शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान


काठमाडौँ, २२ भदौ । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको एक लाख १ सय १ रुपैयाँ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्राध्यापक गोपीकृष्ण शर्मा र प्राध्यापक ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आउँदो असोज ५ गते पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विक्रम सम्वत २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विक्रम सम्वत २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो ।

पब्लिकेसन्सका तत्कालीन सञ्चालक एवं हाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पाँच लाखको अक्षय कोष खडा गरी पुरस्कार स्थापना भएको हो ।

यस सम्मानबाट अहिलेसम्म वरिष्ठ साहित्यकार कृष्ण जोशी, तेजेश्वर बाबु ग्वगः, वसन्तकुमार शर्मा, डा मोहनहिमांशु थापा, मंगलकुमार नेपाल र गणेशबहादुर प्रसार्इं सम्मानित भइसक्नुभएको प्रतिष्ठानले जनाएको छ ।