प्रधानमन्त्री ओली समक्ष एमाले नेता विसीका सात “जिज्ञासा”


कृष्ण बहादुर विसी , जाजरकोट

१) २०७७ फाल्गुन २३ मा (नेकपा) एकीकरणलाई अस्वीकार गर्ने सर्बोचच अदालतको बिबादित निर्णय आएको २४ घण्टा नबित्दै क. माधव कुमार नेपाल सहितका स्थायी कमिटीका बहुमत सदस्य कमरेडहरुले एमालेमै फर्किएर पार्टीलाई एकताबद्ध बनाउन भनी गर्नुभएको सार्बजनिक प्रतिबद्धतालाई तपाईंले पुरै बेवास्ता त गर्नु भो नै उल्टै पार्टी निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेका आफ्नै कमिटीका बहुमत पदाधिकारीहरुलाइ मनमौजी तरिकाले बर्खास्त गर्दै सत्ता स्वार्थमा लिप्त बादल, रायमाझी लगाएतलाई पार्टीको बिधानको ब्यबस्था विपरित महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने काम कसरी गर्नु भो ?

२) पार्टी बिधानको धारा ५८ बमोजिम बिधान संसोधन गर्ने अधिकार बिधान महाधिवेशनलाई मात्र छ तर महाधिवेशनबाट तपाईंको नेतृत्वमा निर्वाचित १४ पदाधिकारी समेत १५९ सदस्यीय केन्द्रिय कमिटी रहने ब्यबस्थालाई आफुखुसी कुल्चेर आफू र महासचिवमा शक्ति केन्द्रित गरी १ हजार ५ सय भन्दा बड्ता केन्द्रिय सदस्यहरु मनोनयनको फर्मान बालुवाटारबाट के आधारमा गर्नु भो ?

३) पार्टी महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद रिक्त रहेमा सम्बन्धित तहको प्रतिनिधि परिषदले मात्र पदपूर्ति गर्नसक्ने बिधानको किटानी ब्यबस्था विपरित १२ जना निर्वाचित पदाधिकारीहरुलाइ के आधारमा जिम्मेवारी मुक्त गर्नु भो ?
४) तपाई महाधिवेशनबाट निर्वाचित अध्यक्ष र संसदमा दुइतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री हुनुको हैसियतले समग्र मुलुककै नेतृत्व लिने अबसर हुदाहुदै आफ्नै पार्टी एमाले भित्र समेत सबैको हुन किन सक्नु भएन ? अहिले पनि पार्टी एकताको सम्भावना जीवत रहेको बिचार सर्बत्र उठिरहेको बेला तपाईंले पार्टी एकताको झणडा भन्दा अनुशासनको डण्डा उठाएर तर्साउने काम किन र के का लागि गरिरहनु भएको छ ?

५) राज्यको कानुन द्वारा बर्जित ठहरिएका गम्भीर प्रकृतिका कैयौं मुद्दाहरुमा संलग्नहरुलाइ तपाईंको सत्ता सङ्ग सौदाबाजी स्वरुप मुद्दा फिर्तालिने कार्यमा तपाईं पुरै तल्लीन हुनु भो भने रेशम चौधरी समेतका मुद्दा फिर्ताको प्रयास अतष्करणबाटै भै रहेको देखिछ । उता अंगिकृत नागरिकताका सम्बन्धमा तपाईंकै नेतृत्वमा बिगतदेखी लिइएको चट्टानि अडान बिपरित एकाएक अध्यादेश जारी गरि कसरी लम्पसार पर्नु भो ?

६) नेकपा (एमाले) को आन्तरिक एकतामा भन्दा जसपा विभाजन गरी आफ्नो पक्षमा सामेल हुनेलाई आकर्षक मन्त्रालय समेतका लाभका पदमा लैजान किन आतुर हुनुहुन्छ ?

७) बिग्रहको दोष जसलाई लगाइएको होस तर अदालतको फैसलाले एमाले र माओवादी पार्टी पुर्ववत अबस्थामा फर्किनु भनेपछी एमालेको राजनीतिमा सम्पुर्ण जीवन अर्पण गरेका नेता/कार्यकर्ताहरुले उठाउदै अएको २०७५ जेष्ठ २ बाट तपाईंकै नेतृत्वमा पार्टीका औपचारिक गतिविधि संचालन गरौ भन्ने संस्थागत कुरामा किन कहिल्यै पनि रुचि राख्नु भएन ?

लेखक कृष्ण बहादुर विसी नेकपा (एमाले) जाजरकोटमा प्रभावशाली नेता हुन । साविक जिल्ला विकास समितिको उपसभापति समेत रहेका प्रखरवक्ता विसी जाजरकाेटी जनताका विचमा निकै लोकप्रिय नेताका रूपमा परिचित छन।