मूल्यहिन मृत्यु


क्षितिज समर्पण

जन्मेपछि मर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे मर्न चाहादैन ।
मृत्यु स्वीकार्दैन । न संभावित मृत्युबाट भयभित हुन्छ ! न भोली मर्नुपर्छ भनेर आजका सम्बन्धहरुका विषयमा सोच्दछ ।
मान्छे मृत्युलाई बिर्सिन्छ बाँच्ने क्रममा । सायद, मृत्यु सम्झिने होइन । तर, मृत्यु बिर्सिने विषय पनि होइन । म हरेकचोटी बाँच्दा मृत्यु सम्झेर बाँच्छु । नजाने, मृत्यु सम्झने विषय हो या बिर्सने !

साँच्चै मान्छेहरु कसरी आत्महत्या गर्न सक्छन् होला हँ ? बेलाबेला मनमा यस्ता प्रश्न उब्जिन्छन् ।

उसो त म आफैले पनि धेरैचोटी आत्महत्या गर्ने सोच ल्याएको हुँ । एकपटक आत्महत्याको कोशिस पनि गरेँ । तर, जब मर्दैछु भन्ने थाहा पाएँ, कम्मस ! जिन्दगीको बहुत माया लागेर आयो । मलाई अरुको कसैको मायाले मर्नबाट रोकेको होइन, सिर्फ आफ्नै मायाले । यो दुनियाँमा आफूभन्दा प्यारो कोही छैन । कोही हुनै सक्दैन । अरु सब आदर्श हो । र, आदर्शमा बाँच्नुमा र यथार्थमा बाँच्नुमा धेरै फरक छ ।

जसरी बाँच्नुमा फरक छ, मर्नुमा पनि फरक छ सायद !

आज पाँचौंपटक आर्यघाट आएको छु । जतिपटक आएको छु, उत्तिपटक यो बाग्मतीको पानी उस्तै देख्छु । तर, पनि मान्छे पसेकै हुन्छ । बाध्यताका अगाडी हरेक कुरा गौण हुन्छन् होला । धर्म, संस्कृति र परम्परामा बाँचिरहेको मान्छे आर्यघाटनमा पनि त्यसको आवरण देखाउँछ । अरुलाई देखाउनकै लागि पनि मान्छे धर्मात्मी बन्दोरहेछ ।

मान्छे जलेको गन्धलाई नाकले सुगन्ध मान्न थालिसकेछ । यो पटक कुनै दिगमिग भएन । अघिल्ला पटकहरुमा मान्छे जलेको गन्ध नाकमा पस्दा दिगमिग दिगमिग लाग्थ्यो । भमिट होला होला जस्तो हुन्थ्यो । पहिलोपटक आर्यघाट आउँदा झण्डै भमिट गरेको हुँ ।

बाग्मती किनारको आर्यघाटमा लस्करै लासहरु जलिरहेका छन् । थाहा छैन, एक दिनमा कतिवटा लास जल्छन यहाँ ?अक्सर, म आएको बेला कुनै चिता खाली देखेको छुइनँ । हेर्दाहेर्दै मान्छे धुवाँ बन्छ । हेर्दाहेर्दै मान्छे खरानी बन्छ । र, हेर्दा हेर्दै एउटा शरीर आगोमा विलिन हुन्छ ।

कुनै दिन मेरो पनि पालो आउनेछ ! म पनि जल्नेछु यसैगरी । म पनि सिद्धिनेछु यसैगरी ।
‘मैले त मर्ने विचार मारि पो सके हउ दाजु !’ दयाहाङले हाम्रो अघिल्तिर जल्दै गरेको लासतिर हेरेर भन्यो । चर्चर्, पटपट गरेर लास जलिरहेको छ, धुवाँ उडेर मिसिदैछ धुवाँको आकाशमा ।

पोहोर सर्वनाम थिएटरमा भएको एउटा साहित्यीक कार्यक्रममा एकजना साथीमार्फत भेटिएको हो दया ।
ख्याउटे, ख्याउटे छ ऊ । जिङरिङ परेको कपाल । चुरोट तान्दा तान्दा निला भएका ओठ । अभिनेता दयाहाङसँग मिल्ने भनेको उसको आँखा र नाममात्रै हो । अरु विलकुल फरक छ ।

