कथा-प्रेममाण्डु


क्षितिज समर्पण

कसैलाई नभनेरै प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ । उसले पनि आफूलाई प्रेम गरेको छ भन्ने आभाष हुँदोरहेछ । बरु, त्यो भ्रम नै किन नहोस् । साँच्चै भ्रममा बाँच्नुपनि मीठो लाग्दोरहेछ ।

शनिबार भनेपछि यसैपनि अल्छि लाग्छ । मन अल्छि भइदिन्छ ।

शनिबार विदा हो भन्ने कुराले मनमा डेरा जमाउँदो हो सायद । हामी अभ्यस्त भएका हुँदाहौँ– यो कुरादेखि । शनिबार इक्वेल टु बिदा !

मेरा लागि भने हरेक बार शनिबार जस्ता लाग्छन् । न जाने कुनै ठाउँ छ, न गर्ने कुनै काम । पुराका पुरा बेरोजगार छु । यसैपनि अल्छि लाग्ने नै भयो ।

तर, आजको शनिबार त्यस्तो महसुस भएन । पुरै फरक बनेर उदाएको थियो आजको घाम । बिहान चाँडै उठेँ । किन किन हलुङ्गो महसुस भईरहेको थियो । आज, झण्डै एक महिनापछि चिया पकाउने जाँगर आयो । मनमा एक किसिमको स्फूर्ति छ ।

सृष्टिसँग नभेटेको पनि धेरै भईसकेकोे थियो । बेलाबेला फोनमा कुरा भईरहन्थ्यो । हुन त खास भेट्नैपर्ने विशेष सम्बन्ध पनि थिएन ।

तर, मनले कता कता आफूलाई उसको विशेष साथी भएको सम्झिन्थ्यो । उसले मप्रति गर्ने व्यवहार, मलाई राख्ने ख्याल र दर्शाउने आत्मीयताले मनलाई झन बल पुग्थ्यो ।

हुन त म प्रेम गर्थँे सृष्टिलाई । आफूले प्रेम गरेको मान्छेका हरेक कुरा प्रेमिल नै लाग्दा हुन सायद । तर, भन्न सकेको थिइनँ । भन्ने आँट कहिल्यै आएन । कसैलाई नभनेरै प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ । उसले पनि आफूलाई प्रेम गरेको छ भन्ने आभाष हुँदोरहेछ । बरु, त्यो भ्रम नै किन नहोस् । साँच्चै भ्रममा बाँच्नुपनि मीठो लाग्दोरहेछ । आफूले प्रेम गर्ने कुरा उसलाई कहिल्यै भन्न सकिनँ । बस्, प्रेम गरिरहेँ । भनेनी, कसैलाई थाहै नदिई प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ ।

पछिल्लो समय फोनमा अलि बाक्लै कुरा हुन थालेको थियो । धेरैजसो त उसैले गर्थी । म बेरोजगार छु भन्ने उसलाई राम्ररी थाहा थियो । त्यसैमा झन गाउँको सामान्य परिवारबाट आएर काठमाण्डौं बसेको छु । विद्यार्थी हुँ, फुर्तिफार्ति गर्ने पैसा मसँग हुँदैन । कतिदिन गाडी भाडा नभएर पैदल हिँडेको छु । धेरै छाक एउटा चाउचाउको भरमा काटेको छु ।

कास ! यो काठमाण्डौंमा बेरोजगार भएर बस्नुभन्दा ठूलो पीडा सायद छैन !

केही महिना अघि एउटा मार्केटिङ कम्पनीमा काम गर्थेँ । कम्पनीले उत्पादन गरेका आर्युवेदिक औषधी बोकेर गल्लीगल्ली, चोकचोक डुल्नुपथ्र्याे । भनेको समयमा तलव नदिने र सम्झौताभन्दा थोरै तलव आउन थालेपछि छोडिदिएँ । छोड्नुको खास कारण भने अर्कै थियो । म गलत कुरालाई सही भनेर प्रचार गर्नै सक्दिनँ । मैले त्यसरी औषधी बेचेको मान्छे सन्चो भएको कोही भेटिन । र, मलाई विश्वास पनि थिएन कि, त्यो औषधीले बिमार सन्चो पार्ला । पैसाका नाममा अरुको स्वास्थ्यमाथि खेलबहाड गर्न मनले सकेन । बरु, कामै छोडेर बसिदिएँ ।

