गोठाले प्रेम (कथा)


-बिनिता कार्की

‘ए काली….. छिटो उठ् । पल्ला घरकाले गाईवस्तु फुकाउने बेला भइसक्यो । हिजोको रोटी छ, चियासँग खाएर जानू । म मेला हिँडे ।’
अहिले मोबाइलमा बज्ने अल्रामको साहाराले उठ्नु पर्छ । कुनै समय आमाको यहि वाक्य सुनेर दिनको सुरुवात हुन्थ्यो । त्यो बेला जिन्दगी कलिलो थियो, बिहानी जस्तै; प्यारो थियो, आमाको वचन जस्तै  अनि चञ्चल थियो, बालापन जस्तै ।

चैतको महिना, स्कूलको अन्तिम परीक्षा सकेको भोलि पल्टबाट अर्को सत्रको कक्षा सुरु नहुन्जेलसम्म आमाले यसरी नै उठाउनु हुन्थ्यो मलाई । हाम्रो घरमा एउटा गाई पालेको थियौँ । गाई राती थिई, त्यसैले उसको नाम नै राती गाई भएको थियो । चैतको दोस्रो सातासम्म परीक्षा सकिसक्थ्यो । नतिजा आउन करीब एक महिना लाग्थ्यो । सरकारी स्कूलको ताल त्यहि न हो, बैशाखको आधाआधिबाट मात्र सुरु हुन्थ्यो नयाँ कक्षा । त्यो बिदामा बिहान बेलुकै गोठालो जानु पथ्र्यो । गहुँ काटिसक्ने र धान लगाउने बेला भई नसक्ने भएर प्राय जग्गाहरू बाँझो हुन्थो । त्यसैले गाईवस्तु चराउन प्रसस्तै खाली ठाउँ हुन्थ्यो त्यतिबेला ।

बिहान उठेर खाजा खाईवरी गोठालो जाने, ११ बजेतिर घर ल्याउने, खाना खाएर दिउँसो केहिबेर सुत्ने र फेरी खिउँसो ३ बजेतिर गोठालो जाने । यसरी नै बित्थ्यो दिनहरू त्यो बेला, मेरो मात्र होईन, प्राय सबैको । चैतको घाम, तराईको गर्मी, बाँध बाँधेको खोला । यो भन्दा उपयुक्त समय के हुन्थ्यो र पौडिनलाई ? साथीहरू सबै पौडिन जान्थे । अझ भनौँ पौडि खेल्न पाईन्छ भनेरै गोठालो जान्थे । म पनि एकपटक पौडिन सिक्ने रहरले खोलामा नुहाएकी थिएँ । आँखा रातो भएको रहेछ । दिदीले मज्जाले धुलाई गर्नुभएको थियो । त्यो बेला कसम नै खाएकी थिएँ अब खोलामा नुहाउँदिन भनेर ।

दिदी विवाह गरेर गएपछि पनि त्यो कसम तोड्ने साहस आएन म मा । साथीहरू पौडिएको हेरेरै चित्त बुझाउँथेँ । हामी गाईवस्तु बथानमा चराउँथ्यौँ । टोलभरीकै गाईवस्तु एकै ठाउँमा हुन्थ्यो । त्यो बेला सबैको छुट्टि हुने भएर गाउँभरीका केटाकेटी गोठाले हुन्थे । बच्चा नभएका घरबाट भने हजुरबुबा वा हजुरआमा जानुहुन्थ्यो । उहाँहरूको छुट्टै गफ हुन्थ्यो । हामी केटाकेटी आफ्नै धुनमा हुन्थ्यौँ ।
गाउँबाट करिब ५ सय मिटर पर पुगेपछि एउटा फाँट आउँथ्यो ।

