पुस्तकको पर्खाइमा दीपेन्द्र माविको पुस्तकालय



जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९, भुर स्थित दीपेन्द्र माध्यामिक विद्यालयमा पुस्तकालयका लागि आवश्यक संरचना तयार गरिएको छ तर पुस्तक अभावमा संरचना खाली छन । शिक्षक तथा विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तकहरु राख्नका लागि आवश्यक संरचनाहरु बनाएपनि पुस्तकको अभाव रहेको छ ।

अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तकालय बनाउने सोच बनाएको भएपनि पुस्तक अभावमा सपना पुरा हुन नसकेको प्रधानध्यापक धन बहादुर चन्दले बताए । कक्षागत पढाईका साथै वाह्य ज्ञान समेत हासिल गर्न गराउनका लागि पुस्तकालय निर्माण गर्न भेरी नगरपालिकाकाे ३ लाख ७० हजार अार्थिक सहयाेगमा संरचना बनाइएको र आर्थिक अभावले आवश्यक पुस्तक खरिद गर्न नसकिएको प्र.अ.चन्दको भनाई छ ।

सबै क्षेत्रका आवश्यक पुस्तकहरु राख्नका लागि आफु संलग्न भएर पुस्तकालयका लागि आवश्यक ¥याक, कुर्सी तथा टेवुलहरु निमार्ण गरिएको विद्यालयका लेखापाल किरण प्रकाश चन्दले बताए । नगरपालिकाले उपलब्ध गराएकाे बजेटले संरचना मात्र बनाउन सकिएको बताउदै चन्दले कसैले पुस्तक खरिद गरिदिए विद्यालयलाई ठुलो सहयोग पुग्ने बताए । “दुर्गम क्षेत्रको विद्यालयमा पुस्तकालय स्थापना गर्न सके शिक्षा क्षेत्रमा सकरात्मक प्रभाव पर्ने भन्दै पुस्तक अथवा पुस्तक खरिदका लागि आवश्यक आर्थिक सहयोगका लागि विद्यालयले ठुलो अपेक्षा राखेको छ ।” लेखापाल चन्दको भनाई छ ।

कक्षा १२ सम्म पढाई हुने दीपेन्द्र मावि भुर पछिलो समयमा सुधारान्मुख रहेको छ । विद्यालयका आवश्यक भौतिक संरचना बनेको र वयवस्थापन गर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित विकेले बताए । विद्यालयमा एउटा पक्की भवन निमार्ण भएर प्रयोगमा आएको छ भने प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्धारा थप एउटा भवन निर्माणाधिन अवस्थामा रहेको छ । उक्त भवन निमार्ण भएपछि विद्यालयलाई आवश्यक भवन प्रयाप्त हुने र अव फिल्ड, घेराबार र आन्तरिक व्यवस्थापनको काममा ध्यान दिने अध्यक्ष विकेको भनाई छ ।

नेकपा नेता निरज आचार्यको पहलमा विद्यालयमा कम्प्यूटर ल्याब स्थापना भईसकेको भन्दै अध्यक्ष विकेले पुस्तक खरिद गर्न सकियो भने थप एउटा सपना पुरा हुने बताए ।