‘हाउ, दाजु ! म त चुरोट तान्छुकि, अप्ठेरो नमान्नु होला !’ सर्वनाम झर्ने बाटोको मुखैमास्थित प्रतिक्षालयमा कुरा गर्दै गर्दा चुरोट सल्कायो उसले ।

हामीले एक/एकवटा पोलेको मकै चपाउन थाल्यौँ ।

उसको बोलीबाट ऊ पूर्वेली हो भन्ने अनुमान पहिल्यै लगाइसकेको थिएँ । परिचय भएपछि मेरो अनुमान सही ठहरियो ।
‘फिल्म खेल्ने दयाहाङसँग भेट होला/नहोला भाइसँग भेट भएर खुशी लाग्यो’ छुट्टिने बेला थोरै जिस्किएँ, ‘कि भाइले पनि फिल्म खेल्ने हो र ? ज्यान पनि छ ।’

‘ह्या दाजु पनि नजिस्किनु न हउ, काँ’को फिल्म खेल्नु ? ह्याँ ज्यान चिलिम परिसक्यो’ उसले भन्यो, ‘अनि कि दाजु, मलाई त मर्न पो मन छ हउ !’

अक्सर भेटहरुमा ऊ यस्तै निराशावादी कुरा गर्थ्यो । मर्नु नै जीवनबाट मुक्ती पाउनु हो सम्झिन्थ्यो ऊ ।
तर, म उसलाई हौसला दिन्थे । उसलाई प्रेरणा हुने खालका कुरा सुनाउँथे । मेरा कुरा बुझेझैँ गथ्र्याे । चरम अभाव र चरम महत्वाकांक्षाले पनि मान्छेलाई निराशावादी बनाउँछ । ऊ अधिक सपना र महत्वाकांक्षा बोकेर काठमाण्डौँ छिरेको हुँदो हो साद । तर, काठमाण्डौँ सोचेजस्तो छैन । बाटो पहिल्याउने हो भने काठमाण्डौँ सूनको अण्डा दिने कुखुरा हो । बाटो नपहिल्याउने हो भने काठमाण्डौँ डिप्रेशनको कारक पनि हो !

विस्तारै ऊ मेरो साथीजस्तो भइसकेको थियो । दुई, तीन पटक कोठामा बोलाएर खाना समेत खुवाएको छु । केही अफ्ठेरो पर्‍यो भने सम्झिन्थ्यो । म पनि उसबाट हुने कुनै काम भए सम्झिन्थे ।

‘के के न होला भनेर छिरियो यो मुला काठमाण्डौँमा’, ऊ भन्थ्यो, ‘ह्याँ त धुलो, धुवाँ र प्रदुषण मात्र र’छ हउ दाजु ।’ म सहमती थपिदिथेँ ।

गाउँकै स्कूलबाट १२ कक्षासम्म पढेको ऊ खासमा पढ्ने भनेर काठमाण्डौँ पसेको हो । तर, यता आउँदा सोचेजस्तो भएन । सानो सानो काम गर्ने र सँगै पढ्ने उसको सपना एकैपटक पूरा हुन सकेन ।

‘काम त पाएँ कि दाजु तर, चार÷पाँच महिनासम्म तलवै नदिने’, जागिरप्रतिको गुनासो थियो, ‘आबो तपाई नै भन्नुस् त दाजु, काम गरेर तबल नआएसी के भुत्रो खाएर बाँच्नू । मलाई त मरुङ मरुङ लाग्छ हउ दाजु । न गतिम्लो काम पाइयो, न पठाइ पूरा गर्न सकियो ।’

हामी धेरै मान्छेको आर्थिक अवस्था राम्रो छैन । सँधै घरबाट मागेर काठमाण्डौँमा गुजारा चलाउन पनि गाह्रो छ । घरमा थोडिन पैसाको रुख छ ! गाउँमा अभावमै बाँचेका बुढाबाआमासँग अभाव दूर गर्ने सामर्थ्य छैन ।

