राष्ट्रिय युवा संघ जाजरकोटद्वारा बारेकोटका पहिराे पिडितहरूका लागि राहत संकलन


जाजरकोट । राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले जिल्लाको बारेकोटमा पहिरोबाट विस्तापित परिवारलाई राहत सामाग्री संकलन गरेको छ ।गत असार २५ गते पहिरोबाट विस्थापित परिवारहरुका लागि राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा राहत सामाग्री संकलन गरेको हो ।

युवा संघका जिल्ला नेता कमल आर्चायको नेतृत्व तथा केन्द्रिय सदस्यद्धय विश्व विक्रम शाह र मोहीत वि.क, प्रदेश कमिटी सदस्य लोकेन्द्र गौतम, भेरी नगरकमिटिका अध्यक्ष लोकेन्द्र चन्द लगाएतका युवा नेताहरुको समन्वयमा राहत संकलन अभियान थालिएको हो । राहत संकलन अभियानको पहिलो दिनमै दुई लाख भन्दा बढिको जिन्सी सामाग्री संकलन भएको नेता आचार्यले जानकारी दिए ।

स्टिल तथा प्लाष्टिकका विभिन्न भाँडाकुडा, १ सय मिटर बढि विछ्याउने म्याट, बिभिन्न उमेर समुहका व्यक्तिहरुका लागि आवश्यक लत्ताकपडा, जुता चप्पल, सावुन, ब्रस–मन्जन, टर्च लाइट लगायतका राहत सामाग्री पहिलो दिन संकलन भएको छ ।  पहिरोका कारण विस्थापित भएका परिवारलाई सहयोग गर्नका साथै पछिल्लो समय गतिविधि हिन भएको संगठनलाई क्रियाशिल बनाउनका लागि माथिल्लो कमिटीका नेताहरुसंग समन्वय गरेर राहत संकलन अभियान थालिएको नेता आचार्यले जानकारी दिए ।

युवा संघले थालेको अभियानका क्रममा पहिरोले विस्थापित परीवारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आफुसंग भएको विभिन्न जिन्सी सामग्रीहरु प्रदान गरिएको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण खत्रीले बताए । आफुहरुले नगद रकमको सट्टा विस्थापित परिवारलाई सहयोग गर्न लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीहरु संकलन गरेकोले आफुुसंग भएको दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्न संघका केन्द्रिय सदस्य विश्व विक्रम शाहले सम्बन्धित सबैसंग आग्रह गरे ।

अभियानमा संकलन भएको राहत सामग्री पहिरोले विस्थापित भएर बिभिन्न स्थानमा पालमुनी बसेका परिवारलाई सम्बन्धित स्थानमा गएर वितरण गर्ने योजना रहेको केन्द्रिय सदस्य मोहीत विकको भनाई छ ।

केहि समय अघि अनेरास्ववियूले जिल्लाका ब्लड क्यान्सर पिडित बालकहरुका लागि नगद संकलन गरेर हस्तान्तरण गरिसकेको छ । विगत देखि नै नेकपा निकट युवा तथा विद्यार्थी संगठनहरु यस्तै सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन ।