अभियान थालेको छ ।

अनेरास्ववियू जाजररकोटका संयोजक प्रदिप खड्काको नेतृत्वमा ब्लड क्यान्सर बालकहरुको उपचार सहयोगका लागि रकम संकलन अभियान थालिएको अनेरास्ववियू जाजरकोटका सचिवालय सदस्य दिनेश गौतमले जानकारी दिए । जिल्लाको भेरी नगरािलका वडा नं. १३ का यज्ञ बहादुर रोकायका २० महिनाका छोरा युनिक रोकाय र कुशे गाउँपालिका वडा नं. ५ का रामचन्द्र शर्माका १६ वर्षका छोरा निरज शर्माको उपचारका लागि सहयोग रकम संकलन अभियान थालिएको गौतमको भनाई छ।

जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसस्था, उद्योगी व्यापारी कर्मचारी एवम् इच्छुक सबैसंग सहयोगको अपेक्षा गरिएको अनेरास्ववियुले जनाएको छ । जिल्लाका २ जना बालकहरु लामो समयदेखि ब्लड क्यान्सरको समस्याबाट पिडित भएको र उपचारका लागि उनिहरुको परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले अभियान थालिएको संयोजक खड्काको भनाई छ ।

जिल्ला बाहिराबाट सहयोग गर्न चाहानेहरुका लागि यज्ञ बहादुर रोकायको लक्ष्मी बैंकमा रहेको खाता नम्बर ०५४२४००१३१८ र रामचन्द्र शर्माको सिटिजन्स बैंकमा रहेको खाता नम्बर ०३००१०००००२९००२१ मा सहयोग रकम जम्मा गर्न सकिने छ । बालकहरुको जिवन रक्षाका लागि आफ्नो सक्दो सहयोग गर्न संयोजक खड्काले सबैसंग अपिल गरेका छन ।