पत्रकार गिरीको पहलमा संकलन भएको सहयोग रकम बारेकोटको पहिरो पिडितलाई हस्तान्तरण


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाका पहिरोबाट विस्थापित परिवारका लागि पत्रकार वीर बहादुर गिरीको पहलमा संकलन भएको करीब ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ ।

गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित भएका घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब ५ लाख सहयोग संकलन भएको थियो । संकलन भएको उक्त रकम मध्य ४ लाख बराबरको राहत सामाग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

बारेकोटमा पहिरोका कारण ठुलो जनधनको क्षेती भएपछि बारेकोट घर भएका प्रेस संगठन नेपाल कर्णाली प्रदेश समिति संयोजक गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका हुन । संकलन भएको रकमबाट खरिद गरिएको राहत सामाग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाइ हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिए ।

आफुहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा पालमुनी बसेका परिवारलाई थोरै भएपनि राहत पुग्ने उनको विश्वास छ । मानविय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पिडितहरुको दिर्धकालिन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नु पर्ने गिरीको माग छ ।

पहिरोबाट विस्थापित परिवारका लागि यस अघि राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटले राहत सामाग्री संकलन गरी हस्तान्तरण गरेको थियो ।