जाजरकाेटमा कर्मचारी सहित १९ जनामा काेराेना संक्रमण, साेमबार देखि निषेधाज्ञा


जाजरकाेट । जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयसहित १९ जनामा कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण पुष्टी भएकाे छ। रुकुमको चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

२० जनामा परीक्षण गर्दा १९ जनाको संक्रमण पुष्टि भएको भेरी नगरपालिकाकाे स्वास्थ्य शाखा संयाेजक निशा थापाले जानकारी दिइन।

थापाका अनुसार आइतबार थपिएका संक्रमित भेरी नगरपालिका– ३ र ४ का हुन । जसमध्ये भेरी नगरपालिका, वाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेनाका कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयबासी रहेका छन ।

सदरमुकाम खलंगामा एकै दिन १९ जना नयाँ संक्रमित देखिएपछि जाजरकोटमा साेमबार रातिबाट १ साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

सुरक्षाकर्मी, कर्मचारी र समुदायका केही व्यक्तिमा संक्रमण देखिएपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहनेछ ।