मखुण्डो


सोकेस झन् टल्काउँछु
र, सजाउँछु मखुण्डाहरूलाई
मखुण्डाहरू
साना छन्, ठूला छन्
र, छन् रंग–बिरंगका
कुदेका छन् कलाकारहरूले तिनमा
गम्भीरता, करुणा र भयका
बिभिन्न आकृतिहरू मेहनतसाथ ।

कुनै पनि बेला आउन सकछन्
मेरा ग्राहक–
नेता, अभिनेता,
समाजसेवी, व्यापारी,
कवि, कलाकार,
पत्रकार, कर्मचारी,
उद्यमी, कालो व्यापारी,
सन्त, महन्त र शिक्षक

हमेसा तयार पार्नुपर्छ मैले मखुण्डाहरू
र, सजाई रहनुपर्छ पसल ।

मखुण्डो लगाएर फरक–फरक
नेताहरू जान्छन् सभा समारोह
र, गर्छन् थरिथरिका भाषण
र, लगाएरै मखुण्डो–
लेख्छन् स्तम्भकारहरू लामा लामा लेख

गर्छ मखुण्डोले छेकिएर
अपराधीले सदाचारको नाटक
र, दिन्छन् लामालामा प्रवचन
विद्धानहरू थरिथरिका मखुण्डा लगाएर ।

तपाईलाई
गर्नु छ भने–
पाँच तारे होटेलमा समाजवादको व्याख्या
वा, विलासी बैठक कक्षहरूमा
साम्यवाद प्राप्तीको योजना निर्माण
आवश्यकता पर्नसक्छ मखुण्डाहरूको

स्वागत छ पसलमा
यो मेरो व्यवसाय हो ।
र, छ बलियो समर्थन
थाल्ने भए मखुण्डा च्यात्ने अभियान
त्यो मेरो आस्था हो ।

-नेपाली कलासाहित्य डटकमबाट