अहिले पुरा तिन महिना भो बेरोजगार बसेको । जसोतसो चलेको छ जिन्दगी । पहिलेको अलिअलि पैसा बचेको थियो, त्यसैको भरमा आजसम्म टिकियो । अब उप्रान्त के हुने हो केही सोचेको छैन । अर्काे एउटा मार्केटिङ कम्पनीबाट कामको लागि साथीले कुरा गरेको थियो । तर, अस्विकार गर्दिएँ । अघिल्लो कम्पनीको झल्को आईरह्यो । कहिलेकाँही आफैलाई प्रश्न गर्छु–गाउँबाट आएको एउटा मामुली गरिबको यत्रो घमण्ड ? काम गर केटा काम ! के सही के गलत बिर्सिदे सब । पैसा छ दुनियाँ छ, पैसा छैन दुनियाँ छैन । तँ एउटा सही सोचेर दुनियाँ सही हुने होइन ।

दिमागको बाँया कुनाले बेला बेला यस्तै भन्थ्यो । निर्णय लिन सकिनँ ।

गरिबीको होडिङबोर्ड देखाउँदै गलत कुरालाई सही भनेर विज्ञापन गर्न मनले मानेन ।

बरु, गावैँ फर्किन्छु । साला ! यो काठमाण्डौंमा इमान बेचेर पटक्कै बाँँच्न मन छैन । साथी भन्थ्यो–काठमाण्डौंमा बाँच्न एकदम सजिलो छ । बरु, मर्न गाह्रो छ । बाँच्नलाई काम जति पनि पाइन्छ । एउटा जिन्दगी चलाउन पीर गर्नै पर्दैन । बरु, मर्न गाह्रो छ । देखिनस्, आर्यघाटमा लाशको लाइन ?

साला ! जल्नलाई पनि पालो कुर्नुपर्छ । जल्नलाई पनि लाइन लाग्नुपर्छ !

जिन्दगीमा सुख कहाँ छ ? मान्छेलाई मरेपछि पनि सुख छैन । सुखको पछि नदौडे यार । हामीजस्ताले झन सुख खोज्ने म्याराथुनमा भाग नलिएकै राम्रो । हामी कहिल्यै धावक बन्न सक्दैनौँ । जहिले पुच्छारको पुच्छार मात्र । सुख खोज्दा खोज्दा आफैसँग भएका बाँकी सुख र खुशीहरू पनि गुमाईसक्छौं । बरु, खुशी हुन सिक् । सुख र खुशीको अन्तर छुट्याउन सिक् ।

ईः देखिनस् मलाई ! के छ मसँग? केही पनि छैन । तर, लाग्छ यो काठमाण्डौंमा बस्ने लाखौं मान्छेहरूमा सबभन्दा खुशी म नै हुँला ।

मेरा पुस्ताले नाम मात्र सुने । म त्यही ठाउँमा आएर बसेको छु । जसोतसो छाक गुजारेकै छु । बाँच्नलाई केही गाह्रो छैन । हरेक पाइलामा अवसर भेटिन्छ । बस्, अवसरलाई चिनेर आफूले समात्न सक्नुपर्छ । भगवानसँग यत्ति कामना छ,–अस्पताल भर्ना हुनेगरि कहिल्यै बिरामी हुन नपरोस् !

हुन पनि हो । आर्यघाटमा लाश पोल्न पनि पालो कुर्नुपर्छ । गाउँबाट बिरामी भएर आएका मान्छे मरे वा विदेश गएकाहरू मेरेर फर्किए भन्ने खबर पाएसम्म आर्यघाट पुग्छु । उसका आफन्तले फलानो पनि आएको थ्यो भन्ने हेक्का राख्लान्, नराख्लान् । आत्मसन्तुष्टिका लागि पनि जान्छु । आफ्नो जिल्लाको भनेपछि यसैपनि जान मन लागिहाल्दो रहेछ । मनमा एउटा आत्मीयता जाग्दो रहेछ । सोच्छु, कमसेकम लाशले त याद गर्ला । मलाई भोली मरेपछि पनि बाँच्नुछ । किन बेकार लाशसँग दुश्मनी गर्नु ! आखिर, मलाई पनि जानु त्यहीँ छ !

