उद्योग वाणिज्य महासंघमा निर्वाचित खड्कालाई गृह जिल्लामा सम्मान



जाजरकोट । उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यकारिणी सदस्य कमान बहादुर खड्कालाई गृह जिल्ला जाजरकोटमा सम्मान गरिएको छ । यहि मंसिर १३ गते काठमाण्डौंमा सम्पन्न महासंघको ५४ औं बार्षिक साधारण सभाबाट जिल्ला तथा नगर तर्फ खुल्ला कार्यकारिणी सदस्यका निर्वाचित खड्कालाई जाजरकोटमा बधाई दिइएको हो ।

खड्कालाई जाजरकोट उद्योग वाणिज्य संघ र प्रेस संगठन नेपाल, जाजरकोटले छुट्टाछुट्टै रुपमा कार्यक्रमको आयोजना गरी बधाई सहित सम्मान गरेका हुन । जिल्लाबाट पहिलो पटक नीजि क्षेत्रको सर्वोच्च संस्था उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्न सफल भएको भन्दै खड्कालाई जिल्लाबासीहरुले बधाई दिएका हुन । खड्का निर्वाचित भएपछि जिल्लाको उद्योग वाणिज्य क्षेत्रमा सुधार र विस्तार हुने स्थानीयको अपेक्षा छ । सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित कार्यकारिणी सदस्य खड्काले सबैको सद्भाव र सहयोगले आफ्नो जित भएको भन्दै त्यो विश्वास टुट्न नदिने बताए ।

भुगोलका हिसावले मध्ये भागमा रहेको जाजरकोटलाई कर्णाली प्रदेशको व्यापारीक केन्द्रको रुपमा विकास गर्न सकिने बताए । मुख्य गरी डोल्पा र जुम्लाको व्यापारीक केन्द्रको रुपमा जाजरकोट रहेको उनको भनाई छ । भौगोलिक हिसावले विकट रहेको कर्णालीमा सबैतिर सडक संजाल जोड्न सके मात्र व्यापारको विकास हुने खड्काको भनाई छ । कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जाजरकोट तरकारी र मासुमा आत्मनिर्भर रहेको भन्दै यसलाई निर्यातमुखी बनाउनु पर्नेमा उनको जोड छ । जाजरकोट उद्योग वाणिज्य संघमा आफ्नो ३ वटा कार्यकालमा संस्थागत सुधार गरेको भन्दै अव महासंघको तर्फबाट जिल्लाको उद्योग वाणिज्यको क्षेत्रमा संस्थागत तथा व्यवसायिक विकासमा सक्दो पहल गर्ने खड्काले बताए ।

प्रेस संगठन नेपाल, जाजरकोटले सनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका नवनिर्वाचित कार्यकारी सदस्य खड्काले खालीपेटमा पत्रकारहरुले काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नीजि क्षेत्रबाट पहल गर्ने बताए । समाज रुपान्तरणका लागि पत्रकार र कलाकारहरुको ठुलो योगदान रहेको बताउदै खड्काले उनिहरुलाई आत्म निर्भर बनाउनका लागि नीजि क्षेत्रबाट पहल गरिने भनाई राखेका थिए । नीजि क्षेत्रका सबै व्यवसायहरु नाफामुलक भएको चर्चा गर्दै उनले पत्रकारिता र कलाकारिता विशुद्ध समाज रुपान्तरणका लागि गरिने स्वयम सेवा भएको बताएका थिए । समाज रुपान्तरणको मुख्य अविभारालाई पुरा गरिरहेका पत्रकार र कलाकारहरुले भोको पेटमै काम गर्नुपर्ने अबस्थाको अन्त्य गर्न नीजि क्षेत्रका तर्फबाट आफु लागि पर्ने खड्काले भनाई राखेका थिए ।

उद्योग बाणिज्य महासंघ पनि ठुला व्यवसायीहरुको घेरादेखि बाहिर आउन नसकेको चर्चा गर्दै महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचनले उक्त घेरालाई तोडेर साना तथा मझौला व्यवसायीसम्म पुग्न सफल भएको खड्काले बताएका थिए । महासंघको इतिहासमा कम्युनिष्टहरुको बाहुल्यता कायम गर्न सफल भएको बताउदै खड्काले खुशी व्यक्त गरेका थिए । हाल देशमा भएको औषत गरिबीलाई अन्त्य गर्न तथा देशलाई आर्थिक समृद्धीतर्फ लैजान उद्योग बाणिज्य महासंघ स्वरोजगारमा रहेका साना व्यवसायीमैत्री बन्न आवश्यक रहेको खड्काले बताए । साना व्यवसायीहरुको प्रतिनीधित्वलाई सुनिश्चित गर्न महासंघमा आफु लागि पर्ने खड्काले प्रतिवद्धता व्यक्त गरेका थिए ।

खुल्ला कार्यकारिणी सदस्य पदमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै प्रेस संगठन नेपाल कर्णाली प्रदेश संयोजक वीरबहादुर गिरीले खड्कालाई दोसल्लाह ओढाएर सम्मान गर्नुको साथै बधाई दिएका थिए । खड्कालाई पत्रकार महासंघका कोषाध्यक्ष दिप बहादुर घर्ती, प्रेस संगठन नेपाल, जाजरकोटका संयोजक हेमन्त केसी, सह–संयोजक भरत शर्मा, जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री लगाएतले सम्मान सहित बधाई दिएका थिए ।