प्रहरी सेवाका सात वर्षः मैले जे अनुभव गरेँ !


राजेन्द्र शाही           

        म पेशाले एक राष्ट्रसेवक प्रहरी कर्मचारी हुँ । देश र जनताको सेवा गर्छु भनेर घर छोडेको पनि आज ठ्याक्कै ७ वर्ष पूरा भएछ । अँ साँच्ची मलाई अझै पनि खुब याद आउँछ त्यो समय, २०७० को असोज ९ गते मेरो प्लस टू को रेजल्ट आयो । म पास भएँ अनि भोलिपल्ट १० गते बेलुकी मेरो  प्रहरी जवान भर्ना छनोटको अन्तिम नतिजा (अन्तर्वार्ताको नजिता) आयो । त्यसमा पनि मेरो नाम निस्किएछ । अर्थात् म पनि सरकारी जागिरे हुने भएँ । एक राष्ट्रसेवक प्रहरी कर्मचारी हुने भएपछि खुशीको कुनै सीमा नै रहेन । सायद दुवै हातमा लड्डु भनेको यही रहेछ भन्ने अनुभूति भइरहेको थियो मलाई—प्लस टू पास हुनु अनि प्रहरी जवान भर्ना छनोटको अन्तिम नतिजामा पनि पास हुनु मेरा लागि निकै गर्वको अनुभूति भइरहेका थियो । अब म पनि जागिरे भएँ भन्ने कुराले मनमा एकखालका हर्षानुभूति भइरहेका थियो ।

मेरो पढाई खर्च जुटाउनकै लागि बुवा कालापहार (भारत) जानु पर्ने छैन, मेरो पढाई खर्चकै लागि भनेर मुवा बिहानै चार बजे उठेर दूध बोकेर सदरमुकाम जानु पर्ने छैन, मनले यस्तै यस्तै सोचिरहेथ्यो । दिल उफ्रिरहेकोथ्यो भित्र कतै । हुन त मेरो बुवामुवाको सपना त कहाँ थियो र मलाई प्रहरी बनाउने, गाउँमा लोकसेवाको लहर थियो । मेरो बुवामुवाको सपना पनि छोरा नायब सुब्बा बनोस् भन्ने नै थियो । गाउँमा म पढेको स्कुलको राम्रै विद्यार्थी थिएँ । म लगातार आठ कक्षासम्म प्रथम र त्यसपछि द्वितिय—प्रथम— द्वितिय आइराख्थ्यो मेरो स्थान । २०६७ साल मा एसएलसी दिँदा म पढ्ने स्कुल श्री विजय माध्यामिक विधालय छिप्रेना काफलचौरमा जम्मा ११८ जना विदार्थीले  परीक्षा दिएका थियौँ । जसमध्ये नियमित पास हुने हामी ९ जना मात्र परेछौ । पास हुने ९ जनामध्ये पनि केही साथीहरु आर्थिक अवस्था बलियो भएका शिक्षकका छोराछोरी थिए । उनीहरु निजी विद्यालय बढेर एसएसली दिन मात्र हाम्रो स्कुल भर्ना भएका थिए । बाँकी हामि ६ थियौँ, सोही विद्यालय पढेर एसएसलसी पास गर्ने ।

परीक्षाफल आउनु अगावै म कम्प्युटर र अंग्रेजी भाषा सिक्न भनेर अहिलेको कर्णाली प्रदेशको राजधानी सुर्खेत गइसकेको थिएँ । जहाँ मेरो दाइको डेराभाडामा बस्नुहुन्थ्यो । उहाँ सुर्खेतको बुलबुले एफएममा काम गर्नुहुन्थ्यो । ३ महिनाको कम्प्युटर र अंग्रेजी भाष सिकाइपछि एसएलसीको नतिजा पनि आयो । अरु साथीहरु उच्च शिक्षा र प्राविधि शिक्षा अध्ययनको लागि जिल्ला बाहिर जानथाले । म भने मेरो पढाइको लागि गृह जिल्ला जाजरकोट फर्कने सोंच बनाएँ । किनकी मलाई बाहिर गएर उच्च शिक्षा र प्राविधि अध्ययनको लागि मेरो घरको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था थिएन ।

