“हेमन्त हेमलक”का पाँच गजल


गजल – १

छोरो भर्खर फर्किएको हो पाठशालाबाट,

छोरी पनि भर्खर फर्किइ गोठालाबाट ।

समयको खेल हो धैर्य गर्न सक्नुपर्छ,

काडाले पनि कुल्चिइनुपर्छ पैतालाबाट ।

तिम्रो शहरमा मात्रै हो सामान्य लाग्ने,

मेरो गाउमा अझै मृत्यु हुन्छ पखालाबाट ।

आफ्नो अस्तित्व बचाउन क्रुर पनि बन्नुपर्छ,

यहि पाठ सिकेकोछु मैले नदि – नालाबाट ।।

 

गजल – २

सम्हाल्न सक्छु सजिलै यतिसम्म हिम्मत छ,

म मुर्दा हु मलाई आगो खाने आदत छ ।

लास समेत भेटिएन भिरबाट खसेका बाको,

निशानीका नाममा मात्रै एक थोपा रगत छ ।

न्याय नपाएकै कारण आत्महत्या गर्नुपर्छ,

छन त यो देशमा कानुन छ , अदालत छ ।

कतिलाइ क्ष्रम दिनुपर्छ कतिलाइ यो शिर,

रित्तो जिन्दगी हजार ठाउँमा जमानत छ ।।

 

गजल – ३

बरु सजिलो होला जिन्दगी काडामा राख्न,

कठिन हुन्छ सधैं फुलको थुङगामा राख्न ।

बन्दुक दिएर पठाउन कति सजिलो थियो,

गार्‍हो हुदोरहेछ छोरालाई चितामा राख्न ।

म अपराधी हु मेरा आँखा झिकिन सक्छ्न,

त्यसकारण डराएको तिमिलाई आखामा राख्न ।

हिजो जसलाई फुल जसरी सजाएथे शिरमा,

आज उसैले योग्य ठानेन पैतालामा राख्न ।।

 

गजल – ४

तिमिलाइ देख्छु,बिगत सम्झिन्छु,आँखा रसिलो हुन्छ,

यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ ।

मैले आफ्ना दुबै खुट्टाहरु काटेर फालिदिए,

अब दुश्मनलाइ टाउकोमा टेक्न सजिलो हुन्छ ।

यसकारण चम्किलो बस्तुमाथि बिश्वास लाग्दैन,

मलाई अचेल प्राय नराम्रो बस्तु नै बढी चम्किलो हुन्छ ।

तिमि नदि बनेको सुनेर म समथर जमिन बनेको हु,

थाहा छ समथर जमिनमा नदि झन फराकिलो हुन्छ ।।

 

गजल – ५

आफ्नै शरिरमा हुन्छ दनदन सम्हाल्नुपर्छ,

म लास हु आगोसङै कफन सम्हाल्नुपर्छ ।

यहि सोचेर छोरो कहिल्यै घर फर्किएन,

घरमा रोगी बाआमा छन सम्हाल्नुपर्छ।

भन्नेहरुले रुखमा पैसा फल्छ भन्दिए ,

के थाहा ? मरुभूमिमा घन सम्हाल्नुपर्छ ।

हालातले यति सम्म लाचार बनाइ दियो,

गर्दन नापेर जादापनि दुश्मन सम्हाल्नुपर्छ ।।

 

                                            हेमन्त कुमार केसी

                      भेरी नगरपालिका ९, जाजरकोट (हाल जुम्ला)