र, जिन्दगीलाई नजिकबाट बुझ्न पनि आर्यघाट पुग्छु ।

पशुपतिबाट फर्केको दिन किनकिन भोकै लाग्दैन । न, खाना पकाउने जाँगर नै चल्छ ।

यो दौडधुप, तेरो–मेरो, वैमणस्यता ! सब केका लागि ? मरेपछि पनि लाइन लाग्न ? हरेक मान्छे किन खरानी हुनुभन्दा पहिल्यै आफ्ना खराब बिचारहरूलाई खरानी बनाउन सक्दैन ?

मनमा प्रश्नहरू घुमीरहन्छन्, रोटेपिङजस्तो !
सृष्टिलाई मेरो हालतको बारे राम्रै थाहा थियो । सम्झाउँथी । काम खोज्दिने आश्वासन दिन्थी । बेला बेला रिजार्च हालिदिन्थी । ‘घरमा फोन गर्नू तर, बाआमालाई चिन्ता थपिने गरी कुरा नगर्नू’ सृष्टि भन्थी, ‘यता सब ठिक छ भनेर भन्नू ।’
सब ठिक छ ?

आफैँलाई गिज्याए जस्तो लाग्थ्यो यो कुराले । के ठिक छ ? कसरी ठिक छ भन्नू ?
तर, सृष्टिले भनेजस्तो बाआमालाई चिन्ता थपिने गरि कहिल्यै कुरा गरिन । सोचुन् न छोरो काठमाण्डौंमा आनन्दले बसेको छ !
घरमा फोन गरेर भन्थेँ–‘मेरो सब ठिक छ । पढाईसँगै काम पनि गर्दैछु । पैसा बच्यो भने घरमा पनि पठाइदिउँला ।’
तर, अहिलेसम्म घरमा एक रुपैयाँ पठाउन सकेको छैन । भए पो पठाउनू !
साँच्चै मैले घरमा पैसा पठाउने दिन आउला ???
…..
कोटेश्वरको आकाशे पुल कटेपछि बाटोको बाँया छेऊ स्कुटर घ्याच्च रोकियो । उसैले रोकेकी । हेल्मेटभित्रबाट आँखा छेउ लत्रिएको कपाल पन्छाई । चस्मा ननिकालिकनै चोर औंलाले बाँया आँखा मिचि । सायद, धुलो परेको हुँदो हो ।
‘तिमी चलाउँछौ ?’ पछाडी बसेको मलाई स्कुटरको एक्सिलेटतिर इंगित गर्दै सोधी ।

गाउँमा हुँदा साथीको मोटरसाइकल मागेर चलाउँथे । सदरमुकाम जाने–आउने राम्रैसँग गर्थेँ । तर, भिडमाडमा चलाउने अभ्यास गरेको थिइनँ ।

डर लाग्यो । उसको अघि डर देखाउनु पनि भएन । मभित्र कुन्नी के चिज छ त्यस्तो, जसले आफूलाई कतै न कतै अहम्कारी बनाइरहेको हुन्छ । जब पशुपति पुग्छु, सारा अह्महरू जलिसके जस्तो लाग्छ । तर, कतै न कतै बाँचेको हुँदो रहेछ । मान्छेको जस्तै अह्मको पनि आत्मा हुँदो हो ?

‘हैन, पर्दैन । तिमी नै चलाउ न’, पन्छिने बाटो रोजेँ, ‘मेरो लाइसेन्स छैन ।’

उसैको योजनामा आज घुम्न जाँदै थियौँ हामी ।

एक हप्ताका बोझहरूबाट मुक्त हुनु थियो उसलाई । बिचरी साह्रै व्यस्त छ । बिहान–कलेज, दिउँसो–अफिस !

