सामाजिक द्धन्द्ध र अराजकता निम्त्याउने विषय एमालेका एजेण्डा होइनन् : नेता आचार्य



जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले सामाजिक द्धन्द्ध र अराजकता निम्त्याउने विषय पार्टीका एजेण्डा नभएको बताएका छन ।

केहि व्यक्तिहरुले शासकीय स्वरुप लगाएतका विषयहरु अनावश्यक रुपमा उठान गरेको भन्दै अहिले त्यस्ता विषय पार्टीका एजेण्डा हुन नसक्ने बताएका हुन । एमाले ओली समुहको केन्द्रीय समिति बैठकमा नेता महेश बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको शासकीय प्रणाली लगाएतका विषयहरूमा बहस गर्नु पर्ने माग गरेपछि नेता आचार्यको यस्तो प्रतिक्रिया आएको हो ।

युवा नेता आचार्यले आफ्नो फेसबूकमा लेखेका छन : “कम्युनिस्ट आन्दोलन पथान्तरण गरेर यसको रक्षा हुन सक्दैन । यस्ले उठाएका मुद्धा, भेदन गरेको लक्ष्यबाट मार्गान्तरण गरेर कम्युनिस्ट पार्टी बाँच्दैन । आफ्ना देशको ऐतिहासिकता र सभ्यताको विकास, जनक्रान्ति, जनआन्दोलन र परिवर्तनको प्रवाह, देशभित्रको राजनीतिक शक्ति सन्तुलनमा खडा गरिएको प्रणालीको रक्षा र सुदृढिकरण गर्नु पर्ने बेलामा कतिपय मानिसहरु बेफ्वाँकको चर्चाका लागि देशको प्रणाली र संविधानको गर्भदेखि विरुद्धमा रहेका बाह्य शक्तिका एजेण्डाको फोटोकपि बोकेर नियोजित बहसको कोशिश गर्दैछन । यतिबेला नेकपा (एमाले) को लागि धर्मनिरपेक्षता, सङ्घीयता÷शासकीय स्वरुप बहसको विषय हुन सक्दैन । सामाजिक द्वन्द्व र अराजकता निम्त्याउने विषय हाम्रो पार्टीका एजेण्डा होइनन् ।”

एमालेको भातृ संगठन युवा संघ नेपालको सफल नेतृत्व गरेका आचार्य पार्टी भित्र वैचारिक तथा प्रभावशाली युवा नेताको रुपमा परिचित छन ।