जाजरकोटमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुग्याे, आजबाट निषेधाज्ञा


                                                                                जिल्ला सदरमुकाम खलंगा

भरत शर्मा, जाजरकाेट ।

जाजरकोटमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । जिल्लाकाे भेरी नगरपालिकाको स्याउलीबजारमा सनिबार ४६ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएसंगै संक्रमितको संख्या १ सय ४२ पुगेको हाे । सनिबार स्याउलीबजारमा गरिएको परिक्षणबाट कोरोना पुष्टी भएका १६ जना संक्रमितहरु भेरी नगरपालिका–७, ८ र ९ का स्थानीय रहेको नगर स्वास्थ्य शाखाले जनाएकाे छ ।

संक्रमित मध्य १ जना सन्चो भएर घर फर्केको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । संक्रमित हुनेहरुमा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक र सर्वसाधारण  रहेका छन् ।

नयाँ भेरिएन्ट सहितको काेराेना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरूको संख्या जिल्लामा तिब्र गतिमा बढिरहेकाे छ । कोरोना संक्रमणको जोखिम वढ्दै गएको भन्दै जाजरकोटमा आइतबार देखि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको वैठकले जिल्लामा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै १८ गते राति १२ बजे देखि २५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे थियाे ।

निषेधाज्ञा अवधिमा स्वास्थ्य सस्था, विद्युत, फोहरमैला व्यवस्थापन, सूचना तथा सञ्चार, खानेपानी, ग्यास, तरकारी खाद्य, तथा दुग्ध, औषधीपसल, वैंकका एटीएम जस्ता अति आवस्यक सेवा र राष्ट्रिय गौरवका आयोजनाहरु सन्चालन हुने जनाएका छन ।

यस्तै एम्वुलेन्स, दमकल, शववहान, झन्डावाला सरकारी गाडी, निलो नम्वर प्लेट भएका कुटनितिक नियोगका गाडीहरु, अत्यावस्यक सेवा सन्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु सन्चालन हुन पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । निषेधाज्ञाको अवधिमा माथि उल्लेख गरिएका वाहेकका सवै सेवा र साधन तथा गतिविधिहरु पुर्ण रुपमा निषेध गरिएको छ ।