भेरी र नलगाडमा नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न



जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेरी नगर कमिटी र नलगाड नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य एवम्् कर्णाली प्रदेश सहईन्चार्ज कालि बहादुर मल्लको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य निरज आचार्यको विशेष उपस्थितिमा भेरीको कुदु र नलगाडको दल्लीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवम् जिल्ला अध्यक्ष ढकबिर राना, प्रदेश कमिटी सदस्य एवम् क्षेत्र नं. १ का इन्चार्ज जीवन खड्का, प्रदेश कमिटी सदस्य कृष्ण वि.सी, भेरी नगरपालिका प्रमुख सि पी घर्ती, नलगाड नगरपालिका प्रमुख टेक बहादुर रावल जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रताप जैसी, कमान खड्का लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रमुख अतिथिको रुपमा बोल्दै नेता मल्लले पार्टी संचालन र पार्टी संगठन निर्माणका विषयमा प्रशिक्षण दिएका थिए । कम्युनिष्ट पार्टीमा दुईलाइन संघर्ष हुनु अस्वभाविक नभएको भन्दै त्यो संघर्ष पार्टी निर्माण र समाज परिवर्तनमा केन्द्रित हुनु पर्नेमा नेता मल्लको जोड थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य निरज आचार्यले पार्टीको माथिल्लो कमिटीले गरेका महत्वपूर्ण निर्णय सुनाउदै पार्टी भित्रको आन्तरिक विवाद अन्त्य भएको बताए । पार्टी अब नीति, विधि, पद्धति र सिद्धान्तमा आधारित भएर चल्ने नेता आचार्यको भनाई छ । पछिल्लो समय पार्टीको निर्णय र सरकारको गतिविधिमा तादम्यता नमिलेको भन्दै महत्वपुर्ण विषयमा अव आवश्यकता अनुसार छलफल गरेर अगाडी बढ्ने निर्णय भएको बताए । नलगाडलाई नेकपाको लालकिल्लाका रुपमा स्थापित गराउने बताउदै नेता आचार्यले त्यसका लागि सबै नेता कार्यकर्ताहरुलाई सक्रिय निर्देशन दिए । पार्टीमा अव पुर्व र तत्कालिन भनेर किता छुट्याउनु नहुनेमा नेता आचार्यको जोड थियो ।

छुट्टाछुट्टै ठाउँमा सम्पन्न बैठकमा नगर कमिटीका अध्यक्षद्धय मकुन्द प्रसाद शर्मा र गणेश सिंहले पार्टी नगर कमिटीको गतिविधिका बारेका जानकारी गराएका थिए ।