दक्षिणतिर आँखाले नाप्न नसक्ने चौँडा समतल फाँट थियो, पश्चिमतर्फ सानो नदी थियो, नदीका किनारमा ठडिएका बाँसघारीले नदिको निगरानी गरिरहे जस्तै देखिन्थ्यो । पूर्वतिर पनि खेतहरू थिए र उत्तरतिर करिब ८० घरधूरी रहेको हाम्रो चिटिक्क परेको गाउँ थियो, आसामटोल । गाईवस्तु चर्न सुरु गरेपछि सबै पौडिन व्यस्त हुन्थे । नपौडिने म र ऊ हुन्थ्यौँ, ऊ अर्थात अभीषेक । सबैले उसलाई ‘अभि’ भनेर बोलाउँथे । मलाई चाहीँ ‘काली’ भन्थे । त्यो बेला म ६ कक्षामा पढ्थेँ, ऊ ७ मा । सबै नुहाइरहेका बेला मलाई साथी अभि हुन्थ्यो । हामी घर, पढाइ र कहिले जीवनको लक्ष्यको बारेमा पनि कुरा गथ्र्यौँ ।

‘अभि, तँ किन खोलामा न्वाउदैनस् ?’ एकदिन मैले उसलाई सोधेकी थिएँ ।
‘आमाले भन्नुभाको यस्तो फोहोर पानीमा न्वायो भने लुतो आउँछ रे । माथी बेल्वा बजारतिर खसी कुखुरा काटेको फोहोर नी यहि खोलामा फाल्छन् रे । अस्ती बजारमा मरेको कुकुरलाई पनि यहि खोलामा फालेका थिए रे । अनि बजारका मान्छेले खोलाको किनारमा आची गरेर यहि खोलामा धुन्छन् रे । छ्या ! यस्तो पानीमा नी के न्वाउनू ?’
‘हो नी है ? त्यसैले म पनि कहिल्यै न्वाउदिनँ खोलामा ।’
‘हो नी, सरले भन्नु भाको, खोलामा नन्वाउने राम्रो विद्यार्थी हुन्छ रे । हामी दुबै राम्रो विद्यार्थी रै‘छौँ ।’
अभि पढाइमा पनि अब्बल मानिन्थ्यो । अनुशासित छ भनेर कुरा गर्थे उसका कक्षाका केटाकेटीहरू । म पनि पढ्न मन लगाउँथेँ । त्यसैले पनि होला, उसको र मेरो कुरा खुब मिल्थ्यो ।
‘अभि, ठूलो भएपछि के बन्छस् ?’
‘मलाई त सर बन्न मन छ ।’
‘किन नी ?’
‘अहिले स्कूलमा खा’को कुटाइको बदला लिन पाईन्छ नी ।’
दुबैजना मज्जाले हाँसेका थियौँ त्यो बेला । कति चाहिँ रिस उठेको होला सरसँग भन्ने सोच्थेँ ।
‘अनि तँ चाहिँ के बन्छेस् नी ?’
‘वकिल’
‘किन ?’
‘वकिलले अन्यायमा परेकालाई न्याय दिन सक्छ रे, स्कूल जाँदा हामीलाई जिस्काउने सब केटालाई जेलमा थुन्न लगाउँने मन छ ।’
हाँस्ने यस्तै बाहानाहरू हुन्थे । हामी कहिल्यै अघाएनौँ एकअर्कासँग यस्ता कुरा गरेर । कहिलेकाहीँ म कथाका किताब लिएर जान्थेँ । दुबैजना लय हालेर पढ्थ्यौँ । कहिलेकाहीँ गाईवस्तु खोला नभएको ठाउँतिर लगिन्थ्यो । त्यस्तो बेला चाहिँ हामी कबड्डी, खपटा ढलाई, बुढी पिटन्डा, छोइडुम जस्ता खेल खेल्थ्यौँ । खेल्न थालेपछि घाम, गर्मी केहिको पनि वास्ता हुँदैन थियो । पसिनाले निथु्रुक्क हुन्थ्यो कपडा, तैपनि खेली नै रहन्थ्यौँ ।
