सडक सञ्जालले बदल्दै “बारेकोटी जीवनशैली”


फाेटाे : सुरेन्द्र सुमन

जाजरकोट । केही वर्ष अघिसम्म बारेकोटबाट सदरमुकाम खलंगा जाँदा तीन दिनजति पैदल हिड्नुपथ्र्यो । हिजोआज बारेकोट–खलंगा आउजाउ गर्न करिब पाँच घन्टाको समय पर्याप्त हुन्छ । बारेकोटका दुर्गम गाउँबस्तीहरु सडक सञ्जालले जोडिन थालेपछि स्थानीयको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । कुनै समय बाँकेको नेपालगन्ज, सल्यानको शितलपाटी, चाक्लीघाटबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले घरगाउँमै आयोडिनयुक्त नुुन उपलब्ध छ ।

सडकले बारेकोटका कुनकन्दरा जोडिएसँगै दैनिक उपभोग्य सामाग्रीदेखि विभिन्न निर्माण सामाग्री पनि सुपथ मुल्यमा घरआँगनमै पाइन थालेको छ । ‘पहिले हातमा पैसा भएपनि किनौंभने चामल पाइन्नथ्यो । खाद्यको चामल पनि सिमित हुन्थ्यो’ बारेकोट–६ धुमाका जनक बहादुर महतारा विगत सम्झदै भन्छन् — ‘अहिले बारेकोटका सानोतिनो बजारमा समेत जतिपनि दाल चामल पाइन्छ । यो पनि सडक यातायातकै कारणले महसुस हुने गरी भएको परिवर्तन हो ।’

बारेकोट गाउँपालिकामा सडक निर्माण कार्यले तीव्रता पाएसँगै स्थानीय बजारहरुमा चहलपहल बढ्न थालेको छ । बारेकोटका सेपुखोला, सक्ला, काउली, घाटबजार, दह लगायतका मुुख्य ब्यापारिक केन्द्रहरु बिस्तारै बजारीकरणतर्फ बढेका छन् । अहिले सिमेन्ट, सरीया, इलेक्ट्रिकल तथा मेसिनरी सामाग्रीहरु सुपथ मुल्यमै गाउँघरका पसल दोकानमा पाउन सकिन्छ । जल, जंगल र जडिबुटीको प्रचुर सम्भावना बोकेको बारेकोट गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका जनताको सपना बदलिएको छ ।

केही दशक अघि साँझ विहानको छाक जोहो गर्न कालापार जानुपर्ने बाध्यताबाट गुज्रीएका बारेकोटीका सपनाहरु सडक पुगेसँगै सडकजस्तै फराकिलो बनेका छन् । बारेकोटी जनताहरु अहिले व्यावसायिक सोच राख्न थालेका छन् । बारेकोट ५, गैरागाउँका मानबहादुर सिंहलाई फर्निचरको कामकाज गर्न भ्याइनभ्याइ छ । उनको फर्निचर उद्योगबाट निर्माण भएका काठका सामाग्रीहरुको बारेकोटमा राम्रो माग बढेको छ । आफुसँग सीप र दक्षता हुने हो भने गाउँघरमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मानबहादुर । केही महिनाअघि काठ चिरन गर्ने मेसिन ल्याएका उनले आफ्नो फर्निचर उद्योग फस्टाउनुमा सडकको विकास नै भएको दाबी गर्छन् ।

सडकको विकाससँगै स–साना उद्योग व्यवसायहरुको पनि शुरुवात गरिएको छ । बारेकोट २ का गोपाल नेपालीले गाउँपालिकाको केन्द्र लिम्सामा बेकरी उद्योग शुरुवात गरेका छन् । उनको उद्योगमा पाउरोटी, केक, खास्ता लगायतका खाद्य सामाग्री उत्पादन हुन्छ । उनको उत्पादनले छोटो समयमै स्थानीय गाउँघरमा चित्तबुुझ्दो मुल्य पाएको गोपालले जानकारी दिए ।
हाल बारेकोट गाउँपालिकाका विभिन्न वडा तथा बस्ती जोड्ने ६० किलोमीटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भैसकेको इन्जिनियर महेश काफ्लेले बताए । ध्यापाटाकुरा देखि गाउँपालिकाको केन्द्र लिम्सासम्म १२ किलोमिटर सडक स्तरोन्नतीको कार्य भैरहेको छ । स्तरोन्नतीको जिम्मेवारी पाएको धुलीखेल जेके जेभी कम्पनीले २०७८ असार मसान्तसम्म यो सडकको स्तरोन्नती गरिसक्नुपर्ने इन्जिनियर काफ्लेको भनाई छ ।

जिल्लाकै महत्वको मानिने हानीसल्ला लिम्सा दह हुदै जुम्ला जोड्ने राजमार्ग अन्तर्गत हानीसल्ला देखि दहसम्मको ट्रयाक खन्ने कार्य समेत यसै महिना पूरा भैसकेको छ । त्यसैगरी लिम्सा मुल्साम हुदै जुम्ला जोड्ने राजमार्ग निर्माणाधीन चरणमा रहेको छ ।
कतिपय ठाउँमा निकै कडा चट्टान, कतिपय ठाउँमा कमजोर भुबनोट र ठुलासाना खोला धेरै संख्यामा रहेको कारण सडक निर्माण कार्यमा कठिनाई भोग्नु परेको इन्जिनियर काफ्लेले बताए । यहाँको भूबनोटले गर्दा सडक निर्माणका योजनाहरु महँगो हुने गरेको इन्जिनियर काफ्लेको अनुभव छ । सम्पुर्ण विकासको मेरुदण्ड सडक भएकोले सडक निर्माण कार्यलाई तिब्रता दिईएको उपाध्यक्ष ओमा शाही बताउँछिन् । बारेकोटमा उत्पादन नहुने चिजबस्तु आयात गर्न र उत्पादन भएको चिजबस्तु निर्यात गर्न सहज हुनथालेको उपाध्यक्ष शाहीले बताईन् ।

सडकले छुन बाँकी वडा नम्बर ३ मा यसै आर्थिक वर्षभित्र पालिकास्तरीय सडक सञ्जालले जोडिसक्ने अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । कुनै समय जिल्लाकै विकट क्षेत्रको पहिचान भएको बारेकोटी जनताहरुको घर आँगनमै मोटर गाडी चढ्ने सपना पूरा भएको अध्यक्ष शाहको भनाई छ । जनताले महसुस हुने गरी विकास गर्न प्रतिबद्ध रहेको बताउँदै स्थानीय सरकारसँग जनताको अधिकतम अपेक्षा भएपनि सिमित साधन र स्रोतका बावजुद पनि बारेकोटको बहुपक्षीय विकासका लागि बारेकोट सरकार अहोरात्र खटेको अध्यक्ष शाह बताउँछन् ।