थोरै अगाडी पुगेका थियौं, फर्किनुपर्ने अवस्था आयो ।

सोधें, ‘कस्तो पल ?’
‘जस्तो कि, तिमी र म यसरी सँगै बस्न पाउने ।’
‘आउन पनि त सक्छ ?’
‘कसरी आउँछ भन त ?’
त्यो त तिमीमा भर पर्छ ।’
‘मतवल ?’
‘मतलव, केही पनि होइन ।’ पन्छिन खोजेँ ।
‘हावा !’ रिसाएजस्तो नखरा पारि ।

मान्छेको हुल वरैबाट देखिएको थियो । सृष्टिले स्कुटी साइड लगाई । मान्छेको हुलभित्र पस्ने कोशिस गर्यौँ । त्यहाँ, जुन दृश्य देखियो त्यसले मन खंग्रङ्ग भो । यस्तै २८ वर्ष जतिको केटा अनि, २४ वर्ष जतिकी केटी । दुवै जना सडकमा सुतिरहेका थिए । रगतको आहाल थियो । केटीको अनुहार चिन्न सक्ने अवस्थामा थिएन । दुवैले श्वास छोडिसकेका थिए । मोटरसाइकल सडकको बाँया किनारा उछिट्टिएको थियो । अगाडीबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको रहेछ ।

पुलिसको भ्यान र एम्बुलेन्स आइपुग्यो । हामी फर्कियौं ।

‘अब कहाँ जाने ?’ तीनकुने पुग्दा नपुग्दै सृष्टिलाई सोधेँ ।

केहीबेर सोचेर जवाफ दिई, ‘उम्, चन्द्रागिरी जाउँ !’

हुन्छको सहमतीमा टाउको हल्लाएँ । चन्द्रागिरीको विषयमा रेडियोमा धेरैं सुनेको थिएँ । तर, जाने मौका मिलेको थिएन । मेरा लागि झन गज्जब भईहाल्यो । नयाँ ठाउँ जाने भईयो । उसो त, सृष्टिसँग जाँदा हरेक ठाउँ नयाँ लाग्छन् । हरेक पटक नयाँ लाग्छन् ।

टिकट लिइसकेपछि केवुलकार चढ्यौँ । संयोग कस्तो भने हामी चढेको केबुलकारमा अरु कोही यात्रु थिएनन्, शिवाय सृष्टि र म ।
केवुलकार जीवनमा पहिलोपटक चढ्दै थिएँ । सायद, डराएको जस्तो देखिएको हुँदो हुँ । सृष्टिले सोधी, ‘डर ला’छ ?’

‘नाइ छैन ।’ प्रष्टिकरण दिएँ, ‘तर, पहिलोपटक चढेको यार !’

‘नडराउ, आउ यता बस् ।’ विपरित बसेको मलाई आफ्नो छेउमा बोलाइ ।

मोबाइल निकालेर सेल्फि खिची ।

‘थाहा छ दीपक ! जिन्दगीमा यस्तो पल फेरि नआउन पनि सक्छ’, अघि खिचेको फोटो सेभ गर्दै भनि ।

सोधें, ‘कस्तो पल ?’
‘जस्तो कि, तिमी र म यसरी सँगै बस्न पाउने ।’
‘आउन पनि त सक्छ ?’
‘कसरी आउँछ भन त ?’
त्यो त तिमीमा भर पर्छ ।’
‘मतवल ?’
‘मतलव, केही पनि होइन ।’ पन्छिन खोजेँ ।
‘हावा !’ रिसाएजस्तो नखरा पारि ।
केवुलकारभित्रबाट चन्द्रागिरीको जङ्गल, काठमाण्डौं उपत्यका नियाल्दै गयौं । मुनिपट्टि हेर्दा जिउ सिरिङ्ग हुन्थ्यो ।
‘अहिले लठ्ठो चुडिएर खस्यो भने के हुन्छ सृष्टि ?’ बीचमा पुगेको बेला सोधेँ ।
‘सिम्पल !’ सहजै भनी, ‘ मरिन्छ नि, त्यति पनि थाहा छैन !’
‘तिमी र म सँगै मर्न त लेख्या छैन होला ।’ अलि जिस्किन खोजेँ ।
‘मतलव ?’
‘जसलाई सँगै बाँच्न त लेख्या छैन भने मर्न झन के लेख्या होला ?’
‘लेख्या पो छ कि ?’
‘के ? मर्न कि, बाँच्न ?’
‘जे पनि ।’ थोरै ग्रिनसिंग्नल दिई ।
झण्डै १४/१५ मिनेटपछि चन्द्रागिरी हिल्समा पुगियो ।
काडमाण्डौंलाई किन खाल्डो भन्छन् भन्ने कुरा यहाँ आएपछि पो थाहा हुँदोरहेछ । सोचेकै थिइनँ काठमाण्डौं यति खाल्डोमा छ भनेर । चारैतिर पहाडै पहाड । बीचमा कचौरा जस्तो पो लाग्दो रहेछ काठमाण्डौं उपत्यका ।

