व्याटमिन्टन प्रतियोगिताको उपाधि विष्टलाई



जाजरकोट । जिल्लामा भएको आन्तरिक व्याटमिन्टन प्रतियोगिताको उपाधि चाँगुनारायण विष्टको समुहले हात पारेको छ । जिल्लामा नियमित व्याटमिन्टन खेल्ने खेलाडीहरुले रकम संकलन गरी आयोजना गरीएको आन्तरिक प्रतियोगितामा विष्ट र आकाश शाहको समुह प्रथम भएको हो ।

शनिवार उद्घाटन भई आईतबार सम्पन्न प्रतियोगितामा विश्व विक्रम शाह र छवि पन्तको समुह दोश्रो तथा किरण भण्डारी र लम बहादुर खड्काको समुह तेश्रो भएका छन । प्रथम हुने समुहलाई नगद ५ हजार दोश्रो हुनेलाई ४ हजार र तेश्रो हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिएको आयोजक समितिका संयोजक किरण कुमार भण्डारीले जानकारी दिए ।

गोलाप्रथा गरेर खेलाडीको समुह बनाई ठाँटी स्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न ७ वटा समुहले सहभागिता रहेको आयोजकले जनाएको छ । जाजरकोटमा पछिल्लो समयमा व्याटमिन्टन खेल प्रतिको मोह बढ्दै गएको छ ।