जाजरकाेट सदरमुकाम भित्रका सीसी क्यामेरा प्रयोग विहिन



जाजरकोट । जिल्ला सदरमुकाम भित्र जडान गरिएका सीसी क्यामरा प्रयोग विहिन भएका छन । बजार क्षेत्रभित्रको शान्ति सुरक्षा कायम गर्नका लागि भेरी नगरपालिकाको आर्थिक सहयोगमा २५ वटा सीसी क्यामरा जडान गरिएको थियो । हाल २५ मध्य ५ वटा मात्र प्रयोगमा रहेको पाइएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको अगुवाईमा २ वर्ष अघि जिल्ला सदरमुकामका गैरीखाली, शान्तीचौतारा, ठाँटी, न्युरोड थाप्लेचौर लगाएतका ठाउँमा सीसी क्यामरा जडान गरिएको छ । हाल ठाँटी, सिटिजन्स बैंक र वाणिज्य बैंक नजिकका सिसि क्यामरा मात्र संचालनमा रहेको प्रहरीले जनाएको छ ।

अन्य ठाउँका सीसी क्यामरा चट्याङ्गका कारण विग्रिएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए । उक्त क्यामराहरु मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गरेर संचालनमा ल्याउने प्रहरी प्रमुख श्रेष्ठको भनाई छ ।

सीसी क्यामराहरु प्रयोग विहिन हुँदा बजार क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्रीले बताए । सीसी क्यामरा प्रयोग नहुँदा व्यवसाय चोरी हुने खत्रीको आशंका छ ।