सीमान्त मान्छे (कविता )


मैले चखेवा देखेको छैन !
आगनको छेउमै बूढो आरुको रुख छ
हरेक दिन त्यही बूढो आरुमा आउने
तन्नेरी भगेरा देखेको छु !
र, देखेको छु उनिहरुको प्रेम !

बिहानै !
मेरो छाना भएर उड्ने
छिमेकिका एक जोडी परेवा
जो, मेरै आगन भएर फर्किन्छ्न–चारो बोकेर,
जसलाई मैले देखेको छु !
गोठमा भर्खर तीन दिन पुगेको बाच्छो छ
सुत्केरी गाइले दूध चुसाउदै गरेको
र, चाट्दै गरेको देखेको छु !

बाउसाब !
हो यहि बेला–
पोहोर बच्चा जन्माउन नसकेर मरेकी
मेरी स्वास्नी पुतलीलाई सम्झिन्छु !
भोकले अङ्गार चपाईरहेकी
मेरी तीन बर्षिया सानी छोरीलाई सम्झिन्छु !
पाँच वर्षअघि पखालाले खाएको
मेरो छोरालाई सम्झिन्छु !

तर, बाबुसाब ! मैले सरकारलाई कहिल्यै सम्झिइनँ !

म सुदूर भूगोलको सीमान्त मान्छे !

                                               -क्षितिज समर्पण