कहिलेकाहीँ अभि गोठालो आउँदैन थियो । उसको हजुरआमा आउनु हुन्थ्यो । म उहाँलाई अभिको बारे सोध्थेँ । ऊ कहिले मामाघर, कहिले बजार त कहिले मन्दिर गएको हुन्थ्यो । अभिको आमा धर्ममा बढि लगाव राख्नुहुन्थ्यो । त्यसैले उहाँसँग अभिले पनि मन्दिरहरू घुम्न पाउँथ्यो । ऊ गोठालो नआएको दिन मलाई नरमाईलो लाग्थ्यो । भिडमा पनि एक्लो महशुष गर्थेँ । त्यो दिन कटाउन साह्रै कठिन हुन्थ्यो । ऊ फर्केर आएपछि सबै कुरा सुनाउँथ्यो । कहाँ कहाँ घुमेको, के के खाएको, ककसलाई भेटेको ? सबै कुरा बेलिविस्तार लगाउँथ्यो, मैले केहि सोध्नै पर्दैन थियो । कहिलेकाँही बजारबाट फर्किँदा चटपटे किनेर ल्याईदिन्थ्यो मलाई । उसले त्यो सब किन गथ्र्यो त थाहा थिएन तर मलाई उसले देखाउने त्यस्तो व्यवहार खुब मन पथ्र्यो ।
हरेक वर्षको बैशाख १ गते हामी सबै साथिहरू गढिमाई जान्थ्यौँ । गाउँबाट हिँडेर २ घण्टामा पुगिन्थ्यो गढिमाई । ठूला दाइ दिदीहरू साइकलमा जान्थे, हामी बच्चाहरू चाहिँ हिँड्दै जान्थ्यौँ । त्यो वर्ष पनि हामी गढिमाई गयौँ । अभिले मलाई अङ्ग्रेजी वर्णमालाको ‘बी’ लेखेको औँठी किनी दिएको थियो । मैले पनि उसलाई रुमाल किनीदिएकी थिएँ । नयाँ वर्षमा हिरो, हिरोइन्को फोटो भएको पोस्टकार्डको पछाडी सायरी लेखेर शुभकामना दिने चलन थियो । मैले उसलाई श्रीकृष्ण श्रेष्ठको फोटो भएको पोस्टकार्ड दिएकी थिएँ । उसले पनि मलाई निरुता सिंहको फोटो भएको पोस्टकार्ड दिएको थियो । हामी दुबैले एक अर्काको मन पर्ने हिरो हिरोइन् बारे गोठालोमा कुरा गरेका थियौँ ।
बैशाख १४ गते नतिजा आयो । म चौथोबाट तेस्रो स्थानमा उक्लीएछु । ऊ आठौँबाट पाचौँ भएछ । नतिजा हेर्न पनि हामी सँगै गएका थियौँ । फर्किँने बेला उसले आज गोठालोमा एउटा कुरा भन्छु भनेको थियो । अहिले नै भन्न भन्दा मान्दै मानेन । घर आएपछि कतिबेला ३ बज्ला र गोठालो जाउँला जस्तै भयो । समय टक्क अडिरहेको छ जस्तो लाग्यो । खाना खाएर दिउँसो सुत्ने बानी थियो तर त्यो दिन निन्द्रै लागेन । के भन्ने होला त्यसले ? किन गोठालोमै भन्न पर्ने त्यसलाई ? यस्तै प्रश्न खेलिरह्यो ।
‘हामी त अब गाउँ छोडेर कटारी जाने रे । मेरो सेर्टिफिकेटको लागि मात्रै कुरेको रे ।’
उसको कुराले म अक्क न बक्क भएँ । ‘कहाँ हो कटारी भनेको ?’ मैले त्यो ठाउँको नाम पहिले कहिल्यै सुनेकी थिईनँ ।
‘पूर्व उदयपुर जिल्ला पर्छ रे ।’ उसले मलिन स्वरमा भन्यो ।
‘अब तँ कहिल्यै फर्केर आउँदैनस् यहाँ ? बिर्सिन्छस् होला है हाम्लाई ?’
