केपी ओलीलाई अव संसदमा जाने अधिकार छैन : नेता आचार्य 


जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका केन्द्रीय सदस्य निरज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् प्रवेश गर्ने नैतिक अधिकार नभएको बताएका छन । प्रधानमन्त्री ओलीले जनताको सर्वाेच्च संस्थाको रुपमा रहेको संसद् सिध्याउन खोजकोेले फेरी त्यहि संसद्मा जान उनलाई नैतिक अधिकार नभएको बताएका हुन । “प्रधानमन्त्री ओलीले संसद चाहिदैन भनेर विगठन गरेका हुन, उनलाई अव त्यही संसदमा जाने अधिकार छैन ।” नेता आचार्यले भने ।

पार्टीले जिल्लाको शिवालय गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै युवा नेता आचार्यले आगामी २३ गते आव्हान भएको संसद बैठकमा मास्क लगाएर जानेबारे बालुवाटारमा छलफल भई रहेको बताए । ओली समुहले जनताको जनमतलाई लत्याएर संसद विगठन गर्ने निर्णय गरेको भन्दै उक्त समुहका सबैले सामुहिक राजिनामा दिनु उत्तम हुने आचार्यको भनाई छ ।

अहिलेको व्यवस्था कसैले दया गरेर दिएको नभई आफुहरुको रगत र पसिनाले ल्याएको भन्दै सर्वाेच्च अदालतले आफुहरुलाई न्याय दिएको आचार्यले बताए । अदालतले अहंकारी र स्वच्छाचारी ओलीले राष्ट्रपतिसंग मिलेर गरेको निर्णय असंवैधानिक भएको ठहर गरिसकेकोले नैतिक रुपमा पदमा बसिरहन नमिल्ने बताए । ओलीले निर्वाचन मात्र लोकतान्त्रिक पद्धति भएको भन्ने गरेकोले आफ्ना समुहका संसद्हरुको राजिनामा गराएर उपनिर्वाचन मार्फत ताजा जनादेश ल्याउन नेता आचार्यको चुनौती दिए ।

संबिधानमा हुँदै नभएको संसद विगठन गर्ने निर्णयलाई जाजरकोटमा समेत केहि शिक्षित वर्गले समर्थन गरेको प्रति कटाक्ष गर्दै नेता आचार्यले काठमाण्डौंमा ओलीको टाउको दुख्दा यहाँ सिटामोल नखान सुझाव दिए । केहि जिम्मेवार व्यक्तिहरु आफ्नो पदिय जिम्मेवारी छोडेर ओलीको साइबर स्याल बनेको भन्दै समयले त्यसको हिसाब गर्ने उनको भनाई थियो । प्रधानमन्त्री र मन्त्री को बन्छ भन्ने कुरा भन्दापनि व्यवस्था बचाउनु मुख्य विषय भएकोले यसका लागि एकजुट हुन नेता आचार्यको सबैलाई आग्रह छ ।

भुलबस ओली गुटमा लागेका नेता कार्यकर्ताहरुलाई आत्मासमिक्षा सहित मुल पार्टीमा आउन आग्रह गर्दै ठुलो त्याग र बलिदानिबाट प्राप्त संघीयता, समावेशिता, समानुपातिक व्यवस्था जस्ता उपलब्धीलाई संस्थागत गर्नु सबैको दायित्व रहेको उनको भनाई छ ।

४७ जना अगुवा कार्यकर्ता नेकपा प्रवेश

नेकपाले जिल्लाको शिवालय गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका ४७ जना अगुवा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । कांग्रेस गाउँँकार्य समिति सदस्य भक्ते बुढा, गत स्थािनय निर्वाचनमा वडा नं ३ वाट वडा अध्यक्षका उम्मेद्वार शेर बहादुर नेगी लगायत ४७ जना अगुवा कार्यकर्ताले नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश सहईन्चार्ज काली बहादुर मल्ल, केन्द्रीय सदस्य निरज आचार्य, रामदिप आचार्य, जिल्ला कमिटी ढकवीर राना, प्रदेश सांसद करवीर शाही लगाएतका नेताहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्ण विसी, यज्ञ बहादुर खत्री, गाउँ पालिका अध्यक्ष नरेन्द्र शाही, जिल्ला कमटी सदस्य मोति ओली, शिक्षक संगठनका पुर्व अध्यक्ष शेर बहादुर केसी, अनेरास्ववियूका केन्द्रीय सदस्य ज्ञानु खड्का लगाएतको सहभागिता रहेको अनेरास्ववियु, जाजरकोटका नेता दिनेश गौतमले जानकारी दिए ।