चुरोट पिउनु राम्रो होइन । म पिउँदिन पनि । तर, उसलाई चुरोट नपेउ भनेर कर गर्न सक्तिनँ । बरु धेरै चोटी चुरोट किनिदिएको छु उसका लागि । उसको खल्तीको हिसाब म पनि जान्दछु ।

आज बिहान पनि उसैले फोन गरेको हो । सहरका एकजना चर्चित लेखकको मृत्यु भएको खबर सुनायो । उसको खबरले म स्तब्ध भएँ । उनीसँग मेरो हिमचिम थिएन । तर, उनका रचना खुब मन पर्थे । उनी मेरा मन पर्ने लेखकमध्येका एक थिए । उनी बिरामी हुँदा पनि भेट्न नपाएकोमा थकथक लागिरह्यो । भेट्न जाने भनेर उसले र मैले सल्लाह समेत गरेको थियौँ । तर, के-केले अल्झाइरह्यो ।

हाम्रो अन्तिम भेट यही आर्यघाटमा भयो ।
जल्दै गरेको लासको फोटो खिचेर फेसबुकमा हालेँ । र, स्टेटस लेखेँ–प्रिय लेखक ! हाम्रो अन्तिम भेट यस्तै भयो !

उनलाई श्रद्धाञ्जली दिन भनेर हामी आर्यघाट पुगेका थियौँ । र, हाम्रो अगाडी अहिले उनकै लास धुवाँ बनेर उडिरहेको थियो । हामी केही ढिला पुगेका थियौँ । चाँडै पुग्ने हाम्रो योजना काठमाण्डौँको जामले तुहाइदिएको थियो ।

भनिन्छ, भाषा, कला, साहित्य र संस्कृति देशको पहिचान हो । भाषा, कला र संस्कृतिको विस्तारका लागि साहित्यले अहम् भूमिका खेलेको हुन्छ ।

यी तिनै लेखक थिए, जसले नेपाली भाषा र साहित्यको विस्तारमा अतुलनीय योगदान गरे । नेपाली साहित्य लेखनमा नयाँ प्रयोग गरे । स–साना विषय, प्लट र पात्रहरुलाई शक्तिशाली रुपमा उभ्याए । यसरी पनि साहित्य लेखिन्छ भनेर स्थापित गराए ।उनको लेखनशिल्प चर्चायोग्य मात्र होइन, ग्रहणयोग्य पनि छ । तर, उनको जस्तो लेखनशिल्प उनीपछाडी मैले अहिलेसम्म कसैको देखेको छुइनँ । भलै मैले सबै लेखकका किताब नपढेको पनि हुन सकुँला । तर, अलेच सहरमा विमोचन हुने नाम चलेका सबै लेखकका किताब पढ्ने गरेको छु मिलेसम्म ।

उसो त सहरका चर्चित लेखकहरु अमर न्यौपाने, नयनराज पाण्डे र बुद्धिसागरहरु समेत उनको लेखनीको प्रशंसक हुन् । र, म बुद्धिसागर, अमर र नयनराजको प्रशंसक हुँ । मलाई यिनीहरुको लेखनीले पनि खुब आनन्दित बनाउँछ । कर्णाली ब्लुज, सेतो धरती र लू जतिपटक पढे पनि नयाँ लाग्छ मलाई । धेरैचोटी पढ्दा पढ्दै रोएको छु, पढ्दा पढ्दै हाँसेको छु ।

‘अनि भाइले किन मर्ने सोच त्यागेको त ?’, हाम्रो अनुहार हुँदै उडेको एक मुस्लो धुवाँ पन्छाउँदै दयालाई सोँधे ।

‘मरेर के नर्गु हउ दाजु, यत्रा लेखक मर्दा त कसैलाई मतलव छैन । म मूला मर्दा कसलाई के मतलव ?’, आर्यघाटमा लेखकको मृत्युमा देखिएको उपेक्षाबाट दुःखित हुँदै भन्यो, ‘मरे पनि आफ्नै गाउँ गएर मर्छु । ह्याँ त मलामी पनि नपाइने र’छ हउ दाजु ।’
मैले सही थापे । लासको गन्ध बोकेको एक झोक्का हावा हाम्रो नाकमा पस्यो ।