‘आई हाल्छु नी । हाम्रो सप्पै जग्गा बेचेको छैन । गैह्री खेत कमाउन देको छ रामलखन काकालाई । बुबा बाली उठाउन आउँदा उहाँसँगै आउँछु अनि तँलाई कटारीको बारेमा सबै कुरा भन्छु है ?’
मैले हुन्छको सङ्केतमा टाउको हल्लाएँ । मन बादल लागेको दिन जस्तै भएको थियो । अब म कोसँग स्कूल जाने ? मलाई कसले चटपटे ल्याईदिन्छ बजारबाट ? कसले सुनाउँछ नयाँनयाँ ठाउँका कथा ? कसले दिन्छ निरुता सिंहको फोटो भएको पोस्टकार्ड ‘नयाँ वर्षको शुभकामना’ लेखेर ? उसले जाँदैछु भन्दा मलाई जति दुखेको थियो, त्यति त खोलामा नुहाएको भनेर दिदीले कुट्दा पनि दुखेको थिएन । एकाएक रुन पो मन लाग्यो । आँखा रसाईहालेछन् । आँखाको डिल नाघेर झरेका आँसु गाला हुँदै घाँटीसम्म आईपुग्यो । ऊ चुपचाप मलाई हेरीरहेको थियो । मैले उसलाई हेर्दा उसको हाल पनि मेरो भन्दा फरक थिएन । हामी केहिबेर मौन रुवाइ रोयौँ ।
एक हप्तापछि, वैशाख २१ गते उनीहरू जाने दिन थियो । हामी मौन रुवाइ रोएको भोलिपल्टै उसको घरको गाई, बाख्रा सबै बेचिदिएछन् । त्यसपछि ऊ गोठालो आउन पाएन । बिहान ९ बजे गाउँबाट गाडी बिरगञ्जको लागि छुट्थ्यो । गाउँबाट जाने त्यहि एउटा गाडी थियो । उनीहरूको घरको सामान बाटोमा राखिएको थियो । त्यो दिन गाउँबाट गाडीमा जाने उनीहरू मात्रै थिए । गाउँ सँधैका लागि छोडेर जान लागेकाले होला गाउँका धेरै मान्छे विदाइ गर्न गएका थिए । काकी (अभिको आमा)को अनुहार मलिन थियो । गाउँलेहरू माया नमार्नू, आउँदै गर्नू भनेर भन्दै थिए । अभि पनि अरु साथीहरूसँग कुरा गर्दै थियो । गाडी आयो, मान्छेहरू सामान गाडीमा राख्न सहयोग गर्न थाले । अभि मेरो नजिक आयो र एउटा पाइलट पेन दिँदै ‘राम्रोसँग पढ्नू है’ भन्यो । म केहि बोल्नै सकिनँ, एकछिन गला अवरुद्ध भयो । लामो सास तानेँ । ऊ गाडीमा चढ्यो । झ्यालतिरको सिटमा बसेछ । म झ्याल नजिक गएँ । गाडी गुड्यो ।
‘नबिर्सी है अभि मलाई ? काका आउँदा आइज है ? अनि हरेक नयाँ वर्षमा पोस्टकार्ड पठाउन नबिर्सीनू नी ।’ उसले सुन्यो की सुनेन थाहा भएन, आँखाले मलाई देखुन्जेल बिदाइको हात भने हल्लाइरह्यो। हेर्दाहेर्दै गाडी टाढिँदै गयो, अभिको आकृति धमिलो हुँदै गयो ।
ऊ गएपछि केहिदिन सुनसान लाग्यो । स्कूल सुरु भएकोले गोठालो जान पर्र्दैन थियो । स्कूल अरु साथीहरूसँग जान्थेँ । विस्तारै अभिको याद धमिलो हुँदैगयो, जसरी धमिलीएको थियो उसको अनुहार गाडी गुड्दै गर्दा, जसरी धमिलो हुन्छ तस्वीर पुरानो हुँदै गएपछि अनि जसरी धमिलिन्छ जिन्दगी चोट परेपछि ।