काठमाण्डौंका शिरमा यति धेरै हिमाल होलान् भनेर सोचकै थिइनँ । तर, चन्द्रागिरीबाट देखिने हिमालको दृश्यले मन निकै लोभ्यायो ।
‘ऊः त्यो चाहीँ माउन्ट एभरेष्ट’ सृष्टि मलाई हिमालहरू चिनाउँदै थिई, ‘अनि, ऊः त्यो चाहीँ माछापुच्छ्रे ।’
भालेश्वर महादेव मन्दिरको दर्शन गर्यौँ।

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतिदेवीको शिर पतन भएको थियो, त्यस ठाउँमा भालेश्वर महादेव उत्पन्न भएको किंवदन्ती रहेछ ।

भालेश्वर महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेछ । जुन कुरा भालेश्वर मन्दिर अगाडीपट्टी शिलालेखमा लेखिएको थियो ।

धर्मप्रति र धार्मिक अनुष्ठाले फल प्राप्त हुने कुरामा खासै विश्वास गर्दिन । तर, आज किन किन मनले केही माग्न चाह्यो । विश्वास गर्न चाह्यो । जिन्दगीमा अहिलेसम्म भगवानलाई नसम्झेर पो दुःख पाईएको हो कि भन्ने लाग्यो । भगवानलाई सम्झिदैमा मनोकांक्षा पूरा हुन्छ भने किन नसम्झिउँ भन्ने लाग्यो ।

सृष्टिले के मागी थाहा छैन । झण्डै डेढ मिनेट जति आँखा चिम्म गरेर मैले एउटै कुरा मागिरहेँ –हे भगवान ! मलाई सृष्टि देउ !
मैले आँखा खोलीसक्दा पनि ऊ दुई हात जोडेर आँखा चिम्लिरहेकी थिई ।

‘भगवानसँग के माग्यौ सृष्टि ?’, पूजा सकेर फनपार्कतिर झर्दै गर्दा सोधेँ ।

‘जे मागेकी छु राम्रै मागेकी छु !’, उसले भनि, ‘जुन दिन पूरा हुन्छ, त्यही दिन भन्छु ।’
थप सोध्न मन लागेन ।

‘मैले त सृष्टि मागे सृष्टि !’, उसले तिमीले के माग्यौ ? भनेर सोधेको प्रश्नमा बडो हिम्मतका साथ भनेँ, ‘हो, सृष्टि म तिमीलाई मन पराउँछु । माया पनि गर्छु । मन पराउनु र माया गर्नु अलग कुरा हो । माया गर्नु र घरजम गुर्न अलग कुरा । म तिमीसित यो सबै गर्न चाहान्छु । तिमीसितको एउटा मीठो सपना साँचेर बाँचेको छु ।

तिमीले मलाई राख्ने ख्याल, दर्शाउने प्रेमिल व्यवहार । यी सबैलाई मैले मायाका पर्यावाची ठानेको छु । तिमीभित्र पनि कतै न कतै मेरो लागि ठाउँ छ भन्ने विश्वासमा बाँचेको छु । सायद, त्यो भ्रम नै किन नहोस् । कतिपटक तिमीलाई मनको कुरा भन्न खोजेँ तर, सक्दै सकिन । उपयुक्त मौका पनि मिलेन । आज, भालेश्वर महादेवलाई साँक्षी राखेर भन्छु, सृष्टि ! तिमीसँग जिन्दगी जिउने मीठो कल्पनामा बाँच्न थालेको धेरै भईसक्यो ।

बानी नै भईसक्यो कल्पनामा बाँच्न । तिमीलाई मेरो जिन्दगीबाट अलग गरेर हेर्नै सक्दिन म ? एउटा चराले उड्न खोज्नु के अपराध हो र ? एउटा गाँैथलीले घरको सिलिङमा घर बनाउनु के पाप हो ?

