क्षितिज समर्पणका दुई कविता


-क्षितिज समर्पण
कविता : एक
परार !
भोकविरुद्ध आवाज उठाउँदा
एउटा गरिबलाई गोली ठोकियो
म मौन बसेँ
परार नै हो क्यारे,
पहिचानको आन्दोलनमा
निमुखाहरुले तातो गोली निलेको,
तर, फैसला गरिबहरुको पक्षमा आएन
त्यो बेला पनि म मौन बसेँ
सोचेँ, देश यस्तै छ, सरकार यस्तै छ ।
 
श्रीमान् !
तपाई स्वयम्ले हतियार उठाउनु भो भने पनि
एउटा गोलीले एउटा मान्छे मर्ला
तर, तपाईले गर्ने एउटा फैसलाले
सिङ्गो देश मर्यो भने ?
 
त्यो बेला पनि
अवहेलनाको त्रासले म मौन बसुँ ?
वा आत्महत्या गरौँ ?
श्रीमान !
मलाई जवाफ चाहिन्छ ।
 
कविता : दुई
 
काखमा सानो नानी च्यापेर
फूलमती काठमाण्डौँ आउँदा
उसका खुट्टाका चप्पल चुडिइसकेका थिए,
तर, ‘राजाको देशले’ न्याय दिन्छ भन्ने
विश्वासको डोरी चुडिएको थिएन,
त्यसैले ऊ काठमाण्डौँ आएकी थिइ ।
 
हुर्किदै गरेको बच्चालाई
बाबु चिनाउन नपाएपछि
फूलमती अदालन पुगेकी हो,
काखको नानीलाई
ऊ भन्न सक्दिनथिइ कि–तेरो बाउलाई
‘क्रान्तिकारी’ भनेर ‘सहिद’ बनाइयो ।
 
श्रीमान् !
तपाईको एउटा फैसलापछि
फूलमतीले आत्महत्या गरेको बिर्सिनु भो ?
 
बलात्कारीविरुद्ध मुद्धा हाल्न गएकी शितली,
प्रहरी थानामै बलात्कृत भएको पोहोर मात्रै हो
बलात्कारीको पक्षमा फैसला आएकै दिनदेखि ऊ वेपत्ता छे
श्रीमान्  !
अब, हामी कहिलेदेखि,
तपाइले गरेका गलत फैसलाविरुद्ध बोल्न पाउँछौँ ?
-fmradio.kshitij@gmail.com