जुनिचाँदेमा जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु


जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका-१, औलभीरमा जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन ।

सदरमुकाम खलंगाबाट गाउँपालिकाको केन्द्र पराले जादै गरेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करीब ५ सय मिटर तल खेलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा पाँचजनाको शव फेला परेको र २ जना खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

मृत्यु हुनेमा जुनिचाँदे ११ का वडाअध्यक्ष अमर बहादुर शाही सहित स्थानीय कृति बहादुर शाही, ख्याम बहादुर शाही, कृष्ण बहादुर शाही र मालिका बस्नेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र न्यौपानेले जानकारी दिए । घटनामा घाइते भएका नर बहादुर बुढालाई उद्दार गरी उपचारका लागि जिल्ला सदरमुकाम ल्याउदै गरेको प्रहरीको भनाई छ ।

बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको र दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।