बारेकोटको पहिरो पिडितका लागि अनु घर्तीको ४० हजार सहयोग

राहत संकलन समितिद्वारा ५ लाख रकम संकलन


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाका पहिरोबाट विस्थापित परिवारका लागि अनिता घर्ती (अनु) ले ४० हजार सहयोग गरेकी छन । गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित परिवारहरुको सहयोगका लागि जिल्लाको भेरी नगरपालिका वडा नं. ५ घर भई हाल अष्ट्रेलिया बस्ने घर्तीले उक्त रकम सहयोग गरेकी हुन ।

अनुले पठाएको सहयोग रकम आज भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले राहत संकलन समितिका संयोजक वीर बहादुर गिरीलाई हस्तान्तरण गरेका छन । बारेकोटमा पहिरोका कारण ठुलो जनधनको क्षेती भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गरिरहेका छन ।

विस्थापित घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी सहयोग संकलन भईरहेको छ । समितिले हाल सम्म करीब ५ लाख रकम संकलन गरेको संयोजक गिरीले जानकारी दिए । संकलन भएको रकम आगामी भदौ ५ गते पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा पालमुनी बसेका परिवारलाई सम्बन्धित स्थानमा गएर वितरण गरिने संयोजक गिरीको भनाई छ ।

संकलन भएको रकम मध्य विस्थापित परिवारलाई आवश्यक पर्ने सामाग्री खरिद गर्ने र बाँकी नगदै वितरण गरीने राहत संकलन समितिले जनाएको छ ।