म चरा बनेको छु सृष्टि ! तिम्रो मनको निलो आकाशमा उड्नका खातिर । विश्वास छ, मलाई निस्फ्रिकि उड्न दिनेछौ । सके, पखेटा थपिदिनेछौ । नसके, पखेटा काट्ने छैनौ । म गौँथली बनेको छु सृष्टि ! तिम्रो मनको घरको सिलिङमा आफ्नो घर बसाउन खोजेको छु । विश्वास छ, तिम्रो मनको बार्दलीबाटै मलाई हटाउने छैनौ ।

र, हटायौ भनेपनि कुनै गुनासो रहने छैन । आखिर, एउटा मामुली मान्छे न हुँ म !

मनमा लामो समयदेखि रहेको खिल निकालेझैं हलुङ्गो भो । न्यायाधीसको अगाडी बयान दिएजस्तो सबै कुरा भनिदिएँ ।
अब फैसला गर्ने पालो सृष्टिको थियो । पुलुक्क उसको अनुहारमा हेरेँ । निकै सोचमग्न जस्तो र, केही भन्न खाजेजस्तो देखिई ।
सन्नाटा छायो । न ऊ केही बोली, न म नै केही बोल्न सकेँ ।

अबेर भईसकेको थियो । हामी फर्कियौँ ।

संयोग फर्किदा पनि केवुलकारमा हामी दुई जना मात्र भयौँ ।

‘मलाई साँच्चै माया गर्छाै दीपक ?’ चन्द्रागिरी जङ्गलको बीचमा आइपुग्दा ऊ बोली ।

‘सहमतीमा टाउको हल्लाएँ ?’ कतै अघिको मेरो कुराले उसलाई नराम्रो लाग्यो कि भन्ठानेर धेरै बोलिन ।

‘तिमीले कसरी मेरो मनको कुरा बुझ्यौ दीपक ?’ सृष्टि भन्दै गई, ‘थाहा छ, म पनि तिमीलाई माया गर्थँे । तर, भन्न सकेकी थिइनँ । तिमी एकदमै ईनोसेन्ट लाग्छौ । मलाई तिमीजस्तै साधारण मान्छे मन पर्छ । तिमीलाई माया गर्ने कुराको संकेत मैले कतिपटक दिन खोजेँ तर, तिमीले कहिल्यै बुझेनौ । विश्वास थियो, एकदिन जरुर बुझ्नेछौ । र, आज तिमीले नभनेको भए, म मेरो कुरा भन्नेवाला थिएँ । तिमीले भनेर झन सहज बनाईदियौ मलाई ।’

मनमा खुशीको सीमा रहेन । परदेशमा मर्यो भनेको पती घर फर्केर आउँदा एउटी ‘विधुवा पत्नी’को हाल कस्तो भएको हुँदो हो । हो, म ठ्याक्कै त्यस्तै भएको हुँदो हुँ यो बेला ।

लाग्यो, केवुलकार केही समय चल्न छोडिदेओस् । रोकियोस्, यही आकाशमा । जीवनको यो पल अझै अविष्मरणीय बनाउन सकौं ।

खैर, चाहेर पनि त्यो सम्भव थिएन ।

मन यसै चङ्गा भईरहेको थियो । वर्षाैंअघिको चाहाना पूरा भएजस्तो आभाष भईरहेथ्यो । एउटा खेलाडीले अन्तिम पलमा एक गोलको अग्रता दिलाएजस्तो ! एउटी आमाले शकुसल प्रसव चरण पार गरेजस्तो !

मसँग प्रयाप्त शब्द नै छैन, यो खुशीको वर्णन गर्न । जीवनमा पहिलो पटक व्याकरण अधुरो भएको महसुस गरेँ ।

‘थाहा छ दीपक ! मैले भालेश्वर महादेवसँग के मागेकी थिएँ ?’, कलंकी चोक पुग्नै लाग्दा स्कुटरको गती कम गर्दै उसले भनी, ‘मैले तिमीलाई नै मागेकी थिएँ !’

                                                           – यो कथा नागरिक पश्चिमेलीमा प्रकाशित छ । लेखकलाई यता भेट्न सकिन्छ ।