जाजरकोटमा बैशाख १८ गते देखि निषेधाज्ञा


भरत शर्मा । जाजरकोट

कोरोना संक्रमणको जोखिम वढ्दै गएको भन्दै जाजरकोटमा आइतबार देखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको वैठकले जिल्लामा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै १८ गते राति १२ बजे देखि २५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले वताए ।

प्रमुख जिल्ला अधिकारी देवकोटाले वुधवार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिमा स्वास्थ्य सस्था, विद्युत, फोहरमैला व्यवस्थापन, सूचना तथा सञ्चार, खानेपानी, ग्यास, तरकारी खाद्य, तथा दुग्ध, औषधीपसल, वैंकका एटीएम जस्ता अति आवस्यक सेवा र राष्ट्रिय गौरवका आयोजनाहरु सन्चालन हुने जनाएका छन ।

यस्तै एम्वुलेन्स, दमकल, शववहान, झन्डावाला सरकारी गाडी, निलो नम्वर प्लेट भएका कुटनितिक नियोगका गाडीहरु, अत्यावस्यक सेवा सन्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु सन्चालन हुन पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । निषेधाज्ञाको अवधिमा माथि उल्लेख गरिएका वाहेकका सवै सेवा र साधन तथा गतिविधिहरु पुर्ण रुपमा निषेध गरिएको छ ।

अत्यावस्यक सेवा दिदा कर्मचारी वा सम्वन्धित व्यक्तिहरुले अनिवार्य मास्क र परिचय पत्रको प्रयोग तथा भौतिक दुरी कायम गरेको हुनु पर्ने र सर्वसाधारणहरुले पनि घर वाहिर अत्यावस्यक सेवा लिन आउदा अनिवार्य मास्कको प्रयोग र भौतिक दुरी कायम गरेको हुनु पर्ने छ । साथै दैनिक उपभोगका खाद्य तथा अन्य ग्यास , दुग्ध वस्तुहरु र पेटोलियम पदार्थहरु लिने समय विहान ६ वजे देखि ९ वजे तोकिएको पनि विज्ञप्तीमा जनाइएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने परिक्षणको दायरा बढाउने हो भने यो दर वढ्न सक्ने सरोकारवालाहरुको भनाई छ ।