मेरो बुवाले ज्याला मजदुरी गरी मलाई प्राविधिक शिक्षा पढाउन सक्ने अवस्था थिएन । सुर्खेतमा बसेर पढ्नलाई पनि गाह्रो हुन थाल्यो । दाईको रेडियोको तलबले कोठा भाडा तिर्न ठिक्क हुन्थो । झण्डै एक महिना त भात र दाल मात्र खायौं हामीले । हामीसँग तरकारी किन्ने पैसा थिएन ।

अन्नतः मैले जाजरकोट फर्किने र प्लस टु सँगसँगै लोकसेवाको तयारी गर्ने  निधो गरेँ । र, शुरु भयो मेरो उच्च शिक्षा त्रिभुवन उच्च माध्यामिक विद्यालय खलंगामा । हेर्दा हेर्दै दुई वर्ष बिते । जब प्रहरीमा मेरो नाम निक्लियो तब मनभरी खुशी र उमंग बोकेर म प्रहरी जवान आधारभूत तालिमका लागि १४ असोज २०७० मा तत्कालीन मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जतर्फ लागेँ । घरपरिवार देखि टाढा नेपालगञ्ज मेरा लागि नौलो मात्र होइन बिरानो पनि थियो । देशकै सबैभन्दा धेरै गर्मी हुने भनेर चिनिएको शहर नेपालगञ्जमा  गर्मी त भोगियो नै, त्यससँगै फौजी जीवनको कडा अनुशासनले मन बेचैन हुन्थ्या बेलाबेला ।

राति १० बजेसम्म सुत्न नपाइने, राति २ घन्टा डिउटी गर्नुपर्ने, बिहानै ४ बजे उठ्नु पर्ने,  एरिया सरसफाई, पिटी परेड, क्लास, फेरि परेड अनि खेलकुद र रोलकल यसैगरी बित्थ्यो दिनचर्या । घरपरिवारसँग पनि सम्पर्क गर्न दिइदैनथ्यो । शुरु शुरुमा त निकै गाह्रो भयो । त्यसरी घरपरिवाका सदस्यबाट टाढा कहिल्यै बसेको थिइनँ । १ ÷२ पटक त भाग्ने कोशिश पनि नगरेको हैन तर, बिस्तारै बानी पर्दै गयो । ९÷१० महिनाको कडा मिहिनेतपछि २०७१ असार १८ गते औपचारिक रुपमा तालिम सकियो ।