अभिको बाबा वर्षमा एकपटक आउनुहुन्थ्यो, मङ्सिरतिर । धान काटीसकीएको हुन्थ्यो त्यो बेला । उहाँ त्यहि खेतीको हिसाब किताब गर्न आउनु हुन्थ्यो । त्यो बेला छुट्टीको समय नहुने भएर होला, अभि उहाँसँग आउन नपाएको । मैलेपनि अभिको बारेमा सोध्ने आँट गरिनँ । उमेर बढ्दै गएको थियो । केही भन्ने पो हुन् की, नराम्रो सोच्ने पो हुन् की भनेर सङ्कोच लाग्न थाल्यो । मैैले कहिल्यै काकालाई उसको बारेमा सोधिनँ । काकाले पनि उसको बारेमा केहि कुरा गर्नु भएन । अझ भनौँ म काकासँग नै कहिल्यै बोलिनँ । गाउँबाट बिदाइ गरेपछि अभि र मेरो भेट कहिल्यै भएन ।
समय बित्तै गयो । एसएलसी दिएर म हेटौँडा पढ्न आएँ । उनीहरूले गाउँमा रहेको गैह्री खेतपनि बेचे रे भन्ने सुनेँ । हेटौँडामा स्नातक सकेर स्नातकोत्तर पढ्न म राजधानी आएँ । यो बीचमा मैले उसलाई फेसबुकमा पनि खोजेँ तर उसको नामसँग मिल्ने कुनैपनि फेसबुक अकाउन्टमा उसँग मिल्ने फोटो देखिनँ । सायद फेसबुकमा अर्कै नाम राखेको होला भन्ने सोचेर मन बुझाएँ ।
केहिदिनअघि फेसबुकमा आएका फ्रेण्ड रिक्वेस्ट नियाँल्दै थिएँ । ‘अभि श्री’ नामको रिक्वेस्ट आएको रैछ । झट्ट अभिलाई सम्झेँ र सँगै सम्झेँ उसको मन पर्ने हिरो स्व. श्रीकृष्ण श्रेष्ठलाई पनि । प्रोफाइल खोलेँ, अनुहार उही अभिषेकसँग मिल्दो जुल्दो थियो । मोटाएछ, चस्मा पनि लगाउन थालेछ । धेरै बद्लीएछ ऊ । रिक्वेस्ट स्वीकार गरेँ । उसको प्रोफाइल तस्वीर हेरेर त्यसलाई सानो अभिसँग तुलना गर्न खोज्दै थिएँ । अचानक मेरो आँखा उसको प्रोफाइलको कभर फोटोमा गयो । फोटोमा चारजना थिए । एउटा गोरो, ठिक्कको मोटो र सुन्दर मान्छे जसलाई मैले अभि भनेर चिनेकी थिएँ र बालापनका केही पल सुखद् बनाएकी थिएँ उसको साथमा । त्यहि आकृतीको दाहिनेतिर सुन्दर युवती थिईन्, रातो टिसर्ट र निलो रङको जीन्स् लगाएकी, लामो कपाल बिचमा सिउँदो फाटेर अगाडी झारेकी थिईन् उनले । त्यो दुई आकृतीको अगाडी दुई साना आकृती उभीएका थिए । फोटो क्लीक गरेँ, क्याप्सन् पढेपछि मर्माहित भएँ । हुन त उसको सम्झना खासै आउँदैन थियो अचेल, तैपनि कताकता मुटु बिझायो । त्यो राती गाई, त्यो चौर, गोठाले साथी, निरुता सिहंको फोटो भएको पोस्टकार्ड, ‘बी’ लेखिएको औँठी, हामी बसेर गफ गर्ने चौर र पाइलट पेन सबैको एकैपटक सम्झना आयो, फोटोको स्लाइड सो जसरी ।

कभर फोटोको क्याप्सनमा लेखिएको थियो, ‘हामी दुई र हाम्रा दुई ।’