‘कहिलेकाँही त एक्लो भविष्यको चिन्ता लाग्छ । चिताको पनि चिन्ता लाग्छ’, जल्दै गरेको लास हेरेर दया बोल्यो, ‘चिता पनि किन्नु पर्नेर’छ हउ दाजु यहाँ त ! यत्ति हो, जिन्दगीमा मर्दापनि चिता किन्ने हैसियत बनाएर मर्न सकूँ । जाबो चिता किन्ने हैसियत नबनाएर के मर्नु हउ दाजु ! मूल्यहिन मृत्यु मर्न छैन मलाई !’

मूल्यहिन मृत्यु ?
सही भन्यो उसले । यहाँ मृत्युको पनि मूल्य छ । कसैको मृत्यु कति मूल्यवान हुन्छ, कसैको मृत्यु कति मूल्यहिन हुन्छ । कसैको मृत्युको महत्व कति धेरै देखाइन्छ, कसैको मृत्यु महत्वहिन बनाइन्छ । उसो त, गाउँमा सिटामोल नपाएर मर्नेहर, जीवनजल नपाएर मर्नेहरु पनि मूल्यहिन मृत्यु भोगिरहेका छन् । सुत्केरी हुन नसकेर मरेका आमाहरु, घाँसदाउरा जाँदा भीरबाट लडेर मरेकाहरु, सबै मूल्यहिन भएर मरिरहेका छन् । उनीहरुको मृत्युले परिवारबाहेक कसलाई छोएको छ र ?

गाउँमा सीमान्त जीवन बाँचेका मान्छेहरु, औषधी नपाएर मर्नुलाई पनि स्वभाविक ठान्दछन् । भाग्यको खेल ठान्छन् ।
मान्छेको सम्पत्ती भनेको मलामी हुन् भन्छन् कसैले । दयाको भनाई सही थियो । सहरको यत्रो नाम चलेका लेखकको मृत्युमा साँच्चै उपेक्षा भएको थियो । केही सीमित साहित्यकारबाहेक अरुको उपस्थिती थिएन । न प्रज्ञा प्रतिष्ठानले चासो देखायो । बरु, धेरैले फेसबुकमा श्रद्धाञ्जलीको राखे ।

‘स्टेटस लेख्ने मध्ये आधा मात्रै मान्छे आको भएपनि नि,यो आर्यघाट त भरिन्थ्यो होला हउ दाजु’, दया भन्दैथ्यो, ‘तीनिहरुमध्ये आधा त काठमाण्डौँमै छन् । साला सब स्वार्थी भए दाजु । सबलाई सम्मान चाहिएको छ । माला चाहिएको छ । स्पेश चाहिएको छ । भुत्रो हुन्छ साहित्यको विकास !’

केही महिनाअघि एकजना नेताको मृत्यु हुँदा आर्यघाट आएको थिएँ ।

ओहो ! त्योबेला यहाँ खुट्टा टेक्ने ठाउँ थिएन । मान्छेहरु धकेलाधकेल गर्दै पुष्पगुच्छा अर्पण गर्ने हतारोमा देखिन्थे । यस्तो लाग्थ्यो, पुष्पगुच्छा अर्पण गर्न पाइएन भने उनीहरुलाई सामाजिक वहिष्कार हुनेछ । सोसाइटीमा पर्न मान्छेहरु हातमा फूलमाला बोकेर तँछाडमछाड गर्दैछन् ।

मान्छे साँच्चै सत्ता र शक्तिको भोको भैसकेछ । सत्ता र शक्तिको पूजारी भइसकेछ । मृत्युमा पनि राजनीति गर्ने भइसकेछ मान्छे । मान्छे साँच्चै स्वार्थी भइसकेछ ।

दयाले ठीक भन्यो ।
जीवनभरी कुनै सार्वजनिक पदधारण नगरी देशको भाषा र साहित्यमा लाग्नू के अपराध थियो ? अथवा, देशलाई कयौँ कृति उपहार दिनु उनको बौलठ्ठीपन थियो ?

