कविता : दुइटा पृथ्वी


सुनिता खनाल

पुतलीहरुको निम्ति
प्रवेश निषेध लेखेको फूलबारी हुँदैन
चराहरुको पखेटालाई चाहिँदैन इन्धन
घर बनाउने माटो किन्नु पर्दैन कमिलाहरुलाई
मौरीहरुले तिर्नु पर्दैन महको ट्याक्स
फुलेपछि थाप्दैनन् फूलका बोटहरुले तलब
पानीले थाप्दैन माछाहरुको निम्ति जाल
माटोले गर्दैन भुइँनिकाला कुनै पनि बीऊलाई
रङहरुको आफ्नै छैन कुनै थरगोत्र
ढुङ्गाहरुको छैन कुनै राज्य
आकाशले हान्दैन पत्थर पृथ्वीलाई
घामले कहिल्यै कोर्दैन सिमाना
किनभने उनीहरुको देशमा
छैन कुनै कानुन, छैन संविधान,
छैन अधिकारको सबाल ।

सबथोक छ तिम्रो भूगोलमा
जहाँ बन्दुक तेस्र्याएपछि फुल्छ फूल
गोली हानेपछि चल्छ हावा
मसिना नानीहरुको ओंठमा
पटका झोसेपछि आउँछ गणतन्त्र
फूलहरुले लगाउँछन् ढुङ्गाको पर्खाल
भगवान् कैदी क्रमश: क्रमश: !

स्वास्नीको कोखमा बढ्दै जान्छ बारुदको भ्रूण
बेरोजगार आगो
कमजोर मानिसको जिउ खोज्दै आउँछ
कमजोर बस्तीको झ्याल खोल्दै पस्छ
र लुट्छ निर्दोष इन्द्रेणीहरुको सिउँदो ।

एउटै पृथ्वीमा
यो दुइटा पृथ्वी बनाउने को हुन् ?

बुद्ध
मलाई तिम्रो नाममा शङ्का छ ।