नेता आचार्यको पहलमा जाजरकोटका ४ विद्यालयमा कम्प्यूटर ल्याब स्थापना



जाजरकोट । जिल्लाको भेरी नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यको पहलमा शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकरभवन मावि बाहुनथानमा कम्प्यूटर ल्याब स्थापना गरिएको हो ।

नेकपा जाजरकोटका सह-ईन्चार्ज समेत रहेका आचार्यले अमेरीकामा बस्ने ओम दाहालसंग समन्वय गरी प्रति विद्यालय २० थान कम्प्यूटर, १/१ थान प्रजेक्टर र फोटोकपी सहितको प्रिन्टर रहेको कम्प्यूटर ल्याव स्थापना गरेका हुन । ल्याब स्थापनाका लागि अावश्यक काेठा र फर्निचरकाे व्यवस्थापन सम्बन्धित विद्यालयहरूले गरेका हुन ।

तेह्रथुम घर भई हाल अमेरीकामा बस्दै आएका दाहालले म्याराथन गरेर रकम संकलन गरी सहयोग गरेका छन । दाहालले विगत ४ वर्षदेखि छुट्टिको समयमा म्याराथन गरेर रकम संकलन गरी सामाजिक कार्यमा सहयोग गर्दै आएका छन । विद्युत प्राधिकरणको ईन्जिनियर रहेका दाहाल विध्यावारिधि (पिएचडी) गर्नका लागि अमेरीका गएका हुन । नेता आचार्यका नातेदार समेत रहेका दाहालले यस अघि आफ्नो गृह जिल्ला तेह्रथुम, नवलपरासी लगाएतका जिल्लामा, एम्बुलेन्स खरिद, कम्प्यूटर ल्याब स्थापना, छात्रामैत्री शौचालय निर्माण लगाएतका सामाजिक कार्यका लागि सहयोग गरेका छन ।

दाहालले नेता आचार्यको अनुरोधमा “जाजरकोट कम्प्यूटर ल्याव कार्यक्रम न्युयोर्क म्याराथन–२०१९” अभियान मार्फत रकम संकलन गरेर सहयोग गरेको उनका प्रतिनिधि कुन्दन मिश्रले बताए । नेता आचार्यले दाहालका प्रतिनिधिको रोहवरमा विद्यायलहरुलाई ल्याव स्थापनाका लागि कम्प्यूटर लगाएतका सामाग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण गरिएको ल्यावको गुणस्तरका सम्बन्धमा दाहालका प्राविधिक प्रतिनिधिहरुले समेत अनुगमन गरेका थिए ।

ल्याव हस्तान्तरण कार्यक्रममा बोल्दै नेता आचार्यले प्रदान गरिएको प्रविधिको सहि प्रयोग हुनेमा विश्वास व्यक्त गरे । अहिलेको विज्ञान र प्रविधिको युगमा कम्प्यूटर शिक्षा अनिवार्य भएको भन्दै दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा स्थापना गरिएको ल्याबले यसलाई सहयोग गर्ने नेता आचार्यको भनाई छ । आफुले धेरैपछि लज्जाबोध सहित कम्प्यूटर ज्ञान प्राप्त गरेको भन्दै नेता आचार्यले त्यस्तो नियति अवका पुस्ताले भोग्न नपरोस भनेर आफुले कम्प्यूटर ल्याब स्थापनाका लागि पहल गरेको बताए ।

शिवशंकर मावि जगतिपुरबाट अक्षराम्भ गरेका आचार्यले आफुले पढेको विद्यालयलाई केहि सहयोग गर्ने इच्छा अनुसार साथिभाइ संगको सल्लाहमा कम्प्यूटर ल्याब स्थापना गर्न सफल भएको बताए । सुरुमा एउटा विद्यालयलाई सहयोग गर्ने लक्ष्य राखिएको भएपनि सहयोग रकम थपिदै गएकोले अन्य तीनवटा विद्यालयलाई समेत सहयोग गर्न सम्भव भएको उनको भनाई छ ।

                                                                      ल्याव हस्तान्तरण कार्यक्रम, दीपेन्द्र मावि भुर

नेता आचार्यले यस अघि आफ्नो व्यक्तिगत पहलमा बारेकोटको लिम्सा, कार्कीजिउला र कुदुको विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेका थिए भने कुशेको खुर्पा लगाएतका विद्यालयहरुमा प्रशासनिक कार्यका लागि आवश्यक कम्प्यूटर सहयोग गरेका थिए । ल्याब हस्तान्तरण कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, राजनितिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, शिक्षाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

अभिभावकहरुले सत्ता बाहिर रहेर पनि महत्वपुर्ण सहयोग गरेको भन्दै नेता आचार्यलाई धन्यबाद दिएका छन । सरकारी बजेटको हिसावले यो सहयोग धेरै नहोला तर व्यक्तिगत पहलमा ल्याव स्थापना गरी विकटका बालकालिकाहरुलाई प्रविधिसंग जोड्ने कुरा अतुलनिय छ, नेकपा प्रदेश कमिटी सदस्य पुर्णदेव शर्माले भने, “बालबालिकाको भविष्य संग जोडिएको कुरामा सहयोग गर्ने दाहाल र समन्वय गर्ने नेता आचार्यलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु” ।

हाल कक्षा ४ देखि नै अनिवार्य विषयका रुपमा कम्प्यूटर शिक्षा रहेकोले प्रविधिको सहि सदुपयोग गरी विद्यार्थीहरुलाई आवश्यक ज्ञान प्रदान गर्ने ल्याब स्थापना भएका विद्यालयहरुले प्रतिबद्धता व्यक्त गरेका छन । विद्यालयहरुले अतुलनिय सहयोग गरेको भन्दै नेता आचार्य र मनकारी ओम दाहाललाई कदरपत्रद्धारा सम्मानित समेत गरेका छन ।