म जान्दिन मेरो देशले केलाई उपलब्धी मान्छ ।

अनि, भाषा, साहित्य, संस्कृति र कलाका क्षेत्रमा लागेकाहरुका लागि भनेर गठन भएको प्रज्ञा प्रतिष्ठान कुन दुलोमा छ ?कि, त्यो पनि राजनीतिक भर्ती केन्द्र भइसक्यो ?एकदिन श्रद्धाञ्जली कार्यक्रम गर्न सक्दैनथ्यो ? वा चिन्दैनथ्यो यी लेखकलाई ?

मनमा आक्रोशको आगो बलेको छ । उता उनको चितामा आगो बलिरहेको छ । दाउरा राम्ररी नसल्किएपछि तीन वटा डाल्डाको प्याकेट काटेर चितामा थप्दैथिए लास पोल्ने दाइ। दुई तीन पटक घोजघाच पारे । उनको घोचाइ निर्मम थियो । आखिर, लासले घोचाइको पीडा जान्दैनथ्यो ।

‘तपाइँले ठीक भन्नुभको र’छ दाजु’, दया बोल्यो, ‘हो मृत्यु जीवनको अन्तिम सत्य र अन्तिम गन्तव्य हो तर, अन्तिम विकल्प होइन र’छ ।’

उसलाई यसरी नै सम्झाउँथे म । लाग्यो, मेरा कुराले उसमा सकारात्मक प्रभाव छोड्दै गएछ । पछिल्लो समय अलि हँसिलो पनि देखिन्छ दया ।

कलेटी परेका उसका ओठहरु अलि उज्याला देखिन्छन् । आँखाको मुनिपट्टी देखिने निलोपन कम हुँदै गएको छ ।
‘भाइले चुरोट छोडेको हो ?’, उसको मुहारको स्वस्थता देखेर सोधे ।

‘छोडेकै त होइन दाजु’, उसले दाँत कोट्याउँदै जवाफ दियो, ‘तर, पहिलेभन्दा कम गरेको छु ।’
….
रुदै गरेका एक हुल महिलाहरु घाटमा प्रवेश गरे ।

उनीहरुको अगाडी एउटा लास बोकेका युवाहरु थिए । थाहा छैन, सबै सेतो पहिरनमा खाली खुट्टै हिँडिरहेका महिलाहरु कुन समुदायका हुन् ? तर, छेउमा गाइँगुई चल्यो–उनीहरुको समुदायमा रुनै पर्छ ।

हो कि जस्तो पनि लाग्यो । उनीहरुको रुवाई मलाई कृतिम जस्तो लाग्दै थियो । ह्वाँ ह्वाँ रुँदै गरेका उनीहरुको चेहरा अस्वभाविक लाग्थ्यो । रुवाई अस्वभाविक लाग्थ्यो । आँखामा आँशु देखिदैनथ्यो । वा सकिएर पो हो कि ? मैले नै त्यस्तो मानेको पो हुँ कि ?
दुई जना बालकहरु लासको पछिपछि खसालेका पैसा टिप्दै थिए ।

लास जलाउन घाटमा दर्ता गरिसकेपछि आफन्तहरु कात्रो, फूलामाला, पिताम्बर र दाउरा किन्न नीजि पसलतर्फ गए । छ न त आर्यघाटमा सहकारीले संचालन गरेको पसल पनि छ । नीजि पसल भन्दा सहकारीको पसल सस्तो पनि छ । तर, पशुपती क्षेत्र विकास कोषका कर्मचारीहरुको मिलेमतोमा नीजि पसलबाट सामान ल्याउन बाध्य पारिन्छ । शोकमा रहेका आफन्तहरु थप बोल्न चाहादैनन् । जहाँ भन्यो, उहीँ गएर खरुखुरु सामान ल्याउँछन् । बिलअनुसार हिसाब तिर्छन् । एकातिर आफन्त गुमेको पीडा, अर्काेतिर लास जलाउन कमिसनको चंगुलमा फस्नुपर्ने बाध्यता । उनीहरुको पीडामा फाइदा उठाउन उद्दत देखिन्छन् केही मान्छेहरु ।

