कोरोनाका कारण पहिलो पटक चिकित्सकको मृत्यु

कर्णालीमा एकैदिन १०५ कोरोना संक्रमित थपिए

सुर्खेत। कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे  उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन समेत रहेको खड्काले बताए ।

डाक्टर सापकोटाले मधुमेह र उच्च रक्तचापको औषधि नियमित रुपमा लिइरहेको र अस्पतालमा भर्ना हुँदा सुगर नियन्त्रणमा नभएको भेरी अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कर्णालीमा एकैदिन १०५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १०५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३८ जना रहेका छन् । जसमा १० जना कर्मचारी, ६ जना विद्यार्थी, तीनजना सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङ्ग रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाका २१ जना, कालीकोटका १३ जना, दैलेखका १० जना, सल्यानका सातजना, मुगुका दुईजना र अन्य प्रदेशका १४ जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३६५६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप १०३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३०४२ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४९२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।