त्यसपछि शुरु भयो मेरो औपचारिक जागिरे जीवन । जति खुशी म जागिरमा नाम निस्कँदा थिएँ त्यो खुशी विस्तारै विस्तारै हराउँदै गएको अनुभूति हुन थाल्यो । मैले सोचे जस्तो सहज थिएन प्रहरीको जागिर । २४ सै घण्टा डिउटीमा खटिनुपर्ने, चेन अफ कमाण्ड, विभागीय नीति÷निर्देशन, खानपिन, सुताई बसाई जीवनशैली नै फरक भयो । त्यसमा आमसर्वसाधरणले गर्ने व्यवहार उफ ! चाडपर्व, दशैँतिहर आउँदा झन हाम्रो बिदा बन्द हुन्छ ।  हेडक्वार्टरबाट परिपत्र आउँछ—चाडपर्वमा अप्रिय घटना, चोरी, डकैती, झैझगडा, सवारी दुर्घटना हुन सक्ने हुँदा कुनै पनि प्रहरी कर्मचारीलाई बिदा नछोड्नु भनेर । अनि, बिदा पाउने, चाडपर्व मनाउने त कुरै भएन । प्रहरी सहायक निरीक्षक (असई) पदको लागि ट्राई नगरेको पनि हैन । २०७१ सालमा प्रहरी सहायक निरीक्षक पदमा आवेदन दिएँ, पहिलो चरण पार गरी दोस्रो चरणको स्वास्थ्य परीक्षणमा मलाई सामान्य पाइल्स देखियो भनेर अयोग्य ठानिएछ । मेडिकल जाँचमा फालिएँ । अरु संगठन जस्तो आन्तरिक कोटा पनि हुन्न हाम्रो संगठनमा ।  खुल्ला प्रतिस्पर्धा गर्नुपर्छ । त्यसपछि मेरो असई हुने सपना पनि तुहिएर गयो । फेरि ट्राई गर्ने जाँगर हरायो । जागिर छोडेर विदेश जाने योजना बनाई राहदानी बनाएँ । एउटा मेनपावरमा गएर बुझेँ पनि । प्रिइन्टरभ्यूमा सफल भएँ । फाइनल इन्टरभ्यू बाँकी थियो । त्यतिञ्जेल मैले घरमा भनेको थिइनँ । फाइनल इन्टभ्यूअघि घरमा फोन गरेर जानकारी गराएँ तर, मुवा मन्ञुर हुनु भएन । मलाई मुवाको मन दुखाउनु थिएन । जागिर छोडछस् भने छोड्, अरु नै केही गर तर विदेश जाने कुरै नगर भन्नुभयो । अन्ततः मैले पनि विदेश नजाने निधो गरेँ । फाईनल इन्टरभ्यूमा सहभागी भइनँ । त्यसपछि नियमित जागिरे जीवलाई नै निरन्तरता दिएँ ।  काठमाडौंको सडकमा ट्राफिक व्यवस्थापनमा खटिन पनि कम्ती चुनौतीपूर्ण हुँदैन । धुलो धुँवा, सवारी साधनको चाप त्यसैमा मान्छेको अबुझपुर्ण व्यवहार, भीड नियन्त्रणमा हातमा लाठी र सिल्ड लिएर खटिँदा नागरिकले प्रहार गरेका ढुङ्गा र ईट्टाका टुक्राले लाग्दा, सुन्नै नसकिने गाली पाउँदा पनि हाँसी हाँसी सहन र सुन्न बानी पर्नुपर्छ । परिसकेको छु । सत्ता पक्षको प्रहरी र प्रतिपक्षको विपक्ष जस्तो गर्छन् प्रहरीलाई । प्रहरी सरकारको निर्णय कार्यन्वयन गर्ने न हो, जुन पार्टीको सरकार भएपनि ।

राष्ट्र र जनताको सुरक्षाका लागि दिनरात खटिन चुनौतीपूर्ण मात्र होइन जोखिमपूर्ण पनि छ । विभिन्न स्थानमा प्रहरीमाथि भएका बर्बर आक्रमणले त्यही देखाउँछ । प्रहरी कमजोरीविहीन हुन्छ म भन्दिनँ, प्रहरीका पनि केही कमजोरी हुन सक्छन्, यही समाजको उत्पादन हो प्रहरी पनि । तर, हामी प्रहरी जति सकिन्छ धेरै लचक बन्छौं । आफूलाई ढुंगा प्रहार गर्नेहरुलाई हाँसी हाँसी जवाफ फर्काउँछौँ । यसो भनौ न पत्थरको जवाफ फूले दिने कोशिस गर्छौँ । कहीँकतै र कहिलेकाहीँ मानवीय त्रुटीका कारण हुने एकाध घटना बाहेक हामी सँधै नरम नै हुन्छौँ । हामीलाई लाग्छ सकभर कसैमाथि बल प्रयोग गर्न नपरोस्, कसैलाई केरकार गर्न नपरोस् ।

यस्तो विषम पेशामा सरकारले दिने सेवा सुबिधा, वृत्ति विकास देख्दा भने विरक्क्त लागेर आउँछ । सरकारले निजामती कर्मचारी र प्रहरी कर्मचारीबीच गर्ने फरक व्यवहार देख्दा कहिलेकाँही उदेक लागेर आउँछ । हामी प्रहरी आचारसंहितको कडीमा बाँधिएका छौँ, बाँधिनुपर्छ । यसो भन्दैमा हामीभित्रका असंख्य पीडा र वेदना सँधै बाँधेर राख्न नसकिने रहेछ । त्यो कुनै न कुनै रुपमा प्रकट हुन खोज्दो रहेछ । न दिनभरीको थकान पूरा हुन्छ, न पूरा रात निदाउन पाइन्छ । र, पनि हामी जनताको जिउधनको सुरक्षाका लागि खटिनुपर्छ भन्ने मान्यताले मनलाई थम्थम्याउने कोशिस गर्छौं ।