‘यार, मरेपछि पनि दुःख दिन छोड्दैनन् मान्छेहरु । जिउँदोबाट त कमिसन खान्छन्, खान्छन् लासबाट पनि कमिसन खान छोड्दैनन्’, सामान किन्न जाँदै गरेको मान्छेलाई देखेर दया भन्दैन्थ्यो ।

मैले भनेँ, ‘अरे, देश डुबेकै यसरी त हो । यातायात क्षेत्रमा कमिसन, हस्पिटलमा कमिसन, स्कूलहरुमा कमिसन । हुँदाहुँदा घाटमा पनि कमिसन !’

लासहरु थपिने क्रम जारी छ । हामी जुन मान्छेको मलामी आएका थियौँ, उनको लास जलेर सकिनेक्रम पनि जारी छ ।

साँझ ढल्किनै आँटेको छ । सहरका मदिरा पसल भरिभराउ हुन बेला भैसक्यो । सहर जाग्ने बेला भैसक्यो । यस्तो लाग्छ–यो सहर दिनभर सुत्छ र रातभर ब्युझिन्छ । रंगिन साँझको पर्खाइमा बसेकाहरु रंगिन हुने बेला हुन थालिसक्यो ।

हामी गौशाला चोकतिर लाग्यौँ । गाडी र मान्छेहरुको लाइन उस्तै छ । यात्रुहरु तराई जाने रात्रीबस पर्खेर बसेका छन् । फूटपाथ पनि कपडा बेच्नेहरुको कब्जामा छ । चिया बेच्नेहरु, मोबाइलका एअरफोनर, चार्जर र कभर बेच्नेहरु प्रसस्तै छन् । यही भीडमा छन् मागेर गुजारा चलाउने बच्चाहरु–बृद्धहरु । हामीलाई बाटो छिचोल्नै मुस्किल भैरहेको छ।

एउटा सानो चिया पसल छिरेर कालो चिया पिउन थाल्यौँ । दयाले चुरोट माग्यो, मैले नखा भन्न सकिन । ऊ आफैले कम गर्दैछु भनेको छ । आज दिनभर एउटा पनि खाएन । नत्र पहिले पन्ध्र÷पन्ध्र मिनेटमा चुरोट सल्काउँथ्यो ऊ ।

‘दिनभर आर्यघाटमा धुवाँ खाएर पुगेन र, चुरोट थप्न लाको भाइ ?’ सोध्न मन थियो तर, सोधिन । ऊ आफै पनि आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएको छ । रक्सी पिउन छोडेको तीन महिना भयो भन्दैथ्यो । अब विस्तारै चुरोट पनि त्याग्ने योजना सुनाएको थियो । उसको आफ्नै श्यडुअल होला । मैले किन विथोलिदिनु !

खुब मीठो गरि चुरोट तान्यो । एकछिन मुख बन्द गर्‍यो । घाँटी घुटुक्क बनायो । श्वास रोक्यो । आँखा बन्द गर्‍यो । सिलिङतिर चिउँडो फर्काएर नाकका दुईवटै प्वालबाट धुँवा निकाल्यो । उसको चुराटे पिउने काइदा पनि गजबको छ ।

चिया पिएर बाहिर निस्किदा जाम उस्तै थियो । यात्रुहरुको लाइन उस्तै थियो ।

‘जल्न लाइन लाग्नुपर्छ, चल्न पनि लाइन लाग्नुपर्छ । उपचार गर्न लाइन लाग्नुपर्छ, गाडी चढ्न लाइन लाग्नुपर्छ’, छुट्टिने बेलामा दयाले भन्यो, ‘हामी नेपालीहरु लाइन नलागेर सेवा पाउने ठाउँ कहाँ होला दाजु ?’

उसको प्रश्नको उत्तर मसँग थिएन । बरु म आफैपनि लाइन छिचोल्दै डेरानजिक पुग्ने गाडीमा चढेँ ।

(यो कथा नागरिक पश्चिमेलीमा प्रकाशित छ ।)

प्रतिक्रियाका लागि इमेल : fmradio.kshitij@gmail.com