शिवालयमा फलफुलका ५ हजार बिरुवा वितरण



च्वाइस खवरकर्मी, जाजरकोट ।
जिल्लाको शिवालय गाउँपालिकाले कृषकहरुलाई फलफुलका करिब ५ हजार बिरुवा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लागतमा विभिन्न फलफुलका कलमी बिरुवा वितरण गरिएको शाखा प्रमुख विश्वमित्र खनालले बताए ।

खनालका अनुसार वितरण गरिएका बिरुवाहरुमा २ हजार ४ सय आँप, १ हजार सुन्तला, ९ सय कागती, ३ सय लिचि र २ सय एभोकाडो रहेका छन । गाउँपालिका भित्र रहेका विभिन्न समुह, फार्म तथा सहकारीहरुमा जोडिएका कृषकहरुलाई बिरुवा वितरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । गाउँपालिकाले फलफुलका बिरुवा वितरणका लागि गत बजेट सभाबाट ३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

हरेक वर्ष “एक घर ५ जातका बिरुवा अभियान” संचालन गरी कृषकहरुलाई कलमी फलफुलका बिरुवा वितरण गर्दै आएकोले यस वर्षपनि सो कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले बताए । कृषकहरुको सम्मानका साथै आर्थिक हिसावले थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सो कार्यक्रम राखिएको अध्यक्ष शाहीको भनाई छ ।

बिरुवा ढुवानीमा स्थानीय कार्यसंजाल संस्था पश्चिम जाजरकोट बिकास समाज शिवालयले सहयोग गरेको छ । उक्त संस्थाले ४० हजार ढुवानी खर्च व्यहोरेको गाउँपालिकाले जनाएको छ ।